खाँदबारी नपामा जनप्रतिनिधी आएपछि एक बर्षको उपलब्धीहरु सार्वजनिक ( पुर्णपाठ सहित)



खाँदबारी, असार २० गते । खाँदबारी नगरपालिकामा जनप्रतिनिधीहरुले पद बहाली गरेको एक बर्ष पुगेको दिन मंगलबार उपलब्धीहरु सार्वजनिक गरिएको छ । नगरपालिकामा एक कार्यक्रम आयोजना गरि नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले समिक्षा सहितका उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो ।

समिक्षात्मक उपलब्धीहरुको बारेमा जानकारी गराउनुहुँदै विभिन्न चुनौतिका कारण आफुहरुले सोचेजति उपलब्धी हासिल गर्न नसकेपनि सन्तोष जनक उपलब्धी हासिल गरेको बताउनुभयो । लामो समय प्रमुख कार्यकारी अधिकृत विहिन नगरपालिका भएकोले पनि विकासे आयोजनाहरुको सम्झौता हुन नसक्दा योजना सम्पन्न गर्न ढिलाई भएको बताउनुभयो । आफुहरु नेतृत्वमा आएपनि ‘जेरो लेभल’ बाट काम गर्नुपर्ने भएकोले पहिलो बर्ष निक्कै चुनौतिहरुको सामना गर्नुपरेको उहाँले जानकारी दिनुभयो । आफैलेकानुन बनाउदै काम गर्नुपर्ने भएकाले बनिसकेको केही कार्यविधीको नियमावली बन्न नसक्दा कतिपय कामहरु अपुरो रहेको बताउनुभयो ।

चालु आर्थिक बर्षमा ४ सय २६ योजनाहरु छनौट भएकोमा ३ सय ६२ वटा मात्र सम्झौता भएको जानकारी दिनुभयो । बाँकी आयोजना भने विभिन्न बिवाद लगायतका कारणहरुले सम्झौता हुन नसकेका मेयर खतिवडाले जानकारी दिनुभयो । सम्झैता भएको मध्ये ३ सय ३९ वटा आयोजना सम्पन्न भई बजेट निकासा समेत भईसकेको जानकारी दिनुभयो ।

मेयर खतिवडाले कार्यक्रममा प्रस्तुत गर्नुभएको प्रतिवेदनको पुर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ ।

000

खाँदवारी नगरपालिकाको १ वर्ष भित्रमा नगरपालीकालाई सम्वृद्ध र सबल बनाउनका लागि गरिएका देहाय अनुसारका क्षेत्रगत नितीहरुको कार्यान्वयनको अवस्था

पुर्वाधार सँग सम्वन्धित नीति

१.शहरी विकास

– साविक स्थानीय निकायबाट प्रत्येक वडाहरुलाई प्रति वडा रु. ५ लाख वडास्तरिय योजनाहरु बजेट विनियोजन हुँदै आएको र हाल स्थानीय तहको रुपमा रुपान्तरण भै बजेटको आकार समेत वृद्धि भएको सन्दर्भमा चालु वर्ष देखि वडा स्तरका साना आयोजना सम्पन्न गर्नका लागि वडा समितिबाट छनौट भै प्राप्त हुने गरि प्रति वडा रु. २२ लाख को परिधिभित्र रहि संचालन गर्ने व्यवस्थाका साथै वडा समितिबाट रु. ३० लाख सम्मको नगरस्तरिय योजना छनौट गरि कार्यान्वयन गरिएको ।

– नगरपालिकाबाट वडा केन्द्रसम्म जाने सडकलाई उच्च प्राथमिकतामा राखी ५ बर्ष भित्रमा वडा केन्द्रसम्म जोड्ने पक्की नाली, ग्राभेल वा पक्की सडक सहितको व्यवस्थीत सडक निर्माण गर्ने कार्यलाई प्राथमिकता दिई सन्चालन गर्दै लैजाने व्यवस्था अन्तर्गत शहरीविकाश कार्यालय धनकुटा संग समन्वय गरि वडा नं. ३ को कृषिबजार देखि वडा नं. २ को चेवावेंसी सम्मको सडक बहुवर्षिय योजना स्विकृत गरि रु ६ करोडको टेण्डर भईसकेको । वडा नं. ३ को मंगलादेविथान नजिकबाट वडा नं. ५ जाने सडक उन्नती कार्यक्रम बाट रु ६ कोड ६० लाखको टेण्डर भई धमाधम निर्माण कार्य भईरहेको । वडा नं. ८ को वडा कार्यालय जाने सडक केहि भाग ढलान र केहि भाग सोलिङ भएको । वडा नं. १० को विहिवोटे देखि वडा नं. ११ को वडा कार्यालय आंला जोड्ने सडक बोर्डको योजना समावेश गरि रु ३५ लाखको निर्माण कार्य भएको ।

