कानेपोखरीमा आठ वर्षीय बालिकामाथि बलात्कार : मिलापत्र भएको छ महिनापछि आराेपी पक्राउ



मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीय बालिकामाथि बलात्कार भएको घटना गाउँमा नै मिलापत्र गराएको पाइएको छ । छ महिना अघि बालिकामाथि भएको घटना गाउँमा नै मिलापत्र गराएको पाइएको हो ।

गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले चिनजानकी बालिकालाई आफ्नो घरमा लगेर करणी गरेका थिए । घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि मौखिम रुपमा मिलापत्र भएको थियो ।

मिलापत्र भएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडितका बुबाको जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो ।

घटनाका बारेमा थाहा पाएपछि गत असार ३० गते बालिकाका बुबाले जाहेरी दिएका थिए । जाहेरीका आधारमा पुरीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए । उनले मिलापत्र गराएको सूचना आएपछि अनुसन्धान सुरु गरेको बताए ।

गत माघ ५ गते दिउँसो खेलीरहेकी बालिकालाई पुरीले आफ्नो घरमा लगेर करणी गरेका थिए । घटना भएकै दिन गाउँका अगुवाले पीडित बालिकाकी आमालाई क्षतिपूर्ती दिएर मिलापत्र गराएका थिए ।

घटना हुँदा पीडितका बुबा घरमा थिएनन् । बुबा घरमा आएपछि मात्रै घटना सार्वजनिक भएको हो । ‘म बाहिर थिए, यो घटनाका बारेमा मलाई कसैले सुनाएनन् ,’ बालिकाका बुबाले भने,‘ छोरीलाई पिसाबमा समस्या भएपछि पटक पटक डाक्टरलाई देखाए ।’ उपचार गर्दा पनि निको नभएपछि छोरीले घटनाका बारेमा आफूलाई बताएको उनले बताए ।

बालिकाका बुबा जागिरको शिलशिलामा मोरङ बाहिर थिए । उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए । उनकी श्रमती र छोरीलाई घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की आएको थियो। ‘ मलाई‌ कसैले भनेनन्, सोधीखोजी गर्दा श्रीमतीले ज्यान मार्ने धम्की दिएकाले नसुनाएको मलाई बताइन्,’ उनले भने,‘ आमा छोरी मात्रै बस्छौ सुनाए ठिक हुदैन भन्ने धम्की दिएका रहेछन् ।’ छोरीले पनि लामो समयसम्म आफूलाई नभनेको उनले बताए । ‘गाउँमा कुरा सुनेपछि छोरीले मलाई भनिन,’ उनले भने,‘ मैले थाहा पाउने वितिकै प्रहरीला खबर गरे ।’

 

सम्बन्धित समाचार