रातभर जागराम बस्छन् साप्तेलवासीहरु



साप्तेल गाउँमा गएको पहिरो ।

सङ्खुवासभा, असार ३ गते । जब सिमसिम पानी पर्न थाल्छ तब साप्तेलवासी नागरिकहरुको मुटुमा ढ्याङ्ग्रो बज्न थाल्छ र त्रास फैलिन्छ । यसको एक मात्र कारण हो, गाउँलाई नै तान्दै गरेको पहिरो ।

गएको मंसिर ३ गते दिउँसो शिलिचोङ गाउँपालिका ३ ताम्कुको साप्तेल टोलमा सुख्खा पहिरो गएको थियो । १७ घर परिवार रहेको साप्तेल गाउँलाई तानिदै सङ्खुवाखोला समेत केही समय थुनिनेगरि झरेको पहिरो अझै रोकिएको छैन । दिनै जसो ढुङ्गा र माटोको ढिस्को झरिरहन्छ । पानी परेको समयमा झन ठुलो मात्रामा माटो र ढुङ्गा खस्ने गरेको छ ।

यसै पनि बर्षौदेखि पहिरोको जोखिममा बाँचिरहेको साप्तेलवासीहरु रातको समयमा पानी पर्न थाल्ने वित्तिकै जागराम बस्छन् । पहिरोले घर गाउँ नै बगाएर सङ्खुवा खोलामा नै मिसाईदिने हो की भन्ने डरका कारण ढुक्कले निदाउन पाएका छैनन् । ‘अव त बर्षा लाग्यो पानी परिरहन्छ, कुन दिन बगाउने हो टुङ्गो छैन’, साप्तेल गाउँका अगमबहादुर राई भन्नुहुन्छ । गाउँ मुनी गईरहने पहिरोले एक दिन गाउँ तान्ने कुरामा दुविधा छैन गाउँलेहरुमा ।

कतै सुरक्षित स्थानमा सर्न पाए कम्तिमा आफ्नो ज्यान बचाउन सकिने स्थानीय भक्त कुलुङको भनाई छ । एक दशक अघि छिमेकी गाउँ सिकिदिमलाई आफ्नै आँखा अगाडी पहिरोले लगेको झलझली सम्झीरहेका साप्तेलवासीहरु आफुहरुले पनि त्यही नियती भोग्नु पर्ने अवस्थामा आईपुगेको उनीहरु बताउछन् । त्यसो त केही बर्ष अघि गाउँमै गएको पहिरोमा परि एक जनाले ज्यान गुमाईसकेको छ ।

गाउँमा पहिरो गएको हप्ता दिनमा सो गाउँका वडा सदस्य मणीकुमार कुलुङले ताम्कु प्रहरी चौकीबाट प्रहरी टोली लिएर गएपछि घटना स्थलको अध्ययन गरियो । मुचुल्का तयार गरेर जिल्ला प्रहरी कार्यालय र जिल्ला विपद ब्यवस्थापन समितिलाई बुझाएको थियो । सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पनि घटनास्थलको स्थलगत अनुगमन गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष कुलुङ लगायतका स्थानीय जनप्रतिनीधीहरुले स्थानान्तरणसम्मको आश्वासन दिएका थिए ।

लगत्तै केन्द्र र प्रदेशको निर्वाचन भएकोले उक्त घटनालाई छाँयामा पारेको थियो । पछिल्लो समय गाउँपालिकाका अध्यक्षलाई यस विषयमा कुरा गर्न लाग्दा पारिवारिक शोकमा परेकोले थप कुरा गर्न नपाएको स्थानीय सुजन कुलुङ बताउनुहुन्छ । ‘अब बर्षातको समयमा दैनिक जसो पानी परेपछि गाउँ नै पहिरोले बगायो भने हामी के गरु ?’ कुलुङ प्रश्न गर्नुहुन्छ ।

यस बिषयमा तत्कालिन प्रमुख जिल्ला अधिकारी तथा विपद ब्यवस्थापन समितिका अध्यक्ष शिवराज जोशीले चुनाव लगत्तै स्थलगत अध्ययन गरेर राहत तथा आवश्यकताको आधारमा अन्य प्रकृयाहरु अगाडी बढाउने बताउनुभएको थियो । हाल जोशीको सरुवा भएपछि प्रमुख जिल्ला अधिकारीको रुपमा गणेशबहादुर अधिकारी आउनुभएको छ ।

विपद ब्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएको अधिकारीले यस विषयमा त्यती जानकार नरहेको बताउनुभएको छ । केही दिनमा घुम्ति सेवा सहित सिलिचोङ मै गएर त्यस्को स्थलगत अनुगमन गर्न सकिने बताउनुभयो । अनुगमन पछि के गर्न सकिन्छ त्यस विषयमा निर्णय लिन सकिने अधिकारीको भनाई छ ।

सम्बन्धित समाचार