करातेका दुई प्रशिक्षकले एक किशोरीलाई मानसिक यातना दिएर सामूहिक करणी गरेको खुलेको छ ।
विराट हेल्थ कलेजमा अध्ययरत १८ वर्षीया किशोरीलाई सोही कलेजका अनुशासन इन्चार्ज सुरज भनिने अमर सुवेदी र उनका साथी विनोद राउतले सामूहिक करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले सुवेदी र राउतले सामूहिक करणी गरेको दाबीसहित अधिकतम १५ वर्षसम्मको कैद सजाय माग गरेको छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा किशोरीलाई धम्की दिएर करणी गरेको उल्लेख छ ।
अभियोगपत्रमा आरोपी दुवैले इन्कारी बयान दिएका छन् । सुवेदीले आफूले चिनेपनि करणी नगरेको दाबी गरेका छन् । राउतले पीडित किशोरीलाई आफूले नचिन्ने बयान दिएका छन् । तर दुवैले पटक–पटक किशोरीलाई टेलिफोन सम्पर्क गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । दुवैले विराट होटलको १०४ नम्बर कोठामा लगेर करणी गरेको अभियोगमा उल्लेख छ ।
सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताको दफा २१९ को३ को देहाय (ङ) बमोजिम सात वर्षदेखि १० वर्षसम्मको कैद तथा सामूहिक करणी गरेकोतर्फ सोही संहिताको दफा २१९ ९७० बमोजिम थप पाँच वर्ष कैद सजाय मागदाबी गरेको छ ।
सामूहिक करणी गरेको किशोरीको जाहेरीका आधारमा प्रहरीले दुवैलाई ८ गते पक्राउ गरेको थियो । दुवै आरोपी करातेका प्रशिक्षक हुन् । अदालतमा आइतबार थुनछेक बहस हुने छ ।
बुबाले दिएको पीडा छोरालाई सुनाउँदा पनि भएन
पीडित किशोरीको दाबीअनुसार चार महिनाअघिबाट सुवेदीले पटक–पटक करणी गरेका थिए । गत जेठमा सुवेदीले राउतलाई पनि बोलाएको दाबी छ ।
बुबाले गरेको करणीकोे प्रतिरोध गर्न नसकेकी उनले सुवेदीका छोरा जेनिसलाई आफूमाथि भएको अन्याय पनि सुनाएकी छिन् । आफूमाथि भएको पीडा सुनाउँदै किशोरीले जेनिसलाई बुबा (सुरज)लाई सम्झाउन भनिन् । तर जेनिसले बुबालाई सम्झाउन नसक्ने प्रतिक्रिया दिए ।
आफूसँग आत्महत्याबाहेकको विकल्प छैन भन्दै उनले सुवेदीसँग आमा (सुरजकी पत्नी)को सम्पर्क नम्बर मागेकी छिन् । तर जेनिसले आफूलाई ‘हट’ हुने भन्दै केही भन्न नसक्ने जबाफ फेसबुक म्यासेन्जरमा फर्काएका छन् ।
परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदी चार महिनाअघि दोस्रो वर्षको फाइनल परीक्षा सकिएपछि किशोरीको पछि–पछि डेरासम्म पुगेका थिए ।
‘परीक्षा सकेपछि म कोठा गएँ, निज (सुरज सुवेदी) मेरो पछिबाट आइ ढोका ढकढक्याउँदा मैले खोलिदिएँ, मसँग पानी माग्नुभयो, मैले पानी दिएँ, पानी खाइसकेपछि मलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो,’ उनले भनेकी छिन्, ‘चुरोट लिएर आएपछि मलाई पानी पिउन दिनुभएको हुँदा पानी खाइसकेपछि मलाई चक्कर लागेजस्तो भयो, टाउको धोइपखाली गरें, अत्यधिक रिँगटा लागेपछि भुइँमा रहेको म्याट्रेसमा निदाएँ, भोलिपल्ट ब्युझिँदा कोठामा बियरको बोतल, चुरोटका ठुटा र कागज छरपस्ट थिए । बेड कभरमा रगतका टाटैटाटा थिए । मेरो भित्री बस्त्रसमेत नभएको अवस्था थियो ।’
आफूलाई बेहोस बनाएर करणी गरेको उनले भोलिपल्टमात्र थाहा पाइन् । कोठामै गएर करणी गरेपछि उनले अरूलाई सुनाइनन् । बरु, डेरा सरेर विराटनगर ३ को एक घरमा बस्न थालिन् ।
त्यो घरमा पनि गत जेठमा गएर सुवेदीले करणी गरे । डेरा सर्दा पनि पुगेपछि उनी त्यो घरबाट विराटनगर ३ कै अर्को घरमा डेरा सरिन् । त्यो घरमा पनि सुवेदी पिछा गर्दै पुगे ।
पछिल्लो समय असार २८ गते त्यो घरमा लिएको डेरामा पुगे उनी । मोबाइलमा भएको भिडियो देखाउँदै करणी गरेको किशोरीको दाबी छ ।
सुवेदीले गत जेठ अन्तिम साताको एक बेलुका विराट होटलमा किशोरीलाई (होटलमा इन्ट्री छैन) लिएर गए । किशोरीलाई मोटरसाइकलमा लिएर होटलको १०४ नम्बर कोठामा लगे । कोठा भाडाबापत् उनले आठ सय रुपैयाँ तिरेका छन् । कोठामा जाँदा बियर लिएर गएका उनले विनोद राउतलाई पनि बोलाएर सामूहिक करणी गरेको किशोरीको दाबी छ ।
‘मलाई मिति, समय याद भएन । जेठ अन्तिमतिर धरान आइज भन्दै धम्क्याएपछि म बस चढेर धरान गएँ,’ किशोरीले बयानमा भनेकी छिन्,‘ धरान पुगेपछि त्यतैबाट निज (सुवेदी)ले मोटरसाइकलमा राखेर सङ्खुवासभाको खाँदबारी लगे ।खाँदबारीको एक होटलमा तीन दिन राखी पटक–पटक जबर्जस्ती करणी गरे ।’ सुवेदीले कलेजमा आमा–बुबाको नम्बर हटाएर किशोरीको आफन्तको सम्पर्क नम्बरमा आफ्नो नम्बर राखेको किशोरीको बयानमा उल्लेख छ ।
सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोगपत्रमा सुवेदीले पटक–पटक र होटलमा राउतसहित सामूहिक करणी गरेको उल्लेख छ ।
अनुसन्धानक्रममा मेडिकल रिपोर्टले पनि घटना पुष्टि गर्ने प्रहरीले बताएको छ । पटक–पटक करणी भएका कारण किशोरी डिप्रेसनमा गएको मेडिकल रिपोर्टमा उल्लेख छ । किशोरीलाई ‘पोस्ट ट्रमा स्टेस्सडिसअडर’ र ‘एडजसमेन्ट डिसअडर’ देखिएको मेडिकल रिपोर्टमा उल्लेख छ ।
प्रहरीले अनुसन्धानक्रममा दुवैको पोलिग्राम जाँच पनि गरेको थियो । तर अभियोगमा पोलिग्राम जाँचको विषय उल्लेख छैन ।
प्रतिक्रिया