प्रहरीको परिचयपत्र देखाएर होटलमा बसेका थिए कथित जेन.जी अर्जुन शाही



काठमाडौं । जेन.जी भन्दै विभिन्न सरकारी कार्यालयहरू गएर धम्क्याउने अर्जुन शाहीले प्रहरीको परिचयपत्र देखाएर होटलमा बसेको अनुसन्धानबाट खुलेको छ ।

बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ गरिएका उनीमाथि अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताउनुभयो ।

उनको साथबाट सहायक निरीक्षक (असई) कुमार शर्माको परिचयपत्र बरामद भएपछि सोधपुछ गर्दा चावहिलस्थित एक होटलमा बस्नका लागि उक्त परिचयपत्र पेश गरेको उनले बताएका छन् ।

भदौ २४ पछि उनी चावहिलका विभिन्न होटलमा बसेको प्रवक्ता भट्टराईले बताउनुभयो । जिल्ला प्रहरी परिसरले सोध्दा असई शर्माले आफ्नो परिचयपत्र जेनजी आन्दोलनकै क्रममा हराएको भनेका छन् ।

उनले आफूले अर्जुन शाहीलाई दोहोरो रुपमा नचिनेको र कार्यालयबाटै हराएको उक्त परिचयपत्र उनले फेला पारेको हुनसक्ने भनेका छन् ।

कोटेश्वरबाट बुधबार साँझ पक्राउ परेका उनी अछामको पञ्चदेवल नगरपालिका(४ का स्थायी बासी हुन् । शाही बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक कसुरमा फरार थिए ।

२६ वर्षीय शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए ।

उनी सुशीला कार्कीको शपथमा सुधन गुरुङसँगै जेनजीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए ।

अनलाइनबाट सभार

सम्बन्धित समाचार