खाँदबारी । ४७ औं आमन्त्रित हाङथुम कप फुटबल प्रतियोगिताको उपाधि डीवाइसी धनकुटाले हात पारेको छ । शनिबार सङ्खुवासभाको मादी नगरपालिका–३ मुलखर्कको खेल मैदानमा भएको प्रतियोगितामा भारतको दूधे फुटबल क्लब दार्जिलिङलाई ४–१ गोल अन्तरले हराउँदै डीवाइसी धनकुटा विजयी भएको हो ।
खेलको १७ औं मिनेटमा डीवाइसीका सन्दीप लिम्बुले पहिलो गोल गरेका थिए । धनकुटाका लागि युगन राईले २७ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दिए । दोस्रो हाफको नवौं मिनेटमा युगनले धनकुटाका लागि थप एक गोल गरे । नितेश लिम्बुले दोस्रो हाफको ३६ औं मिनेटमा धनकुटा लागि चौथो गोल गर्न सफल भए ।
नयन प्रधानले दोस्रो हाफको २४ औं मिनेटमा गरेको एक गोलमा सीमित रह्यो दार्जिलिङ दुधे । सेमिफाइनलमा कोशी प्रदेश प्रहरीलाई हराउँदै डीवाइसी फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई हराउँदै दूधे फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेता डीवाइसी धनकुटाले नगद २ लाख ४२ हजार रुपैयाँको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको भारतको दार्जिलिङको दूधे फुटबल क्लबले उपविजेताले १ लाख २१ हजार रुपैयाँका साथमा ट्रफी र मेडल प्राप्त गरेको हो । प्रतियोगितामा कोशी प्रदेश प्रहरी विराटनगर, लिखु भुजी रामेछाप युवा क्लब रामेछाप सहित ८ टोलीको सहभागी छन् । प्रतियोगिता माघ ५ देखि १० सम्म सञ्चालन भएको हो ।


प्रतिक्रिया