उपचाररत अवस्थामा विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट फरार बनेका कोरोना भाइरस सङ्क्रमित प्रतिवादीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१८ झटियाईका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई पक्राउ गरेको हो । उनलाई शुक्रबार दिउँसो १ः१५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । शौचालय जाने बहाना बनाएर दास कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट बुधबार राति १० बजेतिर फरार बनेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले लुकिछिपी बसेको अवस्थामा विराटनगर–१४ कटुप्पास्थितबाट उनलाई पक्राउ गरिएको जानकारी दिए । सबैतिर प्रहरी परिचालन गरेर खोजी व्यापक बनाइएका कारण पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए । लेनदेन मुद्दाका प्रतिवादी दास अस्पतालबाट फरार भएको ३९ घण्टापछि पक्राउ परेका हुन् ।
लेनदेन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले उनलाई २०७६ साल वैशाख २९ गते ६ महिना कैद सजायको फैसला सुनाएको थियो । सजाय भुक्तान नगरिकन भागिरहेका उनी मुद्दा फैसला भएको तीन वर्षपछि पक्राउ परेका थिए ।
प्रहरीले गत साउन २० गते घरैबाट पक्राउ गरेर अदालतमा बुझाउन खोजेको थियो । त्यसअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरियो । प्रहरीको निगरानीमा उपचार गराइरहेका कोरोना सङ्क्रमित दास सुरक्षा एवम् निगरानीमा खटिएका प्रहरीलाई नै छलेर फरार बनेका थिए ।
डिएसपी श्रेष्ठका अनुसार शौचालय जाने बहानामा हत्कडी खोल्न लागाउँदै दास फरार भएका हुन् । अब कैद सजाय भुक्तानका लागि उनलाई कारागार चलान गर्न प्रक्रिया अघि बढाइने श्रेष्ठले बताए ।
प्रतिक्रिया