सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका १ महनौरस्थित पाल टोलका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो।
घटनालगत्तै सङ्घीय प्रहरी इकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो। घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।
उक्त घटनामा प्रयोग भएको खुकुरी, खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएको उनले बताए।
‘पारिवारिक रिसइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ। पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ बुढाथोकीले भने।
घटना कसरी भयो ?
मृतक सन्तकुमार पालको जेठ ११ गते मोरङ जिल्ला बस्ने एक युवतीसँग विवाह तय भएको थियो। उक्त विवाहका लागि केटी पक्षले दाइजोस्वरूप १ लाख नगद, एउटा मोटरसाइकल र ८ आना सुन दिने सहमति भएको थियो।
सन्त पालसँग विवाह तय हुनुभन्दा पहिला ती युवतीको गोलबजार बस्ने बेचु पालको छोरा प्रदीप पालसँग विवाह गर्ने तयारी भएको थियो। उक्त विवाहको लागि केटी पक्षले विराटनगरमा घडेरी दिने, उक्त घडेरीमा घर पनि बनाइदिने र केटाले कुनै व्यापार व्यवसाय गरे त्यसका लागि लगानीसमेत गरिदिने सहमति भएको थियो।
प्रदीपले केटीको पहिला नै विवाह भएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि उनका बाबु बेचु पालले ठूलो मात्राको दाइजोको लोभमा आफ्नो छोरालाई त्यही केटीसँग विवाह गर्न दबाब दिइरहेका थिए।
यसैबीच थोरै दाइजोमा सन्तकुमार पालसँग सोही केटीको बिहे हुने भएपछि बेचु पाललाई मृतकको परिवारसँग रिसइबी बढेको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।
यस्तै साइली बुहारीको चन्द्रेश्वर र घरका अन्य सदस्यसँग सम्बन्ध बिग्रिएको थियो। छोरा विदेश गएदेखि बुहारी शान्तिदेवी पाल गोलबजारमा कोठा लिएर बस्दै आएकी थिइन्।
सासु(ससुरासँग राम्रो सम्बन्ध नभएकै कारण जेठ ११ गते हुने देवरको बिहेमा समेत ‘तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन, तिमी बिहेमा आयौ भने छिमेकीहरू हाम्रो घरमा आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनू। तिम्रो बच्चाहरूलाई मात्र पठाउनू’ भनेपछि उनी थप रूष्ट भएकी थिइन्।
सासु(ससुराले अंशसमेत नदिएको, आफूले माइतीबाट ल्याएका गरगहनासमेत नदिएकाले शान्तिदेवीको आफ्नै परिवारसँग रिसइबी बढेको अनुसन्धानका क्रममा फेला परेको छ।
यस्तै शान्तिदेवीका श्रीमानले आफू विदेश जाने बेलामा श्रीमतीको रेखदेख गरिदिनू भनी जिम्मा लगाएका व्यक्ति जनिफ मियाँसमेत घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।
जेठको पहिलो साता गोलबजारमा शान्तिदेवी र जनिफ मियाँ कुरा गरिरहेको बेला उनीहरूकै चिनजानको बेचु पालसमेत पुगेका थिए।
कुराकानीकै क्रममा मियाँले शान्तिदेवीको सासु(ससुराले उनलाई धेरै दुःख दिएको भन्दै उनको बाटोबाट हटाउनु पर्यो भनी बेचुसँग सल्लाह गरेका थिए।
उनीहरू शान्तिदेवीको बाटोबाट हटे भने उनले ५० हजार रुपैयाँ दिने भनेपछि बेचु पालको आफ्नोसमेत रिसइबी रहेको भन्दै योजनाका लागि तयार भएका थिए।
त्यसपछि उनीहरूले ७ गते शनिबार राति मृतकको घर छेउको मन्दिरमा भेट्ने र काम फत्ते गर्ने, हत्या गर्नको लागि जनिफ मियाँले बन्चरो ल्याउने र बेचु पालले खुकुरी लिएर जाने योजना बन्यो।
गोलबजारबाट पैदलै हिँडेर शनिबार अबेर साँझ बेचु पाल मृतकको घर अगाडिको बाटो हुँदै योजना अनुसारको मन्दिरमा पुगेका थिए। तर त्यहाँ जनिफलाई नभेटेकोले पुन: सोही बाटो फर्केर घटनास्थलको रेकी गर्दै घटनास्थलको पूर्वपट्टीको राजदेवी मन्दिरमा गएर केही समय आराम गरेका थिए।
मृतकको घरको अगाडिबाट आवतजावत गर्दा बेचु पाललाई हातमा झोला लिएर हिँडेको केही स्थानीयले समेत देखेका थिए।
बिहेको तयारी भइरहेको घरमा गीतहरू बजिरहेको र भीडभाड भएकाले केही समय मन्दिरमै आराम गरे। जब गीत बज्न बन्द भयो तब बेचु पाल मृतकको घरमा गएर खुकुरीले बाहिर गोठमा सुतेका चन्द्रेश्वर पाललाई पहिला र सन्तकुमार पाललाई पछि प्रहार गरी हत्या गरेर कोठाहरूमा बाहिरबाट चुकुल लगाएर घर पूर्वपट्टीको राजदेवी मन्दिरतर्फ लागेका थिए।
त्यसपछि राजदेवी मन्दिरमा पुगेर हातमुख राम्रोसँग धोइपखाली गरेको र बालुवाले घोटेर खुकुरीसमेत सफा गरेका थिए। त्यसपछि बेचु पाल त्यहाँबाट पैदलै हिँडेर बिहान गोलबजारस्थित आफ्नो घरमा पुगेको थिए।
प्रहरीले उनीहरूले घटनामा प्रयोग गरेको खुकुरी र खुकुरी राखेको झोला, खुकुरी बेरेर राखेको लुंगी, रगत लागेको पाइन्ट र टिसर्ट, ४ थान मोबाइल बरामद गरेको छ।
प्रतिक्रिया