बर्खामा यातायात सहज बनाउन चिचिलाले थाल्यो छलफल



खाँदबारी । उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको सडक बर्षौदेखि बेहाल छ । हिउँदोमा धुलाम्य र बर्खामा हिलाम्य हुँदा सास्तीको सिमा छैन । हिउँदको समयमा जेनतेन कष्टपुर्ण यात्रा गरिए पनि बर्षातको समयमा हिलाम्य भई यातायात नै अवरुद्ध हुन्छ ।

सडक अवरुद्ध हुँदा अति सम्वेदनशिल सवारी साधनहरु समेत सञ्चालन हुन सक्दैन । खाँदबारी देखि नुमसम्मको सडकलाई कालोपत्रे गर्ने ठेक्का लिएको शर्मा शिवशक्ति जेभिले काममा देखाएको उदाशिनताको कारण थप कष्टकर बन्दै गएको हो । निर्माण कार्यमा प्रगति नहुँदा विगतको बर्षहरुदेखि नै सास्ती भोग्नु परेको छ ।
गत बर्षहरु जस्तै यस बर्षको बर्षातको समयमा यातायात अवरुद्ध नहोस भनेर चिचिला गाउँपालिकाले सरोकारवालाहरु बोलाई छलफल गरेको छ । छलफल कार्यक्रममा चिचिला गाउँपालिकाका कार्यपालिका टिम, निर्माण ब्यावसायीको तर्फबाट साईट ईञ्चार्ज ईञ्जिनियर जितेन्द्र यादव, उत्तर दक्षिण कोशी राजमार्गको तर्फबाट ईञ्जिनियर रेशम ओली, पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्री गिरी, राजनितिक दल प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।

अघिल्लो बर्षको बर्खाको समयमा सडक भत्किएको र मर्मतको लागि कसैले चासो नदिएको कारण चिचिला गाउँपालिकाले सडक नै बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले स्मरण गराउनुभयो । यो बर्ष बर्षात सुरु हुनु अगावै सम्भावित समस्याहरुको समाधानको प्रयास खोज्न छलफल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । छलफल कार्यक्रममा उत्तर दक्षिण कोशी राजमार्गको लापरवाहिको कारण चिचिला गाउँपालिका वासीले भोग्नु परेको सास्तीको बारेमा बृहद छलफल गरिएको थियो । निर्माण ब्यावसायीको उदासिनताको कारण चिचिला सडक खण्डका नागरिकहरुले कष्ट भोग्नु परेको जनप्रतिनिधिहरुले बताएका थिए ।

चिचिला गाउँपालिकाको कार्यापालिकाले निर्णय गरेर छलफलको आयोजना गरिए पनि उत्तर दक्षिण सडक आयोजना कार्यालयको प्रमुख र ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभिको प्रमुखको उपस्थिती नहुँदा छलफल अपेक्षाकृत उपलब्धि मुलक हुन सकेको थिएन । कार्यक्रममा उपस्थित शर्मा शिवशक्तिका प्रतिनिधी आफै नयाँ भएकोले परियोजनाको बारेमा उत्ति जानकारी नभएको बताएका थिए । यद्धपी बर्षातको समयमा सडक अवरुद्ध हुन नदिनका लागि काम भईरहेको उहाँको भनाई छ ।
कार्यक्रममा उपस्थित उत्तर दक्षिण सडक आयोजना कार्यालयका ईञ्जिनियर रेशम ओलीले निर्माण कम्पनीले काम गर्न नसकेको बताउनुभयो । खाँदबारीदेखि नुमसम्मको कालो पत्रे आयोजनामा कुनै अवरोध नभए पनि ठेकेदारले काम गर्न नसकेको उहाँले बताउनुभयो । पठक पठक छलफलमा सहभागी बनाएर कार्ययोजना दिए पनि सो अनुसार काम गर्न नसकेको ओलीले बताउनुभयो ।

बर्षातको समयमा सडक सुचारु गराउन सडक हेरालुको ब्यवस्था गर्नु पर्ने चिचिला गाउँपालिकाको माग थियो । तर सडक हेरालु अरुण तेश्रो परियोजनाले ब्यवस्था गर्नु पर्ने पिडिएमा उल्लेख भएको भन्दै उत्तर दक्षिण सडक आयोजना कार्यालय पञ्छिन खोजेको छ । ठेकेदार कम्पनी भने सडक हेरालु राख्न आफ्नो जिम्मेवारी भित्र नपरेको दावी गर्दै आएका छन् । तसर्थ उत्तर दक्षिण सडक आयोजना कार्यालयका प्रमुख, अरुण तेश्रो जलविद्युत परियोजनाको प्रमुख, ठेकेदार कम्पनीका प्रमुख र सरोकारवालाहरुको उपस्थितीमा अर्को बैठक बस्ने छलफलले निर्णय गरेको छ । साथै चिचिला सडक खण्ड भित्रको सडकमा तत्काल नाली निर्माण गर्ने समेत छलफलले निर्णय गरेको छ ।

 

सम्बन्धित समाचार