दुर्गमका मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाउन सुरु



सङ्खुवासभा । प्रनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा मतदान केन्द्रहरुमा कर्मचारी जान सुरु गरेका छन् । आइतबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय सङ्खुवासभाले मतदान सामाग्री सहित कर्मचारी मतदान केन्द्रमा पठाउन सुरु गरेको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

जिल्लाको सबै भन्दा दुर्गम र विकट भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योती आधारभूत विद्यालय रिदाकमा मतदान सामग्री सहित कर्मचारी, निर्वाचन सामाग्री र सुरक्षाकर्मी पठाइएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । थुदाम, किमाथांका र रिदाक मतदान केन्द्रहरुमा पुग्न सदरमुकामबाट चार देखि पाँच दिन लाग्ने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

भोटखोला गाउँपालिकासम्म पुग्न एक दिन गाडी र बाँकी पैदल हिड्नु पर्ने भएकाले आवश्यक कपडा, औषधि, खानपिन लगायतका सामाग्री आफै लिएर जानुपर्ने बाध्यता छ । भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट भए सम्पर्क गर्न मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत गौतमले निर्देशन दिए । आतबार देखि बुधबार सम्ममा सबै निर्वाचन सामाग्री र कर्मचारी बाटो लाग्ने छन् । १ गते सम्ममा सबै मतदान केन्द्रमा कर्मचारी, मतदान सामाग्री र सुरक्षाकर्मी पुग्ने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि २९ जना उम्मेदवार चुनावी मैदान छन् । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् । जिल्लामा दुई अस्थायी सहित १ सय ६४ मतदान केन्द्र रहेका छन् ।

सम्बन्धित समाचार