खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकाले न्युन आयश्रोत भएका विद्यार्थीहरुलाई हौसला प्रदान गरि विद्यालय आउने वातावरण बनाउन विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत पालिका भित्रका १० विद्यार्थीहरुलाई २, २ जोड विद्यालय पोशाक, झोला र कापी कलम प्रदान गरिएको छ ।
विद्यालयको अविभावकहरुले पोशाक, झोला लगायतको शैक्षिक सामग्रीको उचित ब्यवस्थापन गर्न नसकेका विद्यार्थीहरुको पहिचान गरि १० विद्यार्थीहरुलाई यी सामग्रीहरु वितरण गरिएको हो । गाउँपालिका शिक्षा शाखाले सम्बन्धित विद्यालय र वडासँग समन्वय गरि त्यस्ता विद्यार्थीहरु छनौट गरेको हो । छनौट भई आएका विद्यार्थीहरुले लगाउने कपडाको साईज यकिन गरि कपडा सिलाउन लगाईएको थियो ।
गरिविका कारण विद्यार्थीहरु विद्यालय आउनबाट बञ्चित नहोस भनेर चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत यो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । यस कार्यले विद्यार्थीहरु विद्यालय आउन प्रोत्साहन मिल्ने अपेक्षा लिईएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
चिचिला गाउँपालिकाले विगत बर्षहरुदेखि पालिका भित्रका अनाथ विद्यार्थीहरुलाई समेत शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । यस बर्ष पनि त्यस्ता ७१ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
प्रतिक्रिया