अरुण भ्याली फुटबलको दोश्रो दिन दुई खेल सम्पन्न, लोहोरुङ र पञ्चकन्या विजयी



कार्यक्रममा पुग्नुभएका पुर्व साँसद गौतमले प्रमुख रेफ्रिलाई फुटबल हस्तान्तरण गर्नुहुँदै ।

खाँदबारी । संखुवासभाको मानेभञ्ज्याङमा जारी नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको आज दोश्रो दिन दुई खेल सम्पन्न भएको छ ।

लोहोरुङ क्लव पाङ्मा र मकालु फ्रेण्डस क्लव विच भएको पहिलो खेलमा ६–१ गोल अन्तरले लोहोरुङ क्लव पांमा विजेता बनेका छन् । पहिलो हाफमा लोहोरुङले ३ गोल गरेको थियो भने दोश्रो हाफमा समेत ३ गोल गरि ६ गोल पुर्याएको हो ।

लोहोरुङको तर्फबाट पहिलो गोल आनस मगरले गरेका छन् भने दोश्रो गोल आषिश लावतीले गरेका छन् । तेश्रो र चौँथो गोल जिवन राईले, पाँचौ गोल सुबास तामाङले र छैटौँ गोल सौरज रावतले गरेका हुन् । विपक्षि टिम मकालु फ्रेण्डस क्लवको तर्फबाट दोश्रो हाफमा बलराम भट्टराईले गोल गरेका हुन् ।

त्यस्तै पञ्चकन्या फुटबल क्लव धर्मदेवी र गाउँले फुटबल क्लव संखुवासभा विच भएको दोश्रो खेलमा १–० गोल अन्तरले पञ्चकन्या फुटबल क्लव विजेता बनेको छ । निक्कै प्रतिष्पर्धात्मक खेलको दोश्रो हाफमा पञ्चकन्याको लागि ज्ञानेन्द्र भण्डारीले गोल गरेको हो ।

पराजित बनेका मकालु फ्रेण्डस क्लव र गाउँले फुटबल क्लवको प्रतियोगि यात्रा टुङ्गीएको छ । विजेता बनेको लोहोरुङ क्लव र चुलाचुली युथ क्लव धनकुटा विच कार्तिक १० गते प्रतिष्पर्धा हुनेछ । त्यस्तै सोहि दिन पञ्चकन्य फुटबल क्लव र बेलबारी फुटबल क्लव मोरङ विच प्रतिष्पर्धा हुनेछ ।

भोली शुक्रबार पनि दुई खेल सञ्चालन हुनेछ । गत बुधबार सम्पन्न दुई खेलका विजेताहरु र बाई पाएका दुई टिम विच प्रतिष्पर्धा हुनेछ । पहिलो खाँदबारी युथ क्लबलाई पराजित गरेर विजेता बनेको सेकाहा सामुदायिक क्लव र आयोजक एड्भान्स क्लव विच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेल तीनपोखरी युथ क्लवलाई हराएर विजेता बनेका सभापोखरी फुटबल क्लव र पाथिभरा फुटबल क्लव सुनसरी विच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो १२ बजे र दोश्रो खेल २ बजे सञ्चालन हुने कार्य तालिका छ ।

यसै विच संखुवासभाबाट निर्वाचित पुर्व साँसद एवम् नेकपा एमालेका नेता राजेन्द्र गौतमले खेल तथा खेलाडीहरुलाई शुभकामना दिनुभएको छ । खेल आयोजना स्थलमा पुग्नुभएका नेता गौतमले खेल मैदानबाटै खोलाडी तथा आयोजकलाई सफताको शुभकामना दिनुभएको हो । उहाँले खेल सञ्चालन गर्नका लागि आफुले सक्ने सवै प्रकारको सहयोग गर्ने समेत बताउनुभएको छ ।

प्रतियोगितामा संखुवासभा बाहिरका ३ क्लव सहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक १२ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले शिल्ड, मेडल र ट्रफी सहित नगद २ लाख रुपैयाँ प्राप्त गनेछ । उपविजेताले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्राप्त गनेछन् । सेमिफाईनल खेल्ने दुवै टिमले २५,२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५,५ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेलको दिन विबिध साँगितिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचार