जोरपाटीमा निस्किएको फोहोरा ‘मिथेन ग्यास’ भएको पुष्टि



खानी तथा भूगर्भ विभागले काठमाडौंको जोरपाटी चोक नजिक लेदो माटोसहितको पानीको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको छ ।

घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि भएको विभाग अन्तर्गत ग्यास शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले जानकारी दिए । काठमाडौंको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्यास जम्मा भएर बसेको हुने उनले बताए ।

कसैले त्यो ठाउँमा पानीको लागि डिलिङ गर्दा त्यस्तो फोहोरा निस्किन्छ । सानो प्वालबाट एकैपल्ट हाइप्रेसरमा बाहिर निस्किदा धेरै माथिसम्म निस्किने देखिन्छ । जोरपाटीमा पनि त्यही भएको हो,” उनले भने । काठमाडौं उपत्यकामा निस्किने सबैतिरको ग्यास मिथेन ग्यास नै भएको विभागको भनाइ छ ।

अहिले पनि त्यस स्थानमा फोहोरा निस्किन रोकिएको छैन । जमिनमुनी कति ग्यास सञ्चित भएको छ भन्नेमा भर पर्ने उनले बताए । मिथेन ग्याँसलाई खाना पकाउने काममा प्रयोग गर्न सकिने प्रमुख श्रेष्ठले बताए ।

स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको ग्यास निस्किएको हो । ३ सय फिटजति खनेपछि एक्कासी विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो ।

बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको छ ।

 

सम्बन्धित समाचार