पोस्टमार्टम रिपोर्टमा ढिलाइ हुँदा अनुसन्धानमा समस्या



संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोला किनारमा दस दिनअघि शंकास्पद रूपमा मृत भेटिएका सन्दीप विश्वकर्माको मृत्युको कारण पत्ता लगाउन ‘डाइटम टेस्ट’ गर्नुपर्ने भएको छ ।

खाँदबारी–१ का १९ वर्षीय विश्वकर्मा जेठ ७ गते सभाखोला किनारमा मृत भेटिएका थिए । उनको मृत्यु रहस्यमय देखिएकाले प्रहरीले जिल्ला अस्पतालमा शवको पोस्टमार्टम नगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । प्रतिष्ठानको फरेन्सिक विभागका चिकित्सकहरुले विश्वकर्माको शवको पोस्टमार्टम गरे पनि प्रतिष्ठानमा ‘डाइटम टेस्ट’ गर्ने सुविधा नभएकाले शवको नमुना काठमाडौं पठाएका छन् ।

पानीमा डुबेर मृत्यु भएको हो कि अगाडि नै कसैले हत्या गरेर पानीमा फालेको हो भन्ने यकिन गर्ने विधिलाई चिकित्सा विज्ञानले ‘डाइटम टेस्ट’ भन्ने गरेको छ । सामान्य पोस्टमार्टम रिपोर्ट भने सोमबार प्रहरीलाई उपलब्ध गराएको फरेन्सिक विभाग प्रमुख प्रा।डा। बीएन यादवले बताए । तर यो पुर्ण रिपोर्ट भने होइन । डाइटमबाहेकको रिपोर्टअनुसार विश्वकर्माको शरीरमा चोटपटक देखिएको प्रा।डा। यादवले बताए । उनले भने,‘चोटपटक देखिए पनि डाइटम रिपोर्टबिना मृत्युको कारण भन्न सकिने अवस्था छैन ।’

प्रतिष्ठानमा मृतक विश्वकर्माको पोस्टमार्टम गरिए पनि खोला किनारमा मृत अवस्थामा फेला परेकाले उनको डाइटम टेस्ट गर्न बाँकी नै रहेको छ । डाइटम टेस्टको रिपोर्ट आउन केही दिन लाग्ने प्रा।डा। यादवले बताए । उनले बीपी प्रतिष्ठानको फरेन्सिक विभागमा सीमित जनशक्तिमात्र भएकाले पोस्टमार्टम रिपोर्ट दिन केही ढिलो भएको बताए । उनले एमबीबीएस, बीडीएस, एमडीका विद्यार्थीलाई पढाउनु पर्ने र अनुसन्धान पनि गर्नुपर्ने भएकाले सीमित जनशक्तिले पोस्टमार्टम गर्न नभ्याउँदा केही ढिलो रिपोर्ट दिनुपर्ने अवस्था आएको बताए ।

उनले भने,‘जनकपुरदेखि पूर्वका सबै अस्पतालहरुले यही पठाउँछन् । दैनिक एउटादेखि तीन शव पोस्टर्माटमका लागि ल्याउने गरेका छन् । मान्छेको ज्यानको कुरो हो । मृत्युको कारण पत्ता लगाउन सहज छैन । कतिपय जटिल केस पनि आउने गरेका छन् । त्यसैले समय लाग्ने गरेको छ ।’

सामान्यतया तीन दिनभित्रमा पोस्टमार्टम रिपोर्ट दिनुपर्ने प्रावधान छ । तर बीपी प्रतिष्ठानमा पोस्टमार्टम गर्नुपर्ने चाप, पर्याप्त जनशक्ति अभावलगायत कारणले सेवाग्राहीले भनेको समयमा रिपोर्ट दिन नसकिएको अर्का फरेन्सिक चिकित्सक डा। विकास साहले बताए । उनका अनुसार बीपी प्रतिष्ठानको फरेन्सिक विभागले वर्षमा कम्तीमा ६ सय शवको पोस्टमार्टम गर्छ ।

प्रतिष्ठानमा विश्वकर्माको पोस्टमार्टमपछि आफन्तले शव जिम्मा लिएर सदगद गरिसकेका छन् । मृतकका बुवा बहादुर विश्वकर्माले सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन् । उनले साथीहरूले छोराको हत्या गरेको आरोप लगाएका छन् ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले शंकास्पद मृत्यु भएको पाइएपछि विश्वकर्मासँगै गएका ३ जना साथीहरूलाई नियन्त्रणमा लिएको बताए । उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरुको नाम सार्वजनिक भने गरेका छैनन् । ‘पोस्टमार्टम रिपोर्ट हातमा परेपछि अनुसनधान तीव्र पार्छौं, नियन्त्रणमा लिइएकाहरुलाई पनि अनुसनधान गरिरहेका छौं,’डीएसपी सुवेदीले भने ।

 

सम्बन्धित समाचार