महेश थपलिया संखुवासभाको नेपाली काँग्रेसको राजनितिक बृत्तमाझ सुपरिचित नाम हो । स्नातक तह सम्मको अध्ययन गरेका थपलिया लामो राजनितिक अनुभवबाट खारिएका ब्यक्तित्वका रुपमा परिचित छन् ।
निरंकुश पञ्चायती ब्यवस्थाका बिरुद्ध बिद्यार्थी कालदेखि नै सक्रियतापुर्वक काँग्रेसको राजनितिमा होमिएका थपलियाले पुर्ण रुपमा आफुलाई नेपाली काँग्रेसको राजनितिमा समर्पित गर्दै जनताका पिरमार्का र समस्याहरुलाई नजिकबाट नियाल्दै आएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट आफुसंगै राजनिति गर्ने साथीभाईले पटकौं पटक मुलुकको साँसद र मन्त्रीका रुपमा जिम्मेवारी संहाल्दै आएपनि थपलियाले आफ्नो राजनितिक पृष्ठभुमिलाई आफ्नै जिल्लामा बढि केन्द्रित गर्दै आएका छन् । थपलिया लामो समय नेपाली काँग्रेसको राजनितिमा रहे पनि उनले कहिल्यै कसैलाई फरक राजनितिक दलका कार्यकर्ताका रुपमा हेरेनन् ।
बरु उनले आफुले बोकेको नेपाली काँग्रेसको सिद्धान्त, निष्ठा र बैचारिक धरातललाई फराकिलो बनाउँदै सवैका समस्या अप्ठ्यारा फुकाउन स्वयंमलाई रातोदिन सेवा कर्ममा समर्पित गरिरहे । तिनै अध्ययनशिल, मिलनसार, बिकासप्रेमी, मिजासिलो स्वभावका धनि ब्यक्तित्व महेश थपलिया अहिले संखुवासभा जिल्लाको पहिलो नगरपालीका खाँदबारी नगरपालीकाको मेयर पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । थपलियाँसंग हामीले खाँदबारी नगरको बिकासका लागि तपाईं संग के कस्ता योजनाहरु छन् ? के कस्ता निति तथा कार्यक्रमका साथ तपाई यतिवेला घरदैलो अभियानमा हुनुहुन्छ ? नगरभित्रका चुनौति, संभावना र संबृद्धि लगायतका बिषयमा कुराकानी गरेका छौं ।
घरदैलो अभियान कस्तो चल्दैछ ?
युवा महिला, दलीत, अल्प संख्यक र पिछडिएका सवै वर्ग सवै तहका साथीहरुलाई साथमा लिएर जनताका घरदैलोमा आफ्नो चुनावी एजेण्डा सहित उपस्थीत भैरहेको छु । स्थानिय तहको यो निर्वाचनमा उल्लासमय वातावरणमा नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारको पक्षमा जनलहर बढेको पाएको छु ।। त्यसमा पनि नेपाली काँग्रेसको नेतृत्वमा बनेको संबिधानको कार्यान्वयन र प्राप्त उपलब्धीको रक्षा सहि मानेमा नेपाली काँग्रेसले मात्र गर्न सक्छ भन्ने कुरामा जनताहरु पुर्णत बिश्वस्त भएकाले नेपाली काँग्रेसप्रति जनताको अगाध स्नेह र बिश्वास रहेको पाएको छु ।
खाँदबारी नगरपालीकाको मेयर पदमा उम्मेदवार हुनुहुन्छ । जनताले कस्तो नेतृत्व चाहेका छन् ? नगरबासिको चाहना के पाउनु भो ?
बैसाख ३० को आसन्न स्थानिय तहको निर्वाचनमार्फत जनताले बिकास र संबृद्धि खोजेका छन् । जनताले आफ्ना समस्या र भावना बुझ्ने निष्ठा र प्रतिष्ठा सहितको दुरदृष्टी राख्नसक्ने सक्षम नेतृत्व चाहेका छन् ।
तपाईंबाट जनताले के कस्ता बिकासका अपेक्षा राखेका छन् ?
मुलत नगरको सहरी भाग र ग्रामिण भेगमा आ–आफ्नै समस्याहरु छन् । सहरमा उचित ढलनिकास, सडक, ब्यवस्थीत बिद्युतिकरण र खानेपानीको समस्या मुलरुपमा देखिएको छ भने ग्रामिण भेगमा खानेपानी, बिद्युत सडक लगायत कृषी र पर्यटन पुर्वाधारलाई जनताले बढि रुचाएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँचको बढि आसा राखेको पाएको छु ।
मतदाताले राखेका आशा अपेक्षालाई कसरी पुरा गर्नुहुन्छ ?
खाँदबारी नगरपालीका जिल्लाको पहिलो नगरपालीका भएपनि यहाँ भित्र धेरै समस्याहरु छन् । अहिले पनि बजार क्षेत्रका केहि मुल सडक बाहेक अन्यत्र क्षेत्रमा बर्षादको समयमा यातायात सेवा सन्चालन गर्न कठिन छ । त्यसैले नगरका प्रत्येक वडाका बस्तीहरुलाई ब्यवस्थीत सडकले जोड्ने मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसपछि खानेपानीको समस्या अहिले पनि बिकराल छ । खानेपानीको सेवालाई प्रभावकारी बनाउन अहिले संचालित योजनाहरु ब्यवस्थीत गर्ने नगरभित्र प्रत्येक वडामा भएका पानिका श्रोतहरुको संरक्षण गर्ने, बिद्युतिकरण र टेलिफोन लाईन लाई ब्यवस्थीत गरि नगरको आकर्षण थप्न तत्काल पहल शुरु गर्नेछु । नगर क्षेत्र लगायत अन्य क्षेत्रको सडकको स्तरोन्नती र ढलनिकास लगायत सरसफाईको कार्यलाई प्रमुख प्राथमिकता दिनेछु । पर्यटन पुर्वाधार बिकासका लागि पुर्वको प्रशिद्ध तिर्थस्थल मनकामना धामलाई पर्यटनको प्रमुख गन्तब्य स्थलका रुपमा स्थापित गराउन पहल गर्नेछु भने सभाखोलाको आसपासका क्षेत्रमा गार्डेनिङ्ग सहित स्वीमिंग, फिसिंङ्ग लगायत पर्यटकिय स्थलकाे रुपमा बिकास गर्दै रुपमा बिकास गर्न पहल गर्नेछु । त्यसैगरि छ्यांकुटीमा भ्युटावर स्थापना, सेकाहा पांमालाई ईको टुरिज्मको रमणिय स्थलको रुपमा बिकास गर्दै होम स्टे र प्यारा ग्लाइृडिङ्गको सुबिधा मार्फत बाह्य तथा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न राज्यका सबै शक्तिबाट श्राेत ब्यवस्थापनका लागि सहयोग जुटाउँछु ।
सहरीकरणलाई ब्यवस्थीत गर्ने तपाईं संग कस्तो याेजना र रणनिति छ ?
अहिले बिकास निर्माणका धेरै कामहरु अब्यवस्थीत भएका छन् । जथाभावी घर संरचनाहरु निर्माण हुँदा शहर झन झन कुरुप र अब्यवस्थीत हुँदै गएको छ । साना सडकमा जथाभावी राखिएका निर्माण सामग्री र सवारी साधनले आवतजावतमा ठुलो समस्या भैरहेकाले मेरो पहिलो प्राथमिकता भनेको भवन निर्माण आचार संहितालाई पुर्ण रुपमा लागु गर्ने, ठुला सवारी साधन र साना सवारी साधनका लागि छुट्टा छुट्टै बसपार्क, ट्याक्सी स्ट्याण्डहरु बनाउने, शहरका बिभिन्न स्थलमा सवारी साधनको ब्यवस्थापनका लागि उचित पार्किंङ्ग स्थलको ब्यवस्था गर्नेछु । नगर भित्र नगरबस सञ्चालन, सुचना र संचारको सुबिधालाई थप प्रभावकारी र बनाउन खाँदबारी नगरपालीकाका महत्वपुर्ण स्थलहरुलाई फ्रि वाईफाई जोनको रुपमा बिकास गर्नेछु ।
युवा, बृद्ध बृद्धा र असहायहरुका लागि के के गर्नूहुन्छ ?
युवा देशका कर्णधार हुन् बेरोजगारीको समस्याबाट ग्रसित युवा पुस्ता आज संखुवासभाबाट सैयौंको संख्यामा बिदेश पलायन भैरहेका छन् । तिनिहरुलाई ब्यवसायीक कृषी तर्फ परिचालित गर्न कृषी ऋण र ब्यवसायिक तालिमको अभाव छ । सिंचाई पुग्ने ठाउँमा ब्यवसायिक कृषी, पशुपालन र तरकारी खेति गरि आर्थिक संबृद्धि हासिल गर्ने प्रसस्त संभावना छ । उनिहरुलाई जिवीको पार्जनमा सक्षम बनाउन सकेको पहल गर्नेछु भने खेल क्षेत्रको बिकासका लागि सुबिधा सम्पन्न खेल ग्राउण्ड र कवोर्ड हलको ब्यवस्था गर्न पहल गर्नेछु । त्यसैगरि बिभिन्न परिस्थीतिका कारण हामिलाई मार्गदर्शन गर्नूहुने नगरभित्रका समस्त बुवा आमा बृद्ध बृद्धाहरुको सुखद जिवन यापनका लागि नगर भित्र ब्यवस्थीत बृद्ध आश्रमको निर्माण गर्न पहल गर्नेछु ।
बिकास त्यसै हुँदैन । बिकास हुनका लागि श्रोत चाहिन्छ तपाईंले देख्नुभएको नगरपालीकाको आम्दानीका श्रोतहरु के के हुनसक्लान ?
नगरको बिकासका लागि दिगो आम्दानीको श्रोतहरु पहिचान गर्न आवश्यक छ । नगरबासिहरुको हितलाई मध्यनजर गर्दै आम्दानीका श्रोत पहिचान र तिनको उचित परिचालनका लागि सवैको सल्लाह अनुसार अघि बढ्ने छू । सरसर्ति हेर्दा नगरको आम्दानीको श्रोतहरु घर बहाल कर, ब्यवसाय कर, सवारी साधन कर, हाट कर, घर भाँडा, नक्सापास शुल्क, घर जग्गा रजिष्ट्रेशन, पार्किंङ्ग सेवा, प्राकृतिक श्रोतसाधन मार्फत हुने आम्दानी आदि नै नगरको दिगो आम्दानीको श्रोत हुनसक्ने भएकाले त्यसलाई नै ब्यवस्थीत गरि अघि बढ्ने मेरो संकल्प छ । आगामी दिनमा समसामयिक निर्णयका आधारमा अन्य आम्दानीका श्रोतहरु पहिचान हुन सक्छन् ।
भ्रष्टाचारलाई नियन्त्रण गर्ने तपाईं संग के कस्ता योजनाहरु छन् ?
पहिले जस्तो अवस्था अव उप्रान्त रहँदैन । सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने भनेर सरकारले बिभिन्न संरचनाहरुलाई जनउत्तरदायी र पारदर्शी बनाएको छ । बिकास निर्माण देखि नगरपालीकाले गर्ने हरेक गतिबिधीलाई अव जनताले नजिकबाट नियाल्न सक्नेछन् । उत्तरदायी जनप्रतिनिधी मार्फत जनसहभागितामा जोड दिएको छ । त्यसैले योजना निर्माण गर्न, र्कार्यान्वयन गर्ने र अनुगमन गर्ने लगायत नगरको संबृद्धिको खाका कोर्ने सम्मको अधिकारहरु जनप्रतिनिधीहरु मार्फत नै हुने भएकाले जनताप्रतिको जवाफदेहितालाई जनप्रतिनिधीले कहिल्यै बेवास्था गर्न नसक्ने परिस्थीत रहन्छ । त्यसैले निर्माण कर्ता, अनुगमन कर्ता र बिकास निर्माण लगायत सेवा प्रवाहको अवस्थाका बारेमा पनि जनप्रतिनिधी र नगरबासिहरुले निरन्तर वाच डगको रुपमा काम गर्न सक्ने भएकाले अव भ्रष्टचार स्वस्फुर्त रुपमा नियन्त्रीत हुन्छ । सेवामा सुलभता, काममा छिटाे छरिताे र शून्य भ्रष्टचारकाे अवस्था निर्माण गर्नु नै मेराे प्रमुख प्राथमिकता हुनेछ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
स्थानिय तहको यो निर्वाचन मुलुकमा भर्खरै स्थापित भएको संघिय लोकतान्त्रिण गणतन्त्रलाई संस्थागत गर्ने महत्वपुर्ण आधार भएकाले नगरबासि सम्पुर्ण आमाबुवा दाजुभाई दिदिवहिनी लगायत सवैको सहयोगको अपेक्षा राखेको छू । म तपाईंहरुको सेवक हुँ, मैले राजनितिमा लामो समय गुजार्दै यस नगरको बिकासको खाका सहित उपस्थीत भएको छु । तपाईहरु सवैको अमुल्य मतदानले मात्र नगरको बिकासका लागि मैले देखेको सपना पुरा हुनेछ । त्यसैले नगरको संबृद्धि र बिकासका लागि यसपटक तपाईं हामी सवैले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हालौं र आफ्ना आफन्त, छर छिमेक, ईष्टमित्र, नातागोता, सवैलाई गठबन्धनका उम्मेदवारलाइ जिताउन प्रोत्साहित गरौं भन्न चाहन्छु । जयनेपाल ।
प्रतिक्रिया