धनकुटामा माइक्रो बस दुर्घटनामा ७ जना घाइते



धनकुटा । काठमाडौंबाट हिले आउँदै गरेको माइक्रो बस धनकुटा नगरपालिका-१ निगालेमा दुर्घटनामा परेको छ ।

ग २ ख १९५७ नम्बरको माइक्रो बस धनकुटाको निगालेमा शनिबार साँझ सडकबाट तल खोल्सामा खसेको हो । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् । बसमा चालकसहित ११ जना सवार थिए ।

दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका धनकुटा नगरपालिका-१ सुकेपोखरीका ३६ वर्षीय रामचन्द्र तामाङलाई थप उपचारका लागि धरान रिफर गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले बताए । दुर्घटनामा धनकुटाको पाख्रीबास-६ फलाँटेका ३९ वर्षीय डिकबहादुर मगर, त्यही ठाउँका १८ वर्षीय अभिषेक मगर, धनकुटा-हिलेका ३५ वर्षीय यूमेश विश्वकर्मा, उनकी छोरी १३ वर्षीया निश्मा शंकर, पाख्रीबास नगरपालिका-२ सान्नेका ४० वर्षीय झमकबहादुर आले र हिलेका ३५ वर्षीय कल्पना विक रहेको धनकुटाका प्रहरी प्रमुख एसपी थापा क्षेत्रीले बताए ।

घाइते ६ जना यात्रुको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।

माइक्रोबसका चालक जिल्ला हुम्ला घर भई हाल जिल्ला काठमडौं महानगरपालिका-९ एकान्तकुना बस्ने ३९ वर्षीय विजय कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार