खाँदबारी । जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । मादी नगरपालिकाको आयोजनामा फागुन २९ देखि चैत ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
मादीको ओखरबोटे स्थीत नगरपालिकाको कभर्डहलमा प्रतियोगिता आयोजना गरिने मादी नगरपालिका प्रमुख जीवन लिङ्थेपले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गत बर्षहरुमा जस्तै यस बर्ष पनि तीन विधामा प्रतियोगिता गराईने नगर प्रमुख लिङ्थेपले जानकारी दिनुभयो । मेन्स डबल, वोमन डबल र मेन्स डबल भेटरन्स ईभेन्टमा स्थानीयदेखि राष्ट्रिय खेलाडीहरुले प्रतिष्पर्धा गर्ने उहाँले बताउनुभयो । ‘अहिले पोखरा लगायतका क्षेत्रबाट समेत राष्ट्रिय खेलाडीहरुले सम्पर्क गरिरहेका छन्’, नगर प्रमुख लिङ्थेपले भन्नुभयो, ‘यस पटक उच्च तहका खेलाडीहरु विच प्रतिष्पर्धा हुने पक्का छ ।’
मेन्स डबल तर्फका प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ७५, ५० र २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मेन्स डबल भेटरन्स तर्फका प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५०, ३० र १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै वोमन डबल तर्फ प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ४०, ३०, १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मादी नगरपालिकाले विगत बर्षहरुदेखि नै खेलकुदको माध्ययमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा खेल्न आएका तथा खेल हेर्न आएकाहरुले पर्यटन क्षेत्रको अवलोकन गर्ने उपप्रमुख सुनितादेवी भट्टराई दाहालले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण मकालु स्पोर्टस युटुब च्यानल र फेसबुक पेजबाट हुनेछ ।
प्रतिक्रिया