सुरुङ भित्र थुनिएकाहरु भन्छन, भित्रै मर्छौ जस्तो लागेको थियो



सुरुङ भित्र थुनिएकाहरुलाई जिल्ला प्रसासन कार्यालयमा खादाले सम्मानपछि ।

सङ्खुवासभा, असार ४ गते । ३९ घण्टासम्म अरुण तेश्रोको सुरुङमा पुरिएकाहरुलाई उद्धारपछि सोमबार विपद् ब्यवस्थापन समिति सङ्खुवासभाले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उद्धार गरिएकाहरुको सामान्य उपचारपछि सोमबार सार्वजनिक गरिएको हो ।

सुरुङबाट निकालिएर पुर्नजन्म पाएकोमा निक्कै हर्सित बनेका उनीहरुले अँध्यारो सुरुङ भित्र बस्नुपर्दाको सम्पुर्ण अनुभव पत्रकारहरुलाई सुनाएका छन् । राती सुरुङ भित्र काम गरिरहेको बेला अचानक पहिरोले प्रवेश मार्ग बन्द भएपछि सुरुमा उनीहरु निक्कै आत्तिएको बताएका छन् । सुरुसुरुमा बाहिर निस्कन सकिने सम्भावनाको निक्कै खोजी गरेपनि असम्भव भएपछि उद्धारको पर्खाईमा बस्नुको बिकल्प नरहेको उनीहरुले बताएका छन् । पहिरोले परिएको भाग निक्कै बाक्ले भएपनि सानो प्वाल भेटिएकोले बाँच्न सकिएला भन्ने आत्वबल बढेको थुनिएका मध्येको एक प्रदिप शाहीले बताउनुभयो । ‘सुरुमा त भित्रै मर्ने भईयो जस्तो लागेको थियो, सानो प्वाल देखिएपछि बाँच्ने आसा पलाएर आयो’, शाहीले भन्नुभयो । तर त्यही प्वालबाट पानी पसे त्यहीँ डुबेर मर्ने डरले उनीहरुलाई सताएको अनुभव सुनाएका छन् । तर थोरै मात्र पानी पसेकोले सुरुङ भित्र पानी नजमेको उनीहरुले बताएका छन् ।

सुरुङ भित्र खानेकुरा केही नभएपछि हिलो सहितको पानी खाएर बाँचेको अनुभव सुनाए । थुनिएका अर्का कामदार प्रेम परियारले भन्नुभयो, ‘घिनाएर नहुने रहेछ, हिलो सहितको पानी खानै पर्ने भयो ।’ बाहिर ठुलो आवाजमा विष्फोट भएको आवाजले आफुहरुमा थप त्रास उत्पन्न भएको परियारले बताउनुभयो । ‘हामीलाई नै उद्धार गर्र्न बम (ब्लाष्टिन) पड्काएको रहेछ, के हुन लाग्या हो भनेर सारै डर लागेको थियो’, परियारले भन्नुभयो ।

आफुहरु सकुशल बाहिर निस्केपनि केही सञ्चार माध्यमहरुले मरेको समाचार संप्रेषण गरेको कारण परिवारलाई तनाव दिएको उनीहरुको गुनासो छ । उनीहरु मरेको खबरले घरमा बेहोस भएकाहरुको अझै चेत नखुलेको शाहीले बताउनुभयो । ‘अहिले हामी जिउँदै छौं भनेर फोन गर्दा पनि कसैले पत्याएका छैनन्, उहाँले भन्नुभयो । त्यस प्रकारका तथ्यहिन समाचारले ठुलो क्षती भएको उनीहरुको दावी छ ।

सुरुङ भित्र पुरिएकाहरुको उद्धारको लागि विपद ब्यवस्थापन समितिले जिल्लाका तीन वटै सुरक्षा संयन्त्रहरु परिचालन गरेको थियो । सशस्त्र प्रहरी, नेपाली सेना र जनपथ प्रहरी गरि ८९ जना, अरुण तेश्रोका कर्मचारी र त्यस क्षेत्रमा कार्यरत मजदुरहरुको सक्रियताबाट उनीहरुलाई ३९ घण्टापछि सकुशल उद्धार गरिएको हो । सुरुङ भित्र फसेकाहरुलाई निक्कै चुनौतिका विच उद्धार गर्न सफल भएको विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । लगातारको बर्षा र माथिबाट पहिरो खसिरहने भएकोले उद्धारमा केही ढिलाई भएको अधिकारीको भनाई छ । पुरिएको सुरुङ मार्गसम्म पुग्नको लागि विष्फोटक पदार्थको समेत प्रयोग गर्नुपरको उहाँले जानकारी दिनुभयो । पाँचवटा स्काभेटरको प्रयोगले अर्को बैकल्पीक बाटो बनाएर उनीहरुलाई निकाल्न सफल भएको बताउनुभएको छ ।

उनीहरुको उद्धारको लागि गरिएको कार्यहरुको बारेमा प्रोजेक्टर मार्फत जानकारी प्रस्तुत गर्नुहुँदै अरुण तेश्रो निर्माण कम्पनी सतलज जलविद्युत निगमाका प्रमुख कार्यकारी अधिकृत एसकृ शर्माले सञ्चार माध्ययमहरुमा आएको खबरले नकरात्मक सन्देश गएको बताउनुभएको छ । आगामी दिनहरुमा समाचार लेख्दा घटना यकिन गरेर मात्र लेख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुदै पत्रकार महासंघ सङ्खुवासभा शाखाका अध्यक्ष ईन्द्र गिरीले माफी माग्नुभएको छ । जिल्लाका केही पत्रकारहरुले सकुशल रहेका ब्यक्तिहरुलाई मृत्तक भनेर समाचार लेख्नु गल्ती भएको अध्यक्ष गिरीले स्वीकार्नुभएको हो । पत्रकारहरु पनि मानब भएर मानविय त्रुटी भएको उहाँले बताउनुभयो । उद्धार गरिएकाहरुको दिर्घ जीवनको कामना गर्दै आगामी दिनमा यस्तो नहुने महासंघ अध्यक्ष गिरीले बताउनुभयो ।

सुरुङ भित्र थुनिनेहरुमा कालीकोट जिल्ला सिउना गाउँपालिका ४ का ३२ बर्षिय प्रदिप शाही, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका १ का ४४ बर्षिय प्रेम परियार, भारतको झारखण्डका सुधन मुण्डा र भारतकै बिहार प्रान्तकै नन्द किशोर सुरुङ भित्र पुरिएका हुन् । दुई नेपालीहरु लेबर हुन् भने भारतीयहरु ईलेक्ट्रिकल टेक्नीसियन हुन् ।

सम्बन्धित समाचार