खाँदबारी । इन्धनजन्य तथा निर्माण सामग्रीहरूको लगातार बढ्दो मूल्यका कारण देशभरको निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका महासचिव सुनिल श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा डिजेल, पेट्रोल, बिटुमिन, रड तथा सिमेन्ट जस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धि र अभावले उद्योग नै धरासायी हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ । देशमा करिब २० देखि २५ लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको निर्माण क्षेत्र यस अवस्थाले प्रत्यक्ष प्रभावित भएको संघको भनाइ छ ।
निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले यसअघि नै नेपाल सरकार र सम्बन्धित निकायहरूलाई बारम्बार ध्यानाकर्षण गराए पनि हालसम्म ठोस पहल हुन सकेको छैन ।
विज्ञप्तिमा विशेषगरी मूल्य समायोजन प्रणालीप्रति असन्तुष्टि व्यक्त गरिएको छ । नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा निर्माण कार्यको मूल्य समायोजन हुने व्यवस्था भए पनि बजारमा सामग्रीको मूल्य अत्यधिक बढ्दा पनि सूचकांकमा घटेको देखिने प्रवृत्तिले व्यवसायीहरू थप मारमा परेको जनाइएको छ ।
अहिले निर्माण कार्य तीव्र रूपमा सञ्चालन हुने समय भए पनि सामग्रीको अभाव र मूल्यवृद्धिका कारण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको संघले जनाएको छ ।
यस्तो संकटपूर्ण अवस्थामा संघले निर्माण क्षेत्रलाई ‘आपतकालीन अवस्था’ घोषणा गरी व्यवसायीहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै, हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन गर्न कठिन भएकाले तत्काल “मूल्य समायोजन मार्गदर्शिका–२” जारी गर्न र सबै अवधिका निर्माण आयोजनाहरूमा मूल्य समायोजनको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।


प्रतिक्रिया