मेरो भ्वाइस तथा मेरो डान्स युनिभर्सको पोर्चुगल अडिसनको तयारी अन्तिम चरणमा

निर्णायकहरु आइपुगे पोर्चुगल



सर्वाधिक धनराशिको पुरस्कार रहेको टेलिभिजन गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्स र नृत्यतर्फको मेरो डान्स युनिभर्सको दोस्रो श्रृङ्खलाको पोर्चुगलमा हुने अडिसन राउण्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने उक्त प्रतियोगिताको पोर्चुगलको अडिसनका लागि लिस्वनको लभलिस्वन रेष्टुरेण्टमा फेब्रुअरी १५ मा प्रतियोगीहरुलाई अभिमुखिकरण कार्यक्रम र १६ तारिखमा छनौट प्रतियोगिता हुनेछ ।

प्रतिभा छनौंट गर्नका लागि निर्णायकको भूमिका निर्वाह गर्न गायनतर्फ अर्जुन सुनाम र केशव पौडेल तथा नृत्यतर्फ देवी गर्बुजा मगर र रुपेश उप्रेती पोर्चुगल आइसकेका छन् । निर्णायकहरुमध्ये देवी गर्बुजा मगर पहिलो संस्करणको नृत्यतर्फको उपविजेता समेत हुन् ।

विश्वभर छरिएर रहेका नेपालीहरुबीच आपसी सद्भाव कायम राख्दै गायन र नृत्यमार्फत प्रतिभा खोजी गर्दै नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको पोर्चुगलका संयोजक दीपेश बिष्टले जानकारी दिनुभयो ।

गायन तथा नृत्य दुबैतर्फका प्रतिष्पर्धीहरु नेपाल बाहिरका अडिसनका लागि १८ वर्ष र नेपालभित्र हुने अडिसनका लागि १६ वर्ष पुगेको हुनु पर्ने आयोजकको नियम रहेको छ ।

विभिन्न देशहरुमा हुने अडिसन राउण्डबाट छनौट भएका प्रतिभाहरुको अन्तिम भिडन्त नेपालमा हुने छ । दुबैतर्फका विजेताले जनही १-१ करोड रुपैंया तथा उपविजेताले २५-२५ लाख रुपैंया प्राप्त गर्ने छन् भने तेस्रो हुनेले जनही १०-१० लाख रुपैंया प्राप्त गर्ने छन् । युरोपमा वेलायतपछि धेरै नेपालीहरु बसोबास गर्ने भएकोले पोर्चुगलमा हुने अडिसनमा उल्लेख्य प्रतिष्पर्धी हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार