कार्यालयको कामको क्रममा मात्र सरकारी सवारी साधन प्रयोग गर्ने चैनपुरको निर्णय



खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिकाले कार्यालयको काम प्रयोजनको लागि मात्र सरकारी सवारी साधन प्रयोग गर्ने निर्णय गरेको छ । पछिल्लो समय सरकारी सवारी साधनको बढ्दो दुरुपयोगको रोकथाम तथा श्रोत साधनको न्यायोचित प्रयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

यो निर्णय असोज ५ गतेको कार्यापालिका बैठकले पारित गरेको नगरपालिकाका सुचना अधिकारी कमल गौतमले जानकारी दिनुभयो । नगरपालिकाको वडामा १ भन्दा बढि मोटरसाईकल प्रयोगमा रहेको भए तत्काल नगर कार्यपालिकाको कार्यालयमा बुझाउन वडाहरुलाई पत्राचार गरिएको छ ।

वडामा प्राविधिकका लागि एक वटा सवारी साधन आवश्यक रहेको र सो भन्दा बढि भएमा कार्यपालिकाको कार्यालयमा बुझाउन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद निरौलाले मातहतका वडा कार्यालयहरु र नगर अस्पताललाई पत्राचार गर्नुभएको छ । ‘सवारी साधनलाई कार्यालयकाको काम बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न तथा कार्यालयको काममा प्रयोग गर्दा समेत लगबुक भरेर मात्र प्रयोग गर्ने ब्यवस्था मिलाउनु हुन अनुरोध छ’, पत्रमा लेखिएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको खाँदबारी नगरपालिकाले पनि यो ब्यवस्था लागु गरेको छ । यस कार्यलाई धेरैले प्रसंशनीय कार्य भएको बताए पनि कार्यन्वयनमा आशंका गरेका छन् ।

सम्बन्धित समाचार