अन्धोपना हटाउने अभियानमा नेत्रज्योति संघ



खाँदबारी । विगत २ बर्षदेखि मोतिविन्दुको कारण आँखा नदेख्ने ६० बर्षीय विष्णुबहादुर तामाङ खाँदबारीमा राखिएको शिविरमा सफल सल्यकृया पछि पूर्णरुपमा आँखा देख्न सक्ने भएर घर फर्किनुभयो । भोजपुर घर भएका बोली नआउने उहाँको सफल शल्यकृयासँगै यस पटक जिल्ला सदरमुकाम खाँदबारीमा आईतबार र सोमबार राखिएको शिविरबाट ४० मोतिबिन्दु सहित ४४ जनाको सफल शल्यकृया गरियो ।

हिमाली जिल्ला सङ्खुवासभामा उपचारको अभावका कारण अन्धो भएर बस्न नपरोस भनेर नेपाल नेत्र ज्योति संघले अन्धोपना हटाउने अभियान नै सञ्चालन गरिरहेको छ । नेपाल नेत्रज्योति सँघ सङ्खुवासभाद्वारा सञ्चालन गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा यो बर्ष ४ सय १० जनाको सफल शल्यकृया भईसकेको छ । त्यस्तै, जिल्ला भरिका २५ हजार जनाको आँखा परिक्षण गरि १३ हजारको उपचार गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख छितिज बरालले जानकारी दिनुभयो । त्यस्तै ३ सय ५० भन्दा बढिमा दृष्टिदोष देखिएकोले निशुल्क चस्मा वितरण गरिएको बरालले जानकारी दिनुभयो ।

सङ्खुवासभामा हरेक बर्ष ४ देखि ५ सय जनाको संख्यामा शल्यकृया भईरहेको नेत्रज्योति संघ सङ्खुवासभाका अध्यक्ष युवराज शाक्यले जानकारी दिनुभयो । आँखाको समस्या तथा रोगहरु गाउँ गाउँबाट नै उपचार गराउने उद्देश्यका साथ सवै स्थानीय तहहरुमा उपचार केन्द्र स्थापनाको काम भईरहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । हाल खाँदबारी, सिलिचोङ, मकालु र चैनपुरमा उपचार केन्द्र स्थापना गरि सेवा प्रवाह भईरहेको र केहि समय भित्र नै धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालिकामा केन्द्र सञ्चालन गरिने अध्यक्ष शाक्यले जानकारी दिनुभयो । स्थानीय तहहरुमा उपचार केन्द्र स्थापना गर्दा आवश्यक उपकरणहरु र दुई स्वास्थ्यकर्मी मध्ये १ जना नेत्र ज्योति संघले र अर्को एक जना सम्बन्धित स्थानीय तहले ब्यवस्था गर्ने नीति लिईएको उहाँले जानकारी दिनुभयो । आर्थिक लगायतका विभिन्न समस्याहरुका कारण गाउँबाट उपचारको लागि सदरमुकाम आउन नसक्ने भएकोले गाउँ स्तरमा नै सेवा केन्द्र खोल्ने नीति लिईएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

नेत्र ज्योति संघले गरेको सर्वेक्षण अनुसार सङ्खुवासभामा २ हजार ८ सय जनामा मोतिबिन्दुको समस्या रहेको संघका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । त्यस मध्ये १५ सय जनाको तत्कालै शल्यकृया गर्नु पर्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । कत्तिपय विरामीहरु डर र सङ्कोचको कारण शल्यकृया गर्न आउन नमानेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । गाउँ गाउँमा गएर गरिने स्कृनिङ र उपचार केन्द्रबाट मोतिबिन्दु पत्ता लागेकाहरुलाई खाँदबारीमा बोलाई निशुल्क सल्यकृया गरिदै आएको छ ।

२०३५ साल अघिसम्म आँखाको उपचारको लागि नेपाल बाहिर जानु पर्ने बाध्यता रहेको तर हालभने छिमेकी देशका नागरिकहरु समेत उपचारको लागि नेपाल आउने गरेको नेत्रज्योति संघ कोसी प्रदेश अध्यक्ष श्याम सुन्दर उदासले जानकारी दिनुभयो । धनकुटाको नेत्र चिकित्सक रामप्रसाद पोखरेलको सक्रियताा २०३५ सालमा नेत्रज्योति संघको स्थापना भएपछि भने नेपालमा नै आँखाको उपचार गराउन सम्भव भएको कोसी प्रदेश अध्यक्ष उदासले जानकारी दिनुभयो ।

२०८१ साल भित्र ताप्लेजुङ र खाँदबारी आँखा उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा स्तरबृद्धि गर्न लागिएको प्रदेश अध्यक्ष उदासले जानकारी दिनुभयो । सर्जिकल सेन्टरमा सल्यकृया गर्ने चिकित्सक मात्र आउने बाँकी जनशक्ति र उपकरण सेन्टरमा नै ब्यवस्था हुने गरि काम भईरहेको उहाँले जानकारी दिनुभयो । सोका लागि प्रमुख उपकरणहरु खरिद भईसकेको, थप केहि उपकरणहरु र जनशक्ति ब्यवस्थापनको काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कोसी प्रदेश भित्र ३ अस्पताल र ४० उपचार केन्द्रहरु रहेका छन् । संघद्वारा सञ्चालन गरिएको उपचार केन्द्रहरुलाई विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

गाेरखापत्र दैनिकबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार