धरानमा ‘बाउ’ उपन्यासको परिचर्चा



धरान । साहित्यकार ताराबहादुर बुढाथोकीद्वारा लिखित ‘बाउ’ उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

प्रा.डा. टङ्कप्रसाद न्यौपाने अनुसन्धान केन्द्रको आयोजनामा धरान प्रज्ञाप्रतिष्ठानका निवर्तमान अध्यक्ष अम्बिकाकुमार सम्बाहाम्फेको प्रमुख आतिथ्यता र अनुसन्धान केन्द्रका अध्यक्ष डा। रमेश घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । ‘बाउ’ उपन्यासको विषयमा मणि राई ‘गोठाले’, राजेश विद्रोही, डा. सागरमणि सुवेदीले समीक्षा गरेका थिए ।

समीक्षकहरूले उपन्यासमा रहेका विविध विषयको चर्चा गरेका थिए । यस उपन्यासमा झर्रो शब्दको प्रयोगले नेपालीपन झल्किएको, शीर्षक राजनीतिक देखिए पनि राजनीतिक गन्ध नपाइने, बाउ शीर्षक बिम्बात्मक रहेको गोठालेको टिप्पणी थियो ।

राजेश विद्रोहीले आत्म वाचनको शैलीमा रहेको, उपशीर्षकमा आबद्ध रहेकाले कथानकमा गतिशीलता नभेटिने, विशृङ्खल कथावस्तु, सबै शीर्षक आफैमा पूर्ण, सबै जातका संस्कृतिको समान महत्त्व रहेको उल्लेख गरिएको बताए । यस उपन्यासलाई उत्तर आधुनिक उपन्यास मान्न सकिने हो कि विद्रोहीले भने । डा। सागरमणि सुवेदीले ‘बाउ’ उपन्यास जीवनको विशृङ्खलताको उपज हो ।

बाँच्ने, बचाउने तीन तत्त्वहरू चेतना, पेट, र मायापिरति रहे पनि कुनै एक मात्र पूर्ण नहुने दृढ इच्छाशक्ति चाहिने, पेट पाल्न गरिने सङ्घर्ष नै बाउ भएको उल्लेख गरे । यस उपन्यासमा साहस, सङ्घर्षले बाँच्न सकिने, आफु उठेको आधार बिर्सन नहुने ज्ञान दिएको, उनाइ र बुनाइमा माला नभए पनि प्रत्येक थुँगामा बाउ पूर्ण रहेको बताए ।

कार्यक्रमको सञ्चालन डा. रमेश लिम्बुले गरेका थिए । समीक्षकहरूको समीक्षात्मक टिपोट टीकाराम घिमिरेले गरेका थिए । धरानको पर्यटकीय क्षेत्र विजयपुरको स्टार होटलमा समीक्षात्मक कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार