खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका २ को आहालेमा एकै दिन दुई भवनको उद्घाटन गरिएको छ । अरुण तेश्रो जलविद्युत परियोजनाको स्थानीय लाभ बाँडफाँड योजना अन्तगर्त निर्माण गरिएको आहाले आधारभुत स्वास्थ्य ईकाईको भवन र कालिका शेर्पा सामुदायिक भवन उद्घाटन गरिएको हो ।
वडा नम्बर २ का अध्यक्ष दिनेश कुमार राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा अरुण तेश्रो परियोजनाको प्रमुख कार्यकारी अधिकृत प्रशान्त शर्मा लगायतका अरुण तेश्रोका पदाधिकारीहरु, चिचिला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पुर्णकुमार राई, वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङ, कायपालिका सदस्य जुल्मि राई लगायत वडा नम्बर २ का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सवैभन्दा पहिले आहाले आधारभुत स्वास्थ्य ईकाईको भवन उद्घाटन गरिएको थियो । २ वटा सौचालय सहितको दुई कोठे भवनको प्रमुख अतिथी चिचिला अध्यक्ष पासाङ नुर्वु शेर्पा, विशिष्ट अतिथि एसएपिडिसिका सिईओ प्रशान्त शर्मा लगायतले शिलालेखको अनावरण तथा मुल ढोकामा टाँगिएको रिबन काटेर उद्घाटन गरेका थिए ।
आहालेमा ४ बर्ष अघि आधारभुत स्वास्थ्य ईकाई स्थापना गरिएको थियो । पालिकाले हालसम्म ब्यक्तिको घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको थियो । आधारभुत स्वास्थ्य ईकाई सञ्चालन गर्नका लागि स्थानीय रिञ्जिन शेर्पाले ६ महिनासम्म निशुल्क र सोपछि न्युन शुल्कमा घर उपलब्ध गराएको थियो । अब भने आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्न सुरु गरिएको छ ।
स्वास्थ्य ईकाईको भवन उद्घाटन पश्चात कालिका शेर्पा सामुदायिक भवन उद्घाटन गरिएको छ । उक्त भवन पनि शिलालेख अनावरण गरि मुल ढोकामा रिबन काटेर उद्घाटन गरिएको थियो ।
दुवै भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएका थिए । स्वास्थ्य ईकाई भवन निर्माणका लागि स्थानीय गर्भसिंह गुरुङको परिवारले झण्डै २ रोपनी जग्गा उपलब्ध गराएका थिए । त्यस्तै सामुदायिक भवन निर्माणका लागि पासाङ ल्हमु शेर्पा र उनका परिवारले जग्गा उपलब्ध गराएका थिए । भवन उद्घाटनको अवसरमा जग्गा दाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भवन निर्माणको लागि सहयोग गर्ने अरुण तेश्रो परियोजनालाई समेत सम्मान गरिएको छ । गाउँपालिकाको तर्फबाट एसएपिडिसीका सिईओ प्रशान्त शर्मालाई सम्मान पत्र प्रदान गरिएको छ । यसै गरि चिचिला प्रवेश मार्ग छ्याङ्कुटीदेखि भातेखोला हुँदै आहाले निस्किने सडक मर्मत गरिदिए वापत शर्मा शिवशक्ति जेभिलाई समेत गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाको अनुरोधमा जेभिले उक्त सडक मर्मत गरिदिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले हालसम्म चिचिला गाउँपालिका २ मा अरुण तेश्रोको स्थानीय लाभ बाँडफाड योजना (०.५ प्रतिशत) बाट १० वटा योजनाहरु सञ्चालन भईसकेको जानकारी दिनुभयो । अन्य थप योजनाहरुको बारेमा पनि माग गरिएको र छलफल भईरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै एसएपिडिसिका सिईओ प्रशान्त शर्माले स्थानीय सरकारसँगको परामर्शमा विकास निर्माणको काम भईरहेको बताउनुभयो । गाउँपालिकाले माग गरेको गुम्बाको संरचना तथा मुर्ति निर्माणको काम पनि प्रकृयामा रहेको बताउनुभयो । तल्लो अरुण, ४ सय केभिको प्रसारण लाईन निर्माण लगायतमा समेत स्थानीयको सहयोग आवश्यक रहेको सिईओ शर्माले बताउनुभयो ।
कार्यक्रमको सभाध्यक्ष वडा नम्बर २ का अध्यक्ष दिनेश कुमार राईले भवनसँगै त्यसमा आवश्यक उपकरणहरु र संरचनाको संरक्षणका लागि पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रमका केहि तस्विरहरुको लिङ्क ।
प्रतिक्रिया