खाँदबारी । मकालु त्रिशक्ति समुह (माट्स नेपाल) ले बाल कल्याण गृहलाई एक दिन खाना, नाना र छाना अभियान सुरु गरेको छ । बाल कल्याण गृहको व्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले यस अभियानको सुरु गरिएको हो ।
उक्त अभियानको २०८१ असोज ८ गते एक कार्यक्रमको आयोजना गरी सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेबाट विधिवत् उद्घाटन गरिएको हो । बाल कल्याण गृहको एक दिनको व्यवस्थापनका लागि लाग्ने खर्च २ हजार ५ सय रुपैयाँ संस्थाको बैंक खातामा जम्मा गरेर वा संस्थालाई उपलब्ध गरेर उक्त अभियानमा जो कोहीले सहभागीता जनाउन सक्ने संस्थाका अध्यक्ष नविन दाहालले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले १ दिनको खर्च उपलब्ध गरि अभियानको सुरुवात गर्नुभएको थियो ।
बाल कल्याण गृहमा हाल दिर्घकालीन संरक्षणमा ८ जना बालबालिकाहरु रहदै आएका छन । २०६३ साल देखि संचालनमा रहेको बाल कल्याण गृह स्थानीयको सहयोगमा संचालन तथा व्यवस्थापन हुँदै आएको छ । दिगो स्रोतको अभावका कारण बाल कल्याण गृह संचालन गर्न बेलाबखत समस्या झेल्दै आएकोले यो अभियानले व्यवस्थापनमा सहयोग पुग्ने बाल कल्याण गृह व्यवस्थापन समिती संयोजक एवं संस्थाका सचिव ध्रुव खड्काले बताउनुभयो ।
खाँदबारी नगरपालिका वडा नम्बर ७ मा संचालित यस गृहले संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम जिल्लासम्मका साहारा विहिन तथा सडक बालबालिकाको अल्पकालिन तथा दिर्घकालिन संरक्षणमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । सिमित श्रोत र साधनको अधिकतम् उपयोग गर्दै बाल संरक्षणको कार्यमा यस अभियानले थप टेवा पुग्ने गृहले अपेक्षा गरेको छ ।
प्रतिक्रिया