जंगली जनावरको आतंक बढ्दो, कृषकले पाउँदैनन क्षतिपुर्ती



सङ्खुवासभा, फागुन १३ गते । नेपालको कानुन अनुसार जंगली जनावरहरु मार्न पाईदैन । यदि कसैले मारिहाले कानुन अनुसार कारबाही भोग्नु पर्छ । जंगली जनावरहरु मार्नु हुन्न भन्ने मानसिकताको कारण नै पछिल्लो समय जंगली जनावरको संख्या बढ्दो छ । जंगली जनावरको संख्यासँगै आतङ्क पनि बढ्दो छ ।

बन्यजन्तुको संख्या बढेसँगै खेतबारिमा लगाएको अन्न तथा नगदेबालीहरु नष्ट गरिदिनाले किसानहरु चिन्तीत छन् । लगाएको बालीलाई मात्र सखाप पारेका छैनन्, जंगली जनावरको आक्रमणबाट बर्षेनी घाईतेसमेत हुनु परिरहेको छ । गत बर्ष मात्र भालुको आक्रमणबाट सङ्खुवासभामा २ जना गम्भीर घाईते भएका थिए । बाघ, भालु, बाँदर, दुम्सी, मृग जस्ता जंगली जनावरहरुले बारीमा लगाएको अन्न तथा नगदेबाली नष्ट गर्ने गरेको सङ्खुवासभाको विभिन्न स्थानका कृषकहरुको गुनासो छ । अन्नबालीलाई बन्यजन्तुले नष्ट गरेपछि कागती, सुन्तला, अलैंची, अदुवा, बेसार जस्ता नगदेबाली लगाएको पनि बन्य जन्तुले नष्ट गरिदिएको कृषकहरु बताउछन् । पहिले पहिले बन्यजन्तु तर्साएर वा मारेर बालीनाली जोगाएको भएपनि पछिल्लो समय मार्न नपाएकोले बन्यजन्तुको आतंक सहेर बस्नुको विकल्प नभएको चैनपुर नगरपालिका खराङका घननाथ त्रिताल बताउनुहुन्छ ।

बन्यजन्तुले अन्नबाली नष्ट गरेको भन्दै थुप्रै कृषकहरु क्षतिपुर्तीको माग गर्दै जिल्लाका सम्बन्धीत निकायहरुमा निवेदन दिएका छन् । निवेदन दिएपनि अहिलेसम्म कही कतैबाट क्षतिपुर्ती प्राप्त गरेका छैनन् । खाँदबारी नगरपालिका ३ का एकसय ६ जना बन्यजन्तुबाट पिडित कृषकहरुको हस्ताक्षर संकलन गरेर क्षतिपुर्तीको माग राख्दै स्थानीय राजकुमार पराजुलीको नेतृत्वमा हालै जिल्ला कृषी विकास कार्यालयमा निवेदन बुझाईएको थियो । बाँदर र दुम्सीले अलैंची, केराबारी र अन्नबालीमा क्षती पुराएपछि जिल्ला प्रसासन कार्यालयको सिफरिस र मुचुल्का समेत उठाएर कृषी विकास सार्यालय सङ्खुवासभामा बुझाईएपनि अहिलेसम्म कुनै क्षतीपुर्ती प्राप्त नभएको पराजुलीको भनाई छ ।

त्यस्तै, सुन्तला र रुद्राक्षलाई बाँदरले नष्ट गरेको भन्दै पाँचखपन नगरपालिका प्रहरी चौकीले उठाएको मुचुल्का अनुसार चार लाख एघार हजार रुपैयाँको क्षति भएपछि राहत माग्दै निवेदन पेश गरेपनि केही नपाएको पाँचखपन नगरपालिका ७ का भगवती खत्री अधिकारीले जानकारी दिनुभयो । जंगली जनावरले जिल्लाका अधिकांस स्थानहरुमा बाली नष्ट गरेपनि कतिपय किसानहरुले कस्लाई, के भन्ने समेत पत्तो नपाएको कारण उनीहरुको गुनासो उनीहरुमै मिमित छ । यस बर्ष मात्र जिल्ला कृषी विकास कार्यालय सङ्खुवासभामा ७ वटा उजुरी परेको छ । यसरी उजुरी आएपनि हालसम्म कसैले पनि क्षतीपुर्ती नपाएको जिल्ला कृषी विकास कार्यालय सङ्खुवासभाका बरिष्ठ कृषी विकास अधिकृत रविलाल शर्माले जानकारी दिनुभयो । कृषी विकास कार्यालयबाट उजुरी तथा निवेदन सङ्कलन गरेर क्षेत्रिय कृषी निर्देशनालय बिराटनगर पठाईएको र त्यहाँबाट प्राप्त भए मात्र क्षतीपुर्ती दिलाउन सकिने शर्माको भनाई छ ।

ठुलो बन्यजन्तुहरुले लगाएको बालीमा क्षती पुराए वापत क्षतिपुर्ती उपलब्ध गराउने निति भएपनि बाँदर, दुम्सी, मृग जस्ता बन्यजन्तुले पुराएको क्षतीको लागि क्षतिपुर्तीको ब्यवस्था नभएको मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार शाहले जानकारी दिनुभयो । हात्तीले बालीमा क्षति पुराएवापत कृषकले क्षतिपुर्ती पाउने तर पहाडी भेगका जंगली जनावरले पुराएको क्षतिमा कुनै राहत प्रदान गर्ने निती नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार