जिल्ला अस्पताल सङ्खुवासभाको सिटिस्क्यान मेसिन खरिद कार्यक्रम कटौती



खाँदबारी । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल सङ्खुवासभामा सिटि स्क्यान मेसिन खरिद कार्यक्रम कटौती गरेको छ ।

चालु आर्थिक बर्ष २०८१।८२ मा जिल्ला अस्पतालका लागि सिटि स्क्यान मेसिन खरिद गर्न ७ करोड रुपैयाँ विनियोजित गरिएको थियो । उक्त बजेट मार्फत मेसिन खरिद कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्री स्तरीय निर्णय भएको मन्त्रालयले अस्पताललाई जानकारी दिएको छ । तत्कालिन स्वास्थ्यमन्त्री राजेन्द्र कार्की मन्त्री भएको बेला विनियोजित उक्त बजे कार्यन्वयनमा अन्योल भएपछि अस्पतालले मार्गदर्शनका लागि मन्त्रालयलाई परिपत्र गरेको थियो । उक्त पत्रको जवाफमा यस बर्ष उक्त कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्री स्तरीय निर्णय भएको भनिएको छ ।

सिटि स्क्यान मेसिन खरिदमा ढिलाई भएपछि सङ्खुवासभाका सर्वदलीय प्रतिनिधि मन्त्रालय डेलिगेसनमा पुगेका थिए । त्यस समयमा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले सिटि स्क्यानको पूर्ण रुपमा प्रयोगमा ल्याउन सक्ने जनशक्ति सहित ब्यवस्थापन गर्नुपर्ने बताएका थिए । सिटि स्क्यान खरिद गरेर प्रयोग विहिन हुनु भन्दा त्यसलाई आवश्यक पर्ने जनशक्तिको ब्यवस्थापन समेत गर्नु पर्ने देखिएकोले हाल खरिद कार्यलाई पछि सारिएको बताएका थिए ।

यस सम्बन्धि केहि दिन अघि स्वास्थ्य मन्त्री भुपेन्द्र राई सङ्खुवासभाका आएको बेला पत्रकारहरुले समेत चासो राखेका थिए । जिल्लाका पत्रकारहरुले सिटि स्क्यान कटौटी हुन लागेको खबरले जिल्लावासी दुखि बनेको बताएका थिए । मन्त्री राईले सो समयमा पनि पर्याप्त जनशक्ति सहित सहित सिटि स्क्यान मेसिन उपलब्ध गराईने दोहोर्याएका थिए । सिटि स्क्यान खरिद गरेर पनि परिक्षण गर्ने जनशक्ति नहुँदा वा उपचार गर्ने चिकित्सक नहुँदा उक्त मेसिन प्रयोग विहिन हुनसक्ने मन्त्री राईको दावी थियो । खाँदबारी अस्पतालका लागि यस बर्ष मेसिन खरिद नगरिए पनि अर्को बर्ष आवश्यक जनशक्ति सहित ब्यवस्थापन गरिने बताएका थिए ।

यता जिल्ला अस्पताल ब्यवस्थापन समितिले भने मेसिन उपलब्ध भए सञ्चालनको लागि जनशक्ति ब्यवस्थापनमा त्यस्तो ठुलो समस्या नरहेको जनाएको छ । आवश्यक जनशक्ति ब्यवस्थापनका लागि अरुण तेश्रो लगायतका विभिन्न दाताहरुसँग समन्वय भईरहेको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष सुमन शाक्यको भनाई छ । अस्पतालमा अन्य विशेषज्ञ डाक्टरहरुले सेवा दिईरहेकोले उपचारमा समेत समस्या नरहेको शाक्यको भनाई छ ।

सम्बन्धित समाचार