लिस्वन । एकता र सहकार्यबाट मात्रै गैरआवासीय नेपाली संघको उद्देश्य प्राप्त गर्न सकिने संघको अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष महेश श्रेष्ठले बताउनु भएको छ।
गैरआवासीय नेपालीहरुबीच बढेको बेमेलका कारण जनता र सरकारले संघप्रति अविश्वास गरेको समेत श्रेष्ठले बताउनु भयो । संघको पोर्चुगलको कार्यालय उद्घाटन गर्न आइतबार लिस्बन आइपुगेका श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
आधिकारिक संस्था एउटै भए पनि संघप्रति असन्तुष्ट भई अलग रहेकाहरुलाई समेत समेट्न कार्यसमितिले अधिकतम् प्रयास गरिरहेको जानकारी दिनुभयो । नेपाल र नेपालीहरुका हितका लागि सबैलाई एकअर्कामा हातेमालो गर्न पनि श्रेष्ठले आग्रह गर्नुभयो ।
सोही सन्दर्भमा आगामी जुनको अन्त्यसम्ममा गैरआवासीय नेपाली संघको एकता टुंगिने संघका सचिव गंगाधर गौतमले खुलासा गर्नुभयो ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलले जनसम्पर्कलाई सहज बनाउन लिस्बनको आरोइसमा कार्यालय स्थापना गरिएको संघका अध्यक्ष रबीन अधिकारीले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा संघको युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप उपसंयोजक तिलक गैरे, युरोप युवा उपसंयोजक रोबोट लिम्बू, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, पर्यटनदूत रमेश गुरुङ, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष हेम गुरुङलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया