चिचिला ठगी काण्ड: आराेपित गुरुङले स्विकारे गल्ति, शेर्पालाई दिए ६ लाखकाे चेक



खाँदबारी । अरुण तेश्राे परियाेजनाकाे छुट मुआब्जा रकम ठगीमा परेका चिचिला गाउँपालिका २ आहालेका दाेर्ची शेर्पाले आफ्नाे पैसा फिर्ता पाउने भएका छन् । मुआब्जा रकम पाए लगत्तै मुआब्जा पिडित संघर्ष समितिका उपाध्यक्ष समेत रहेका आहालेकै कुमार गुरुङले धाकधम्कि दिई शेर्पाबाट ६ लाख रुपैयाँ लिएका थिए ।

रकम लिएकाे बारे कसैलाई सुनाए राम्राे नहुने भन्दै गुरुङले दिएकाे धम्किका कारण लामाे समयसम्म कसैलाई भन्न नसकेकाे शेर्पाले बताएका थिए । आफु ठगिएकाे करिव ६ महिनापछि शेर्पाले चिचिला गाउँपालिकाकाे न्यायिक समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । उक्त उजुरीकाे बारेमा चिचिला गाउँपालिकाकाे न्यायिक समितिले प्रकृया सुरु गरेकाे थियाे । जिल्ला प्रशासन कार्यालयले पनि जाँचबुझका लागि जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेकाे थियाे ।

गाउँपालिका उपाध्यक्ष मनकला राईकाे संयाेजकत्वमा रहेकाे न्यायिक समितिले शुक्रबार दुवै पक्षलाई बाेलाई छलफल गर्ने क्रममा आराेपित गुरुङले शेर्पाबाट रकम लिएकाे स्वीकार गरेका हुन् । उनले तत्काल पैसा फिर्ता गर्न आफुसँग नभएकाेले केहि समय पर्खिदिन अनुराेध गरेका थिए । गुरुङकाे अनुराेध उपर छलफल गर्दा पिडित शेर्पाले अधिकत् एक महिनासम्म समय दिन सकिने मञ्जुरी दिएपछि २०८२ मंसिर २ गतेकाे मितिमा चेक काटेर गुरुङले शेर्पालाई हस्तान्तरण गरेका छन् ।

गुरुङले लिखित रुपमा नै रकम फिर्ता दिने थप समय माग गरेकाेले पिडितकाे मञ्जुरीमा एक महिना समय दिईएकाे न्यायिक समितिका उजुरी प्रशासक महेन्द्र राईले जानकारी दिए । ‘ताेकिएकाे समय भित्र गुरुङले आफ्नाे खातामा पैसा जम्मा गर्नुहुनेछ, त्यसपछि शेर्पाले भुक्तानी लिनुहुनेछ’, उजुरी प्रशासक राईले भने ।

सम्बन्धित समाचार