खाँदबारी । यहि कार्तिक २१ गते शुक्रबार संखुवासभाको तुम्लिङटारमा डेढ दर्जन गायक गायिकाहरुले साँगितिक प्रस्तुति दिने भएका छन् । तुम्लिङटार स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न हुने खेमराज स्मृति साँझ कार्यक्रममा चर्चितदेखि स्थानीय कलाकारहरुले प्रस्तुती दिने भएका हुन् ।
कार्यक्रममा रचना रिमाल, कमलीकान्त भेटुवाल, उमाङ लामा, सुरेन्द्र पुलामी, टिका मगर, केयर एण्ड द लुङ्गा ब्याण्ड, बिराट तामाङ, दखिन राई, अपन श्रेष्ठ, नविन दाहाल, राजु बाह्रकाेटी, सुनिता तामाङ, सुशान्त मगर, यमकुमार घिमिरे, पासाङ घिसिङ, मनिश गदाईली लगायतले साँगितिक प्रस्तुती दिनेछन् । कार्यक्रम तुम्लिङटार स्थीत एयरपोर्ट बजार (शुक्रबारे हटिया लाग्ने स्थान) मा हुन लागेको हो । कार्यक्रम दिउँसो साढे ४ बजेबाट सुरु हुने तुम्लिङटार स्पोर्टिङ क्लवका अध्यक्ष देवेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
यो कार्यक्रम मनकामना मेलामा आयोजना गर्ने तयारी गरिएको थियो । तर प्रतिकुल मौसमका कारण शुक्रबारका लागि कार्यक्रम सारिएको थियो । अमर स्रष्टा स्वर्गीय खेमराज गुरुङले नेपाली सङ्गीत, संस्कृति र साहित्य क्षेत्रमा पुर्याएको योगदानको सम्मानमा हरेक बर्ष कार्यक्रम आयोजना गरिदै आएको छ ।
यस कार्यक्रम मार्फत नेपाली मौलिक संगीत, साहित्य र कलाको माध्यमबाट स्वर्गीय खेमराज गुरुङको योगदानलाई अमर बनाउने प्रयास गरिएको क्लवका अध्यक्ष घिमिरेले मकालु अनलाइनलाई जानकारी दिनुभयो । यस कार्यक्रम मार्फत युवापुस्तामा सांगीतिक चेतना, सांस्कृतिक पहिचान र राष्ट्रिय गौरवको भावना जगाउने तथा स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै सांस्कृतिक पर्यटन र समाजिक एकता प्रवर्द्धन गर्ने उदेश्य राखिएको घिमिरेले जानकारी दिनुभयो ।


प्रतिक्रिया