महाकुलुङको काठ्माण्डौ घुम्ति शिविरबाट हजार बढिले लिए सेवा



काठ्माण्डौ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठ्माण्डौमा सञ्चालन गरेको घुम्ति शिविरबाट एक हजार एक सय ४२ वटा सेवा दिईएको छ । साउन २२ देखि २४ सम्म गोकर्णेश्वर स्थित शेर्पा पार्टी प्यालेसमा सञ्चालन गरिएको शिविरबाट पालिकावासीले उक्त सेवा लिएका हुन् ।

पञ्जिकरण तर्फ १२१, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस ४२, अन्य सिफारिस ३०, सामाजिक सुरक्षा नविकरण १३८ मालपोत तिरो १५५ र नाता प्रमाणित १४ जनाले सेवा लिएका छन् । त्यस्तै, अविबाहित प्रमाणित ३ जना, स्वास्थ्य विमा दर्ता तथा नविकरण ९ जना, डिम्याट खाता पहिचान ३ सय जना र राष्ट्यिर परिचयपत्र ३३० जनालाई वितरण गरिएको हो ।

उक्त शिर्षकको सेवा करिव एक हजार जनाले लिएको गाउँपालिकाले जनाएको छ । उल्लेखित सेवाहरु कसैले एक भन्दा बढि शाखा वा क्षेत्रको समेत लिएकोले दिईएको सेवाको संख्या भन्दा सेवाग्राहिको संख्या केहि कम हुनसक्ने गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख ध्रुब कुलुङले बताउनुभयो । शिविरबाट १ लाख १५ हजार ५ सय ३८ रुपैयाँ ९१ पैसा  राजश्व समेत संकलन भएको उहाँले बताउनुभयो ।

उपत्यकामा बसोबास गर्ने महाकुलुृङवासीलाई लक्षित गरि सुरु गरिएको सेवाबाट आफुहरुलाई ठुलो राहत मिलेको सेवाग्राहिहरुको भनाई छ । काठ्माण्डौबाट महाकुलुङ गएर सेवा लिई फर्किदा लाग्ने ठुलो खर्च जोगिएको सेवाग्राहिहरुले बताएका छन् । काठ्माण्डौबाट परिवारलाई लिई महाकुलुङ पुगेर फर्किन औषतमा ३० हजार रुपैयाँ खर्च हुने सेवाग्राहिहरुले बताएका छन् ।

शिविर सञ्चालनको लागि कुलुङ शेर्वी किदुक संस्थाले स्थानीय ब्यवस्थापनमा सहयोग गरेको थियो । यो संस्थाले विगत बर्षहरुदेखि नै सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार