तनहुँ । पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका २ शवमध्ये एउटाको पहिचान भएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आँबुखैरेनी गाउँपालिका(४ ड्यामसाइडमा कारसँगै गोरखाका केशव घिमिरेको शव भेटिएको हो ।
गोरखाको सिरानचोक गाउँपालिका छोप्राक स्थायी घर भई हाल आँबुखैरेनी गाउँपालिका(२ मा बस्दै आएका ३५ वर्षीय घिमिरेको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको थियो । एउटा शवको भने पहिचान भएको छैन ।
सोही ठाउँमा एउटा मोटरसाइकल पनि खसेको र चालक सकुशल रहेको पनि बताइएको छ । सडक पूर्ण रूपमा भासिएकाले अहिले दुवैतर्फ सयौँ सवारी साधनसहित यात्रुहरू अलपत्र परेका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार अहिले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने विषयमा छलफल भइरहेको छ । अहिले घटनास्थलमा प्राविधिकहरू पठाइएको पनि कार्यालयले जनाएको छ ।
प्रतिक्रिया