सिसुवाखोला पहिरो पुनर्वासमा स्वास्थ्य चौकी निर्माणका लागि निशुल्क जग्गा प्राप्त



खाँदबारी । २०७७ असार २७ गतेको पहिरोको कारण विस्थापितहरुको पुनर्वास मध्येको एक पौखमटारमा स्वास्थ्य चौकी निर्माणको लागि निशुल्क जग्गा प्राप्त भएको छ । स्थानीय शुक्र कुलुङ र डेजेन कुलुङले ३ रोपनी र रामकुमार कुलुङले २ रोपनी गरि जम्मा ५ रोपनी निशुल्क जग्गा प्राप्त भएको हो ।

उक्त जग्गा जिल्ला मालपोत कार्यालय मार्फत सिसुवाखोला स्वास्थ्य चौकीको नाममा रजिष्ट्रेशन पास समेत गरिसकिएको सिलिचोङ स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले जानकारी दिनुभयो । उक्त जग्गामा स्वास्थ्य चौकी भवन निर्माणको लागि प्रदेश र पालिकाबाट बजेट समेत विनियोजित भईसकेकोले अब भवन निर्माण प्रकृया तत्काल सुरु गरिने कुलुङले मकालु अनलाईनलाई जानकारी दिनुभयो ।

२०७७ को पहिरोले चेप्चेवामा रहेको स्वास्थ्य चौकी भवनमा असर पुगेको थियो । त्यहाँका विस्थापितहरुलाई गाउँपालिकाले सुरक्षित स्थान बखल्टुममा पुनस्थापना गर्न लागेको हो । योसँग त्यस क्षेत्रका नागरिकहरुको लागि बखल्टुममा नै स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको हो ।

सम्बन्धित समाचार