यस्ता छन् लामो समयसम्म बाँच्न अपनाउनुपर्ने ९ तरिका




आफ्नो जीवनशैलीमा थोरै मात्रै परिवर्तन गरियो भने पनि लामो आयु बाँच्न सहयोग पुग्छ । हालसालै गरिएको एक अध्ययनअनुसार मानिसका चार खराब बानी हुन्छन् धूमपान गर्ने, मदिरा धेरै पिउने, पर्याप्त व्यायाम नगर्ने र प्रशस्त फलफूल तथा सागसब्जीहरू नखाने ।

यी ४ खराब बानीले हाम्रो आयु १२ वर्षसम्म घटाउनसक्छ । तर यो कुरा सुनेर निराश हुनुपर्दैन । यस्ता अस्वस्थ बानीहरूलाई सुधार गर्न सकिन्छ ।

निम्न अनुसारका बानीहरू अपनाउँदा सधैं जवान देखिन सकिन्छ ।

१. धेरै खाना नखाने

१०० वर्षसम्म बाँच्ने चाहना छ भने आफ्नो खानाको प्लेटमा थोरै खाना राख्नु नै राम्रो हुन्छ । मानिसको दीर्घ जीवनको बारेमा अध्ययन गर्ने लेखक डान बट्नरका अनुसार वृद्ध जापानीहरू आफू ८० प्रतिशत अघाएको महसुस भएपछि खाना खाँदैनन् । सेन्ट लुइज विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार थोरै खाना खानाले छिट्टै वृद्ध देखिने खतरा कम हुन्छ ।

२. ब्यस्त रहने

हप्तामा दुई वा तीन पटक सन्तुष्ट हुनेगरी सेक्स गरे आयु ३ वर्षसम्म बढ्न सक्छ । नियमित सेक्स गर्नाले ब्लडप्रेसर कम गर्छ, निद्रा बढाउँछ, रोगप्रतिरोधी क्षमता बढाउँछ र मुटुलाई पनि सुरक्षित राख्छ ।

३. टिभी बन्द गर्ने

धेरै बेरसम्म टेलिभिजन हेर्ने गर्नाले पनि स्वास्थ्यमा नकरात्मक असर गर्नसक्छ । सन् २०१० मा गरिएको एक अध्ययन अनुसार दैनिक २ घन्टाभन्दा कम टिभी हेर्ने मानिसको तुलनामा दैनिक ४ घण्टाभन्दा धेरै टिभी हेर्ने मानिसको मृत्यु छिटो सम्भावना हुने ४६ प्रतिशत बढी हुन्छ । त्यसैले केही समय कम टिभी हेर्नु नै राम्रो हुन्छ ।

४. घामबाट बच्ने

चर्को घामबाट बचेमा छालाको क्यान्सरको जोखिम कम मात्रै हुँदैन, छाला चाउरी पर्ने, दाग लाग्ने र झोलिने समस्या पनि उत्पन्न हुँदैन ।

जहिले पनि बाहिर हिँड्दा सनस्क्रिन क्रिम लगाउनु राम्रो हुन्छ । सनस्त्रिmन क्रिम लगाउँदा अनुहारमा मात्रै होइन घाँटी र छातीमा ध्यान दिनु आवश्यक छ । घामबाट बच्नाले कम उमेरको देखिन सकिन्छ ।

५. साथीहरू बनाउने

परिवार र साथीहरूसँग धेरै घुलमिल नहुने खालको मानिसलाई मुटुको रोग लाग्ने जोखिम धेरै हुने अध्ययनहरूले देखाएको छ । एक्लोपनाले शरीर सुन्निन पनि सक्छ । एक्लोपनाले वृद्ध मानिसहरूलाई धेरै असर पार्न सक्छ जसले डिप्रेसनको समस्या पनि उत्पन्न हुन सक्छ ।

६. थोरै मात्रै पिउने

दिनमा दुई पेगभन्दा धेरै मदिरा पिउने महिला र तीन पेगभन्दा धेरै पिउने पुरुषमा विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्छन् । तौल बढ्नुको साथै पारिवारिक सम्बन्धमा पनि समस्याहरू देखिनसक्छ । तर, थोरै मात्रै पिउँदा भने राम्रो गर्न सक्छ ।

जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजीले सन् २०१० मा गरेको अध्ययनबाट थोरै पिउने मानिसको मुटु स्वस्थ हुने पत्ता लागेको थियो ।

७. फलफूल र सागसब्जी खाने

दिनमा तीनपटकभन्दा कम फलफूल र सागसब्जी खाने गर्नाले स्वास्थ्यमा समस्या निम्तिन सक्छ । फाइबर र भिटामिन प्रचुर मात्रामा हुने फलफूल र सागसब्जीले मुटु रोगको जोखिम ७६ प्रतिशत भन्दा बढीले कम गर्छ र ब्रेस्ट क्यान्सरको जोखिम पनि घटाउँछ ।

नियमित रूपमा प्रशस्त फलफूलको सेवनले छाला स्वस्थ एवं चम्किलो हुनुका साथै चाउरी पर्नबाट रोक्छ ।

८. व्यायाममा ध्यान दिने

नियमित व्यायाम गर्नाले स्फुर्ती जगाउँछ र सधँै जवान भएको महसुस गराउँछ । सन् २००८ मा गरिएको एक अध्ययनले नियमित व्यायाम गर्ने मानिसले आयु बढाउन सक्ने र उनीहरूको मुटु पनि स्वस्थ हुने कुरा पत्ता लगाएको थियो ।

दिनमा ३० मिनेट मात्रै हिड्ने बानी बसाले मात्र पनि स्वस्थ रहन सकिन्छ । यसले दिमाग र मेटाबोलिज्ममा पनि सकारात्मक प्रभाव पार्छ ।

९. धूमपान नगर्ने

धूमपान त्यागेमा स्वस्थ रहने मात्रै नभई आयु पनि बढाउन सकिन्छ । अमेरिकन जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार ३५ वर्षको उमेरमा धूमपान त्याग्ने महिलाले आफ्नो जीवनमा ६ देखि ८ वर्षको आयु बढाउन सक्छन् ।

धूमपान त्याग्न कहिल्यै पनि ढिलो हुँदैन त्यसैले धूमपान गर्ने बानी छ भने आजैदेखि छोडिदिनु राम्रो हुन्छ । यसले फोक्सोको क्यान्सर, दम लगायत अन्य रोगहरूबाट पनि बचाउँछ ।

सम्बन्धित समाचार