संखुवासभाका सुनचाँदी पसलहरु अनिश्चितकालका लागि बन्द



संखुवासभा । संखुवासभा सुनचाँदी व्यवसायी संघले जिल्लामा रहेका सबै सुनचाँदी पसलहरु आजदेखि अनिश्चितकालका लागी बन्द गर्ने घोषणा गरेको छ । सरकारले सुनचाँदीमा लगाएको अनावश्यक करको विरोध जनाउँदै संघले अनिश्चितकालका लागि जिल्लाभरका सुनचाँदी पसल बन्द गर्ने घोषणा गरेको हो ।

सरकारले सुनचाँदीमा लगाएको अव्यवहारिक नीतिका कारण अहिले देशैभरका व्यवसायीहरु आन्दोलित भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिले केन्द्रबाट नै विरोधका कार्यक्रमहरु गरिरहेका छन् यसैलाई समर्थन गर्दै संखुवासभा सुनचाँदी व्यवसायी संघले पनि विरोध जनाएको हो ।

यस वर्षको बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग राख्दै देशैभरका व्यवसायीहरुले विरोध जनाईरहेका छन् । त्यस्तै, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागी सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

सरकारलाई पटक पटक ध्यानाकार्षण गराउदा पनि व्यवसायीका मागहरुको वेवास्ता गरेको हुनाले जिल्लाभरका सम्पूर्ण पसलहरु बन्द गर्ने घोषणा गरेको संखुवासभा सुनचाँदी व्यवसायी संघका अध्यक्ष जनक पौडेलीले जानकारी दिए । समयमै व्यवसायीका मागहरु पुरा नभए जिल्लाभरका सबै व्यवसायीहरु केन्द्रमै गएर आन्दोलनमा उत्रिने अध्यक्ष पौडेलीले चेतावनी दिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २९ गतेदेखी नै देशैभरका व्यवसायीहरुलाई विरोध जनाउन आव्हन गरिरहेका छन् । आजबाट देशैभरका सुनचाँदी पसलहरु अनिश्चितकालका लागि बन्द हुने महासंघले जनाएको छ ।

सम्बन्धित समाचार