खाँदबारी र पाँचखपन नगरपालिकाले दियो हिले जात्रामा विदा



खाँदबारी । संखुवासभाको खाँदबारी र पाँचखपन नगरपालिकाले हिले जात्रामा स्थानीय विदा दिएको छ । यी पालिकाहरुले आफ्नो पालिकामा मनाईने गाईजात्रा र हिलेजात्राको दिन स्थानीय विदा दिईएको हो ।

मुख्यतः नेवार समुदायको पर्व गाईजात्रा र हिलेजात्रा यी पालिकाहरुमा धुमधामका साथ मनाउने गरिन्छ । खाँदबारी नगरपालिकाको खाँदबारी बजार लगायतका विभिन्न स्थान तथा पाँचखपन नगरपालिकामा वाना, सिभुवा लगायतका क्षेत्रमा नेवार समुदायको बाहुल्यता छ । यी स्थानहरुमा गाईजात्रा, लाखे जात्रा, हिले जात्रा लगायतका पर्वहरु मनाउने गरिन्छ ।

गाईजात्राको दिन साउन २५ गते राष्ट्रिय विदा रहेको छ । यी दुई पालिकाले भने २६ गते हिलेजात्राको दिन स्थानीय विदा दिएको हो । उक्त दिन नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहनेछन् ।

हिलेजात्राको दिन पाँचखपन नगरपालिकाको सिभुवामा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु तथा उमेश राई (फुलन्देको आमा), गायिका बबिना राई लगायतको प्रस्तुति रहनेछ । यता खाँदबारीको टुँडिखेलमा पनि गाईजात्रा र हिले जात्राको दिन बृहद साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा लाईभ ब्याण्डको प्रस्तुतिहरु रहनेछ । कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको टोलीको समेत प्रस्तुती रहनेछ ।

सम्बन्धित समाचार