युरोपको माल्टामा मनायो सोनाम ल्होछार



माल्टा । तामाङ समाज, माल्टाले तामाङ समूदायको महान् पर्व सोनाम ल्होछार भव्य रुपमा मनाएको छ । गत आइतबार माल्टाको जिरास्थित अर्फियम थिएटरको हलमा उक्त पर्व मनाएको हो ।

ल्होछारमा तामाङ जातिको आफ्नो मौलिक परम्परा र पहिचान झल्किने कला एवं साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने समूदायका समृध्दिका लागि लामा गुरुहरुले धार्मिक अनुष्ठान् गरेका थिए । कार्यक्रममा ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुले गीत/संगीत र नृत्यको माध्यमबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

 

यस वर्ष मञ्जुश्री सम्वत २८६१ सर्प वर्ग(डुल/सापुख्री)को शुरुवात भएको हो । यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तामाङ समाज, माल्टाको कार्यक्रमलाई भर्चुअलमाध्यमबाट विशेष सम्वोधन गर्नु भएको थियो । मुख्यमन्त्री तामाङले विदेशमा रहेर पनि आफ्नो भाषा, धर्म, कला र संस्कृति संरक्षण र प्रवर्धनका लागि समाजले गरेका कामको प्रसंशा गर्नु भएको थियो । सम्वोधनका क्रममा विदेशमा सिकेका सीपलाई नेपालको उत्पादनसँग जोड्न समेत आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघ, माल्टा तथा विभिन्न जातिय संघसंस्थाहरुको अध्यक्ष एवं प्रतिनिधिहरुको आतिथ्यतामा भएको यस ल्होछार कार्यक्रमको संयोजन समाजका सहकोषाध्यक्ष अमृत तामाङ गर्नु भएको थियो । यसैगरी औपचारिक कार्यक्रमको अध्यक्षता सुनिल दोङ तथा सञ्चालन रबिन तामाङ र हेमा लामाले गरेका थिए ।

सम्बन्धित समाचार