गृह जिल्लामा एमाले नेता गौतमको पत्रकार सम्मेलनः के के भए कुरा ?



खाँदबारी । खाँदबारी जात्राको अवसरमा गृह जिल्ला संखुवासभा पुग्नुभएको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । प्रेस चौतारी नेपाल संखुवासभाको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नेता गौतमले आसन्न विधान अधिवेशन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनितिक सक्रियता, संखुवासभाको विकास निर्माणको अवस्था लगायतका बारेमा बोल्नुभएको छ ।

आगामी भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न हुने विधान अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेता गौतमले जानकारी दिनुभयो । पछिल्लो दुई कार्यकाल कार्यकारी पदमा रहेकालाई नदोहोर्याउने र ७० बर्षे उमेर हदको विषय चर्चामा रहेको नेता गौतमले बताउनुभयो । पार्टीका अगुवा नेताहरु पार्टी भन्दा बाहिर बस्नु पर्ने अवस्था आएपछि १० औँ महाधिवेशनबाट नै उक्त विषय हटाईसकिएको नेता गौतमले बताउनुभयो । उक्त विषय आगामी विधान अधिवेशनले अन्तिम किनारा लगाउने बताउनुभयो ।

पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन खोज्नु संविधानको मर्म विपरित भएको नेता गौतमले प्रतिकृया दिनुभयो । पूर्व राष्ट्रपतिको राजनीतिक सक्रियता बारे पार्टी भित्र बहुआयमिक ढंगले पर्याप्त छलफल गर्दा उक्त कदम सहि नभएको निष्कर्ष निकालिको उहाँले बताउनुभयो । देशको अभिभावक भईसकेको ब्यक्ति अभिभावककै ठाउँमा बस्नु उचित रहेको उहाँले प्रतिकृया दिनुभयो ।

नेता गौतमले जिल्लाको विकास निर्माणको अवस्थाको बारेमा समेत चर्चा गर्नुभयो । संखुवासभा जलश्रोतको धनि जिल्ला रहेकोले यहिबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो । यद्धपी आस्थाको धरोहरको रुपमा रहेको प्राकृतिक श्रोत साधनको दोहन गर्न नहुने नेता गौतमले प्रतिकृया दिनुभयो । जिल्लाको बहुधार्मिक नदिको रुपमा स्थापित बरुण नदिमा बलमिच्याई गरेर विद्युत निकाल्न खोजिएको विषय स्वीकार्य नभएको बताउनुभयो । यस बारेमा नेकपा एमाले लगायत सर्वदलीय संयन्त्रले असहमति जनाईसकेको बताउनुभयो । स्थानीय सरकार र जिल्ला समन्वय समितिले समेत असहमति जनाएको अवस्थामा विद्युत निर्माण कार्य गर्न नहुने गौतमले बताउनुभयो ।

जिल्लामा निर्माणधिन अपर अरुण जलविद्युत आयोजनामा नेपाली जनताको लगानी सुनिश्चित गर्नु पर्ने उहाँले बताउनुभयो । नेपालको पानी जनताको लगानी भन्ने कन्सेप्टबाट सुरु भएको यो आयोजना जनताको लगानीबाट नै बन्नु पर्ने पक्षमा आफुहरु रहेको बताउनुभयो । यस बारे हालको बहालवाला मन्त्रीको पनि स्पष्ट भनाई रहेको बताउनुहुदै त्यसलाई कार्यन्वयन गर्नु पर्ने बताउनुभयो ।

संखुवासभालाई तराईसँग छोटो समयमा जोड्ने उद्देश्यले सुरु भएको लेगुवा चतरा सडक केहि बर्ष अघिबाट नै सुरु भएको भए पनि गति कम रहेकोले त्यसलाई चासो दिन जिल्लाका पत्रकारहरुलाई आग्रह गर्नुभयो । त्यस्तै अरुण उपत्यकामा स्थापना भएको योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको प्रगति, खाँदबारी किमाथांका सडक निर्माण कार्यको प्रगति, किमाथांका क्षेत्रमा आवश्यक संरचनाहरु लगायतको बारेमा कलम चलाउन नेता गौतमले पत्रकारहरुलाई आग्रह गर्नुभयो । जिल्लाका पत्रकारहरुले विकास निर्माणको क्षेत्रमा चासो दिए गति लिन सक्ने विश्वास ब्यक्त गर्नुभयाे ।

सम्बन्धित समाचार