खाँदबारी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न



संखुवासभाको खाँदबारी नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक बजेट तथा प्रगति बिवरण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । यस आर्थिक बर्षमा खाँदबारी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको व्यवस्थापन नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले गरेको थियो । मंगलबार सम्पन्न कार्यक्रममा विभिन्न वडाका स्थानीय, सेवा प्रदायक संस्था खाँदबारी नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित भएका सेवाग्राही तथा उपभोत्ताहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । सभामा उठेका जिज्ञासाको जवाफ प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य र नगर प्रमुख महेश थपलियाले दिएका थिए ।

अधिकांश सेवाग्राहीले खाँदबारी नगरपालिकाबाट प्रवाह भइरहेको सेवा सन्तोषजनक मात्र रहेको अभिव्यक्ति दिएका थिए । सेवाग्राहीबाट आएको गुनासोलाई आगामी दिनमा सुार गर्दै लगिने अधिकृत आचार्यले बताए । यस्तै नगरको समग्र विकासको गतिविधिलाई चुस्तदुरुस्त र पारदर्शी ढंगबाट अघि बढाउने प्रमुख थपलियाले बताए । पत्रकार महासंघले केही दिन अघि खाँदबारी नगर क्षेत्र भित्रका सेवाग्राहीबाट सल्लाह सुझाव र गुनासो संकलन गरेको थियो । उक्त संकलित सुझाव तथा गुनासोलाई महासंघका अध्यक्ष इन्द्र गिरिले प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख थपलियाले आफु निर्वाचित भएको दुई महिना मात्र भएपनि यो अवधीमा आफुले नगर विकासको धेरै खाकाहरु अघि सार्न सफल भएको भन्दै केही महिना भित्रै जनजिवीकाका सवालमा नगरपालिकाले महत्वपूर्ण कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाए । उनले वडावडामा सामाजिक सुरक्षाा भत्ता वितरणको व्यवस्था मिलाउने स्थानीय स्तरमा बिजुलीको महसुल बुझाउने व्यवस्था गर्ने, प्रत्येक वडा कार्यालयमा डिजिटल बोर्ड स्थापना गर्ने, शहरको वातावरणीय सरसफाइका लागि सडक पेटीको सरसफाई गर्ने, एक घर एक बिरुवा रोप्ने, नगर भित्रका अव्यवस्थित बसपार्कको व्यवस्थापन गर्ने, खाँदबारी बजार भित्र पार्किङको उचित व्यवस्थापनको लागि पहल गर्ने, कृषि उपजको मार्केटिङ र कृषि रिणमा सहजीकरण गर्ने, नगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरि सुरक्षा व्यवस्था सुदृढ गर्ने, सदरमुकामबाट वडा कार्यालयसम्मको सडक ढलान गर्ने र आइसोलेशनका लागि छुट्याइएको संरचनाहरुमा कोल्ड स्टोर स्थापना गर्ने लगायतका महत्वपूर्ण अभियानहरु सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार