टिपर दुर्घटनामा परि २ भारतीय मजदुरको मृत्यु



खाँदबारी । संखुवासभामा भल्भो टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत परियोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको छ । उक्त दुर्घटनामा २ जना भारतीय घाइते भएका छन् ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटनामा परेको हो । अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए ।

टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको डीएसपी बस्नेतले जानकारी दिए । दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो ।

चिकित्सकले बिहीबार बिहान करिब पौने ४ बजे मृत्त घोषणा गरेका हुन् । दुवै शव खाँदबारी अस्पतालमै छ । दुर्घटनामा परेर टिपरमा सवार भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएको डिएस्पी बस्नेतले बताए । उनीहरु पनि अरुण तेस्रोकै मजदुर हुन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सामान्य अवस्थाका पालको खाँदबारी अस्पतालमै उपचार भइरहेको छ । डीएसपी बस्नेतका अनुसार पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हुन् । भिरालो ठाउँमा टिपर दुर्घटना भएका कारण उद्धारमा कठिनाइ भएको थियो ।

प्रहरीका अनुसार कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार