धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ र कार्यपालिका बिचको विवाद सोमबारदेखि समाधान भएको छ ।अवरुद्ध बनेको कार्यपालिका बैठक विवाद सामधानसंगै सोमबारबाट सुचारु भएको छ । समाधान र छलफलको निमित्त गत कार्तिक १७, २४ र मङ्सिर २९ गते बोलाएको बैठक कार्यपालिका सदस्यीयहरूले बाहिस्ष्काकार गर्दै आएका थिए ।
मेयर हर्क साम्पाङ र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूबिच सम्बन्ध चिसिँदै जाँदा समग्र धरानको विकासमा दूरगामी असर पर्ने सम्भावना बढेको थियो । आइतबार साँझ उपमेयर अइन्द्रबिक्रम बेघाको समन्वयमा मेयर साम्पाङ र राजनीतिक दलको प्रतिनिधित्व हुने गरी वडा १५ र १८ का अध्यक्षसहित संवाद भएपछि बैठक बस्ने वातावरण बनेको हो । विवाद समाधानपछि सौहार्दपूर्ण वातावरणमा कार्यपालिका बैठक सुचारु भएको हो । मेयर साम्पाङले कार्यपालिका बैठकलाई स्थानीय सरकारको सदन भएकोले विगतमा सबैले गल्ती गरेको र आगामी दिनमा यस्ता गल्ती नहुने गरी सबै सच्चिएर अघि बढ्न आग्रह गर्दै बैठक सुचारु गरेका थिए ।
उपमेयर बेघाले पनि विगतलाई बिर्सेर नयाँ ढङ्गले अघि बढ्न, विगतको कमीकमजोरीलाई सच्याउँदै पाठ सिकेर अघि बढ्नुपर्ने बताए । आफ्नो गतिविधि, कामकारबाहीले कसैलाई असर परेमा, अफ्ठेरो परेमा कम्तीमा आपसी समझदारीमा बसेर व्यवस्थापन गर्दै लैजान पनि उनले सबैलाई आग्रह गरेका थिए ।
बैठकमा वडा नं १५ का अध्यक्ष नरेश इवारमले सबै जनप्रतिनिधिहरू धरानको विकास गर्न आएकोले एकताबद्ध भएर अघि बढ्ने र त्यसको सुरुवात भएको भन्दै खुसी व्यक्त गरे । ‘हामी ५ वर्षको लागि जनताको म्यान्डेट लिएर आएका छौँ । हामी सकारात्मक पक्षले अगाडि बढ्नुपर्छ । नयाँ सुरुवात हुँदैन, एकताको साथ अघि बढ्नेछौँ,’उनले भने ।
वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण)ले आइतबार साँझ भएको संवादमा सबैभन्दा बढी मेयर खुसी भएको खुलाउँदै बैठक सुचारु हुँदा अत्यन्तै खुसी लागेको बताए । उनले भने, ‘सम्पूर्ण कार्यपालिका सदस्यहरूबाट राम्रो काममा साथ, सहयोग रहनेछ । धरानको विकासमा साथ, सहयोग हुन्छ,’उनले भने ।
वडा नं १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले उपमेयर बेघाले समन्वयकारी भूमिका निर्वाह गरेकोमा विशेष धन्यवाद दिँदै सहअस्तित्व, सहकार्य, सहमति र सद्भावले एकता पैदा गर्ने भएकोले सबैले यसतर्फ ध्यान दिनुपर्ने बताए । बैठकमा व्यक्तिगत घरायसी झगडा र लेनदेनको छलफल नहुने भन्दै उनले धरानको समग्र विकास र समृद्धिको लागि नै छलफल हुने बताए ।
प्रतिक्रिया