– वडास्तरिय योजनाहरुलाई संचालन गर्दा कम्तिमा १५ प्रतिशत उपभोक्ताको नगद लागत सहभागिता बाट संचालन गर्ने व्यवश्था लागु गरिनेछ भने नगरस्तरिय योजना सन्चालन गर्दा कम्तिमा ३० प्रतिशत लागत सहभागिता नगदै जम्मा गर्नु पर्ने व्यवस्था मिलाईएकोमा कार्यान्वयनमा असहजताको महसुस भएपछि २० लाख भन्दा तलका योजनाहरुको नगद सहभागिताको प्रतिशत घटाईएको ।

– प्रथम कार्यपालिका बैठकबाट निर्णय भए अनुसार यस नगरपालिकाको अव बन्ने एकिकृत शहरी विकास (Comprehensive Development Town Plan) योजनाद्वारा नगरको दिर्घकालिन योजना निर्माण गर्ने काम शहरीविकाश तथा भवन निर्माण विभाग संग पहल गरि आगामी वर्ष निर्माण हुने भएको छ ।

– ५ लाख भन्दा बढीका योजना संचालन गर्दा अनिवार्य रुपमा आयोजना सुचना पाटी टाँस गर्नुपर्ने नियमलाई कार्यान्वयन गर्न थालिएको छ ।

– नगरपालिकाबाट संचालन हुने पुर्वाधार निर्माणसँग सम्वन्धित कार्यको गुणस्तर कायम गर्न अनुगमन, सुपरिवेक्षण र मुल्यांकन गर्ने कार्यलाई सुरुवातगरिएको छ । साथै योजनाको अन्तिम भुक्तानी गर्नु पुर्व सार्वजनिक परिक्षण, काम शुरु हुनुभन्दा अगाडी र काम सम्पन्न भएपछिको अवस्था झल्काउने फोटोहरु अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था लागु गरिएकोछ ।

– सडक क्षेत्रको लगत कट्टा गर्ने कार्य सम्वन्धीत क्षेत्रका प्राविधिक हरुको अभावका कारण हुन सकिरहेको छैन । आगामी बर्ष यसलाई प्राथमिकतामा अगाडि राखि कार्यान्वयन गरिने छ ।

– यस वर्ष सडकका धेरै नया ट्रयाक खोलिएका छन् । अव अत्यावश्यक बाहेक सकभर नया ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गरिने छ । नयाँ ट्रयाक खोल्नु पर्दा सम्भाव्यता अध्ययन (Feasibility Study) गरेर मात्र ट्रयाक खोल्ने कार्य मिलाईने छ ।

– यस बर्ष सडकको लगतकट्टा नभएको हुँदा सडक अतिक्रमणलाइ निरुत्साहित गर्न सकिएको छैन । आगामि बर्षको प्राथमिकतामा रहने छ ।

– पक्की घर निर्माण गर्दा नक्सापास कार्यविधी तथा मापदण्ड मा उल्लेख भए बमोजिम १००० बर्ग फिट भन्दा बढी र ३ तला भन्दा माथि बन्नेको घरको अनिवार्य रुपमा माटो परिक्षण गर्नु पर्ने व्यवस्था भएको तर संखुवासभा जिल्लामा नै माटो परिक्षण गर्ने प्रयोगशाला नभएको कारण कार्यान्वयन हुन सकेको छैन । प्रयोगशाला स्थापनाको कार्य अगाडि बढाईने छ ।

– बजार क्षेत्रलाई सुरक्षित बनाउनको लागि वडा कार्यालय, प्रहरी, उद्योग वााणिज्य संघ, वित्तिय संस्था तथा सामूदायिक संघ संस्था सँग सहकार्य गरि सि.सि. क्यामारा जडान कार्यलाई निरन्तरता दिदै जाने योजना भएकोमा सि.सि.क्यामेरा जडान हुन सकेन तर प्रहरी विट स्थापनाको कार्य भएको छ ।

– भुकम्प प्रतिरोधी भवन निर्माण गर्नका लागि निर्माणकर्मी तथा कामदारहरुलाई दक्ष कालिगढ को तालिम राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटा र घरेलु तथा साना उद्योग विकाश समिति खाँदवारी सँग सहकार्य गरि २४० जना डकर्मिहरुको ७ दिने तालीम सम्पन्न गरिएको छ ।

– नगरपालिकामा घर नक्सा दर्ता नगरि कुनै घर एवं संरचना निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्न अनिवार्य नक्सा दर्ता गरेर मात्र निर्माण कार्य गर्नु पर्ने व्यवस्था कडाइका साथ लागु गरिदै छ । यसलाई अझ पुर्णता दिईने छ ।

– शहरी क्षेत्रमा सडकको छेउ भागमा सौर्य सडक वत्तिको व्यस्थापन गर्ने साथै विद्युत नपुगेका वडाहरुमा विद्युत प्राधिकरणसँगको साझेदारीमा क्रमश विद्युतिकरण गरिनेकार्यक्रम रहेकोमा केहि ठाउँहरुमा विद्युतीकरण भएको साथै वडा नं. ७ को नयाँवजार क्षेत्र , लक्ष्मी मिनी मार्केट तथा विराट टोलका क्षेत्रहरुमा सडक वत्ति राखिएको छ । पहिले राखिएका सौर्य सडक वत्तिको मर्मत संभार गरिएको छ थप जडानकार्य अगाडि बढाईदैछ ।

२.सिचाइ , खानेपानी तथा ढल

–  खानेपानी मुहान नभएका स्थानमा पाइप वा लिफ्टिङ्गका माध्यमबाट खानेपानी सुविधा पुर्याउनमा जोड दिने साथै मर्मत सम्भार गर्नुपर्ने अवस्था रहेका स्रोतहरुको संरक्षण को व्यवस्था र नयां स्रोत को खोजी गर्ने र साविकका ट्याङ्कीहरुलाई संरक्षण र मर्मत गर्ने कार्यको योजना रहेकोमा ५० लाख भन्दा माथिका योजनाहरु कार्यान्वयन भएका छन् ।

– सिचाइको अभाव रहेको वडाहरुमा सिंचाई पुर्याउने व्यवस्था मिलाईने कार्यक्रम रहेकोमा २० लाखभन्दा माथिको वजेट खर्च गरि कुलो निर्माण तथा मर्मत गरिएको छ ।

– नगरपालिका क्षेत्रको ढल व्यवस्थापन जटिल बन्दै गएको हुँदा त्यसको उचित व्यवस्थापनको लागि नगरपालिकाको अनुरोधमा खानेपानी तथा ढल निकास विभागले जग्गा उपलब्ध गराएमा र लागत साझेदारी गरेमा व्यवस्थित किसिमको ढल प्रशोधन केन्द्र निर्माण गरिदिने औपचारिक जानकारि प्राप्त भएपछि नगरपालिकाले प्रतिबद्धता समेत जनाईसकेको साथै उक्त ढल प्रशोधन केन्द्र वडा नं. ९ मा रहेको ल्याण्डफिल्ड साईटको जग्गामा स्थापना गर्न म्एच् निर्माणका लागि सर्भेक्षणको कार्य भईरहेको छ ।

– जिल्ला सिंचाई कार्यालयको तर्फबाट तुम्लिङ्गटारमा लिफ्ट सिंचाईको काम भईरहेको छ ।

सामाजिक बिकास सम्बन्धी नीति

क) शिक्षा सम्बन्धि

– संघीय शिक्षा निती र प्रदेश शिक्षा निती तयार भइसके पछि सोही आधारमा नगर शिक्षा निती बनाई लागू गरिनेछ । सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि नगर शिक्षा समिति गठन गरि सो समिति मार्फत विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्र.अ. एवं शिक्षकहरुको सहभागीता मार्फत उपयुक्त नगर शिक्षा कार्ययोजना (Action Plan) बनाई लागू गरिने तथा नमुना विद्यालय निर्माणको कार्यक्रम बनाई चरणबद्ध रुपमा लागु गरिने साथै राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट विद्यालय र शिक्षक घोषण गरि शिक्षा दिवसको अवसरमा पुरस्कृत गर्ने र नराम्रो कार्य गर्नेलाई दण्डित गर्ने व्यवस्था मिलाईने योजना रहेकोमा नगर शिक्षा समिति गठन गरि नगर शिक्षा नियमावलीको निर्माण भईसकेको छ । अव कार्यान्वयनमा अगाडि जानेछ ।

– बर्तमान अवस्थामा संचालन भईरहेको शिक्षा प्रणालिलाई ब्यबस्थित गर्न र दक्ष जनशक्ति निर्माणका लागि सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना अभियानलाई व्यापकता दिन SEE को तयारीका लागि सामुदायिक विद्यालयमा अध्ययनरत दलित छात्र छात्राहरुलाई अंग्रेजी, गणित र विज्ञान विषयमा ट्यूशन कक्षा सन्चालन भएको छ ।

– सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षकहरुलाई तालिम संचालन गर्ने र अन्य जिलाहरुमा सन्चालन भै रहेका उत्कृष्ठ सामूदायिक विद्यालयको शैक्षिक भ्रमण गराउने व्यवस्था मिलाइने कार्ययोजना रहेकोमा तालिमको प्याकेज संचालन हुन नसके पनि विद्यालयका प्र.अ.हरुको उत्कृष्ट सामुदायीक विद्यालयको अवलोकन भ्रमण गराईएको छ ।

– शैक्षिक गुणस्तर बढाउनका लागि भौतिक पूर्बाधारको बिकस सँगै विद्यालयमा सूचना मैत्री विद्यालय व्यवस्थापन गर्नका लागि विद्यालयमा ICT Vertual Class, E Library को स्थापना, नेट–इन्टरनेटको व्यवस्था र सन्चालनका लगि कार्यक्रम बनाई चरणबद्ध रुपमा कार्यान्वयन गर्ने योजना रहेकोमा यस पटक ईलेक्ट्रोनिक हाँजिरी माध्यमिक विद्यालय र कक्षा ८ संचालीत आधारभुत तहका विद्यालयहरुमा राखिसकिएको छ । अरुमा क्रमश अगाडि वढाईनेछ ।

– बिद्यालयको बिद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दिको लेखाजोखा गरि दरबन्दि मिलान गर्ने गराउने कार्यम जोड दिइने योजना रहेकोमा भर्खर मात्र शिक्षा नियमावली निर्माण भएको हुँदा अब कार्यान्वयन हुनेछ । कक्षा र विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दी व्यवस्थापन गर्न र विद्यालय गाभ्ने वा स्तर मिलान गर्ने कार्यका लागि अध्ययन टोली वनाई प्रतिवेदन लिईएको छ ।

– पहिलो पटक स्थानीय तहले कक्षा ८ को आधारभुत तह उत्तीर्ण परिक्षा संचालन गरेको छ ।

– परीक्षा संचालन , शिक्षक छनौट र विद्यालय अनुमति सम्वन्धीकार्यविधि निर्माण गरिएको छ ।

ख) लक्षित वर्ग महिला बालबालिका तथा लैंगिक समानता

– कानूनले प्रतिबन्धित गरेको वाल विवाह, वहु विवाह जस्ता कुरितिको अन्त्यका एवं अन्तर्र्रािष्ट्रयवाल अधिकार सम्वन्धी सचेतना मुलक कार्यक्रममा वाल क्लवहरुबाट छानिएका २५ वालवालीका हरुलाई ५ दिने तालीम प्रदान गरीएकोछ ।

– एकल विधवा महिलाहरुको आयआर्जनमा वृद्धि गर्न , एकल महिलाहरुको तथ्यांक संकलन गर्न उनीहरुको क्षमता वृद्धिका लागि आवश्यक तालिमको व्यवस्था मिलाईने कार्यक्रम रहेकोमा क्षमता वृद्घिका लागि कार्यालयमा कम्प्युटर प्रदान गरिइको छ साथै एकल महिला दिवश मनाउने कार्यक्रममा सहयोग भएको छ ।

– नगर क्षेत्र भित्र रहनु भएका जेष्ठ नागरिकहरुको सम्मानको लागि चालु आ.व.को दशैं देखि नै लागू हुने गरि ८० वर्ष पूरा भएका जेष्ठ नागरिकहरुलाई प्रत्येक वर्ष वार्षिक रु. २००० (दुई हजार) का दरले दशैं खर्च उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गरिसकिएको छ ।

– लैंगिक एवं जातिय विभेद न्यूनिकरण गर्नका लागि सचेतना मुलक कार्यक्रम महिला विकास शाखा मार्फत संचालन गरीएको छ ।

– वालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागी जिल्ला वाल सञ्जाल र सूचक पूरा गर्न सहयोग गर्ने कार्यालय, संघ संस्थासंग समन्वय गरी आगामी ४ वर्ष भित्रमा खाँदवारी नगरपालिकालाई बालमैत्री नगरपालिका बनाइने निती लिइने कार्यक्रम रहेकोमा आगामी वर्ष निती निर्माण गरि कार्यान्वयन गरिनेछ ।

– बालवालिकाहरुलाई सहभागितामुलक योजना पद्दती र नगर विकासको विविध पक्षहरुमा सहभागी गराउन र बाल अधिकारलाई प्रवर्धन गर्नका लागि नगर बाल सञ्जालको पुनरगठन गरिने योजना रहेकोमा नगर वालसंजाल गठन भईसकेको छ ।

– नगर क्षेत्रभित्रको महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक तथा साँस्कृतिक रुपले सशक्तिकरण गर्दै नगर विकासमा समान रुपमा सहभागिता जनाउन सक्ने अवसरको सृजना गरिनेछ ।

– महिलाहरुको राष्ट्रिय पर्व तिज कार्यक्रमलाई सँस्कृति संरक्षणसँग आबद्ध गरि मनाउन सचेतना कार्यक्रम तयार गरिने छ साथै महिला हिंसा विरुद्धको १६ दिने अभियान, अन्तर्राष्ट्रि महिला दिवस मनाउन विशेष कार्यक्रम सन्चालन गरिने छ । घरेलु हिंसा न्यूनिकरण गर्न र पिडित महिलाहरुलाई न्याय एवं क्षतिपूर्ति दिलाउन विशेष पहल गरिने ।

– समूह मार्फत सन्चालन गरिने सामाजिक तथा आर्थिक समृद्धी र जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरुमा महिलाहरुलाई प्राथमिकता दिने व्यवस्था मिलाईने छ ।

– महिला मजदुरहरुले अहिले पनि समान ज्याला नपाईरहेका अवस्थालाई अन्त्य गर्नका लागि समान कामका लागि समान ज्याला अभियान सन्चालन र सरोकारवाला र निर्माण व्यवसायिसँग छलफल गरि ज्यालामा समानता कायम गर्न पहल गरिने कार्ययोजना रहेकोमा एफ.एमहरु संग अन्तर्कृया भएको छ ।

ग) खेलकुद सम्वन्धमा

– नगरमा एउटा पनि व्यवस्थित किसिमको रंगशाला नभएकोले व्यवस्थित रंगशाला निर्माण गर्न नेपाल सरकार एवं दातृ निकायसंग अनुरोध गरिन कार्ययोजना रहेकोमा खाँदवारी र पाँमाको खेलमैदानको डि.पि.आर. निर्माणका लागि प्रस्ताव पठाईएको छ ।

– नगर स्तरीय खेलकुद विकाश समिति गठन गरि खेलकुद क्षेत्रलाई व्यवस्थित गरिने योजना अन्तर्गत खेलकुद विकाश समिति गठन गरिसकिएको छ ।

घ) स्वास्थ्य तथा जनसंख्या सम्वन्धमा

– नागरिकहरुको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई नगरपालिका क्षेत्रभित्रका नागरिकहरुले सहज रुपमा पहुँच प्राप्त गर्न सकुन भन्ने उद्देश्यले प्रथम कार्यपालिका बैठकबाट निर्णय भएको स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग माग गरि सकिएकोेमा आगामी वर्षदेखि कार्यान्वयन हुनेगरि उक्त कार्यक्रम स्विकृत भईसकेको जानकारी प्राप्त भएकोछ । हाल सन्चालनमा रहेका स्वास्थ्य सँस्था तथा नगर स्वास्थ्य केन्द्रहरुको पूर्वाधार तयार गर्ने कार्यक्रम अन्तर्गत सेखाहा नगर स्वास्थ्य केन्द्रको भवन तला थप गर्ने कार्य भएको छ । खाँदवारी अस्पताल ५० शैयाको जिल्ला अस्पत्ताल स्वीकृत भै सकेकोले त्यसको लागि आवश्यक पर्ने जमिन थप गर्न कृषि सामग्री संस्थान र कृषि कार्यालयको नाममा रहेको पशुसेवा कार्यालयको जमिन अस्पत्तालको नाममा हस्तान्तरणका लागि मन्त्रालयमा सिफारीस गरिएकोछ । शहरिविकाश विभाग मार्फत टेण्डर भई भवन निर्माण प्रकृया अगाडि वढेको छ ।

– स्वास्थ्य क्षेत्रको सुधारका लागि नगरपालिकाका सवै वडाहरुमा नगर स्वास्थ्य केन्द्र स्थापना गरि संचालन गर्न आवस्यक जनशक्ति समेतको ब्यवस्था गर्दै क्रमश कार्यान्वयन गरीने योजना रहेकोमा वडा नं. २ को चेवावेंसीमा नगर स्वास्थ्यकेन्द्र स्थापना गरि संचालन भई सकेको छ ।

– नगर क्षेत्र भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुमा २४ सै घण्टा प्रशुति सेवा संचालन गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग समेत समन्वय गरि क्रमश व्यवस्थापन गरीनेयोजना रहेकोमा ४ वटा स्वास्थ्य संस्थाहरुमा संचालन भईरहेको छ । बाँकी ४ वटामा आगामी वर्ष ब्यवस्था गरिने छ ।

– नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको अगुवाईमा निःशुल्क स्वास्थ्य शिविर संचालनको व्यवस्था मिलाईनेकार्य योजना रहेकोमा थोरै मात्र प्रगति भएको छ ।

– नगर भित्र रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहित गर्न नगरले निश्चित रकमको ब्यवस्था मिलाउने योजना अन्तर्गत प्रति स्वयंसेविका रु ७००० ।– एकमुष्ट उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ ।

ङ) सहकारी तथा गैह्र सरकारी संस्था सम्वन्धमा

– अर्थतन्त्रको ३ खम्बे नीति अनुसार नगर क्षेत्रभित्र सन्चालनमा रहेका वित्तिय तथा कृषि सहकारीलाई रोजगारी उन्मुख गराउने तर्फ आवश्यक पहल गरिने छ । सहकारीको गुणात्मक वृद्धिलाई सहयोग पुग्ने गरि स्थापनामा प्रोत्सान, सन्चालनमा सहयोग र नियमन गर्ने नीति लिइने छ । सहकारीहरुको व्यवस्थापनमा एकरुपता कायम गर्नका लागि नगरस्तरीय सहकारी सञ्जाल निर्माण गर्न पहल गरिने कार्ययोजना रहेकोमा सहकारी डिभिजन कार्यालय धनकुटाबाट सवै सहकारी संस्थाहरुको फायल सहितको विवरण प्राप्त भईसकेको छ । दोश्रो नगर सभाले सहकारी ऐन पारीत गरिसकेको छ । अव कार्यविधि वनाई कार्यान्वयन गरिने छ ।

वातावरण तथा विपद् ब्यवस्थापन तर्फ

क) फोहोर मैला ब्यवस्थापन सम्वन्धमा

– खाँदबारी नगरपालिकाको क्षेत्र विस्तार सँगै वजार समेत विस्तार भएको कारण मौजुदा ल्याण्ड फिल्ड साइटको पूर्वाधार निर्माण गर्नका लागि नगरको बजेटले मात्र सम्भव नहुने भएको हुँदा फोहोर मैला प्राविधिक सहयोग केन्द्रसँग आवश्यक व्यवस्थापनको लागि विशेष पहल गरिने छ साथै अन्य स्थानहरु मानेभञ्ज्याङ बजार र सित्तलपाटी लाई समेत मध्यनजर गर्दै अर्को ल्यण्डफिल्ड साइटको खोजि गरिनेछ भन्ने योजना रहेकोमा खानेपानी तथा ढलनिकास विभाग संगको समन्वयमा वृहत ढल व्यवस्थापन को योजना स्विकृत भई डि.पि.आर. निर्माणका लागि सर्भेक्षणको कार्य भईरहेको छ ।

– हाल खाँदवारी नगरपालिकाद्वारा फोहोर मैला व्यवस्थापन सम्बन्धि अरुण भ्याली मल्टी प्रपोज प्रा.ली. सँग गरीएको सम्झौता लाई अझ प्रभावकारी वनाइने योजनालाई कार्यान्वयन गर्न टोलविकाश संस्थाहरुलाई जिम्मेवार वनाईने छ भने बजार क्षेत्रका घरधनीहरुलाई फोहोरको कार्ड वनाई तथा नविकरढा गराई नियमन गरिनेछ । डष्ट विन खरिद गरि वजार क्षेत्रमा क्रमश वितरण गरिदैछ ।

ख) नगरको सौन्दर्यता र संरक्षण सम्वन्धमा

– खाँँदवारी नगरमा मौजुदा पार्कहरुको थप भौतिक सुधार गरी सबै वडाहरुमा सम्भाब्य स्थानको खोजि गरी योजना सहित क्रमसः पार्क, पिकनिक स्पट निर्माण गर्न पहल गरीनेछ । नगर क्षेत्र भित्र रहेका धार्मिक एवं सांस्कृतिक धरोहर, कला साहित्य, ऐतिहासिक पुरातात्कि वस्तु, इतिहास लगायत प्राचिन कलात्मक झल्कने वस्तुहरुको संरक्षण गरि त्यसलाई आन्तरिक पर्यटन प्रवद्र्धनसँग जोडि कार्य गर्न आवश्यक व्यवस्था मिलाई संरक्षण गरि त्यसलाई आन्तरिक पर्यटन प्रवद्र्धनसँग जोडि कार्य गर्न आवश्यक व्यवस्था मिलाईने योजना रहेकोमा आगामी वर्ष नगरको पर्यटन गुरुयोजना तथा मनकामनाको डि.पि.आर. निर्माण गर्ने बजेट ब्यवस्था भईसकेको छ ।

– नगरपालिकाले संरक्षण र संबद्र्धन गर्नु पर्ने नगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक जग्गा–जमिन, ऐलानी, पर्ति, सार्वजनिक पोखरी, पाकर्, पाटी पौवा, चौतारा, मठ मन्दिर बौद्ध, विहार, गुम्वा, मस्जिद, धारा, कुवा, सडक, पेटी, ढल नाली लगायतमा गरिएको अतिक्रमण तथा अवैध रुपमा निर्माण गरिउका संरचना घर टहरा हटाउने क्रममा नापी शाखा बाट नगरपालीका भरीको नक्सा र सरकारी सार्वजनिक जमिनको विवरण लिईसकिएको छ ।

ग) बिपद व्यवस्थापन सम्वन्धमा

– दमकल संचालनका लागि दमकल पुग्न सक्ने विभिन्न क्षेत्रमा सम्भाव्यताको खोजि गरि पानी पोखरीहरुको निर्माण पहल गरिने योजना कार्यान्वयन हुन बाँकी छ ।

–  नगरका प्रत्येक वडाहरुमा विपद पुर्वतयारी योजना निर्माण गरि कार्यान्वयन गरिने योजना निर्माणको काम भईरहेको छ ।

–  नगरपालिकाले विपद जोखिम योजना वनाई स्विकृत गर्ने र कार्यान्वयन गर्ने व्यवस्थामा योजना बनाउने काम भईरहेको छ ।

–  खानेपानीको हटलाईन पाईपमा दमकलको सकेट जोड्न मिल्ने गरि ठाउँ ठाउँमा ब्यवस्था मिलाउने र पुर्व तयारी को अवस्थामा राख्ने व्यवस्था मिलाउन बाँकी छ ।

–  नगरपालिकामा विपद ब्यवस्थापन कोषको स्थापना भईसकेको छ ।

राजश्व प्रशासन सम्वन्धी नीती

– वहाल कर वापत केन्द्र सरकारले उठाउँदै आएको १० प्रतिशत रकम नगरपालिकाले नै उठाउन शुरु भएको छ । आगामी वर्ष प्रभावकारी रुपमा लागु गरिनेछ ।

– व्यापार व्यवशाय कर आयश्रोतको एउटा मुख्य श्रोत भएकाले उद्योग वाणिज्य संघ संग सहकार्य गरी दर्ता नविकरण र अनुगमन गर्ने कार्यमा सहकार्य गर्ने नीती अन्तर्गत ब्यवसाय दर्ताको काममा उद्योग वाँणिज्य संघ संग सहकार्य भएको छ ।

आर्थिक वृद्धि तथा पर्यटन विकाससंग सम्वन्धित नीती

– खाँदवारी नगरपालिकालाई आर्थिक सम्वृद्धिमा टेवा पुगोस भन्ने उद्देश्यले पर्यटन पुर्वाधारको कार्यमा विशेष ध्यान दिइनेछ । धार्मिक पर्यटन प्रवद्र्धनको रुपमा मनकामना मन्दिर पुर्वाधार व्यवस्थापनको लागि गुरुयोजना निर्माणमा सरोकारवाला सवैसँग छलफल गरी अगाडी बढाइने व्यवस्था मिलाईने योजना लाई पर्यटन मन्त्रालय मार्फत रु ५० लाख आगामी वर्ष कार्यान्वयन हुने गरि बजेट प्राप्त भएको छ । साथै मनकामना वृहत्तर विकाश समिति निर्माण गरि मनकामनाको नियमन गर्ने ऐन निर्माण भईरहेको छ ।

– नगरको एकिकृत पर्यटन पुर्वाधार निती तयार गरिनेछ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि पर्यटन प्याकेज तयार गर्ने कार्यलाई नगरको बजेटले मात्र सम्भव नहुने भएकोले विभिन्न सरकारी निकाय, दातृ संस्था सँग समन्वय गरिनेछ । मनकामना मन्दिर एवं एकादशी बजार संरक्षण, पोखरी बजार, अरुणथान देखि हरेलो हुँदै छ्यांकुटी सम्म जाने ५००५ सिंडी निर्माण र छ्यांकुटी क्षेत्रमा भ्यू टावर निर्माण गरी मकालु हिमालको दृश्यावलोकन गरी सेकाहा क्षेत्रमा होमस्टे बास बस्न सक्ने गरी पर्यटन प्याकेज निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।

उल्लेखित पर्यटन प्याकेजमा चारधाम, भ्यू छोलिङ गुम्बा, जलेश्वरधाम, थुम्कीडाँडा अवस्थित शिव मन्दिर र भ्यू टावर, फिरफिरे डाँडा, थाले डाँडा, वराजु थान, रमिते डांडा, अमृत्वेर शिव मन्दिर, चमेरे गुफा तथा ज्याङरिङ धारा जस्ता धार्मिक तथा पर्यटकिय विषयहरु समेटिने व्यवस्था मिलाइने छ । साथै नगरक्षेत्रमा प्याराग्लाइडिङ र Rock Climbing जस्ता क्षेत्रको सम्भाव्यता अध्ययन गरि क्रमश पर्यटन प्रवद्र्धनसँग जोडिने योजना रहेकोमा ५००५ सिंडी निर्माणमा रु ४ लाख द्वारा थप सिंडी निर्माण भएको छ । वडा नं. २ को चारबरमा भ्यू टावर निर्माण भएको छ । ¥याफ्टीङ र प्याराग्लाईडिङको परिक्षण भई व्यवसाय सुचारुहुने क्रममा छ ।

कृषि तथा पशु तर्फ

– खाँदवारी नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन कृषि नीती तयार गरिनेछ साथै सोही नीतीका आधारमा लगानी गर्दै जाने व्यवस्था मिलाईने योजना पुराहुन सकेको छैन ।

– सुन्तला, जुनार र कागती खेती गर्ने कृषकहरुलाई विरुवामा शतप्रतिशत अनदान दिने नीती लाई क्रमशः अगाडी बढाइनयोजना रहेकोमा यो वर्ष ५० प्रतिशत अनुदान ब्यवस्था गरि सुन्तलाका ६००० र कागतिका ३००० विरुवा वितरण गरिएको छ ।

– भु–उपयोग नीती निर्माण गरी माटो परिक्षणका आधारमा कृषिको पकेट क्षेत्र निर्धारण गर्ने र सोही अनुसारको व्यवसायिक खेती प्रणालीलाई अवलम्वन गर्ने गरी कम्पोष्ट मल र प्राङ्गारीक मललाई निश्चित रकम अनुदानको रुपमा व्यवश्था गर्ने नीती लिइने निति अन्तर्गत वडा नं. १० मा माटो परिक्षण केन्द्र स्थापना भएको छ ।

– स्वस्थ मासु खान पाउने नागरिकहरुको आधारभूत अधिकारको संरक्षण गर्दै नगर क्षेत्रमा बधशाला निर्माण गर्ने कार्य प्रारम्भ भै सकेकोले यसलाई निरन्तरता दिई क्रमशः कार्य अगाडि बढाईने योजना सम्पन्न भई सकेको छ ।

– गोठ सुधार र कम्पोष्ट मलमा कृषकहरुलाई आवश्यक अनुदानको व्यवस्था मिलाई सहयोगको गरिने कार्य सम्पन्न भएको छ ।

– नगर क्षेत्रमा माछा पालन गर्न चाहने कृषकहरुलाई आवश्यक सहयोगको व्यवस्था मिलाईने योजना अन्तर्गत केहि पोखरीहरु निर्माणमा सहयोग गरिएको छ

सुशासन सम्वन्धि नीती

– नगरपालिका स्थानीय तहमा रुपान्तरित भई जनप्रतिनिधि समेत बहाल भएता पनि हालसम्म नेपाल सरकार बाट पर्याप्त कर्मचारी उपलव्ध नगराएको कारण वडा कार्यालयबाट सेवा प्रवाह प्रभावकारी रुपमा हुन नसकेकाले यथासक्य छिटो कर्मचारी पठाइदिन माग गर्दै आगामी दिनमा वडा कार्यालयलाई सवै प्रकारका सुविधायुक्त वनाई छिटो छरितो सेवा प्राप्त गर्न सक्ने अवश्थाको सुनिश्चितताको प्रदान गरिने योजना अन्तर्गत सवै वडालाई पर्याप्त हुनेगरि छुट्टै सर्वर राखि ईन्टरनेट र इन्ट्रानेट को ब्यवस्था गरिदै छ ।

– नगरपालिकाको गुनासो पेटीका नागरिक वडापत्र सवैले देख्ने गरी व्यवस्थित गरिने छ । वडा कार्यालयहरुमा समेत गुनासो पेटीका, नागरिक वडापत्र राख्ने व्यवस्था मिलाइने योजनामा डिस्प्ले बोर्ड , मोवाईल एपको र फेसवुक पेजको ब्यवस्था गरिएको छ ।

– नगरवासिले तिरेको करको पारदर्शितालाई ध्यान दिंदै राजश्व र खर्चलाई मासिक रुपमा सार्वजनिक गर्ने व्यवश्था मिलाइनेछ । कार्यालयमा सुचना दिने अधिकारी, गुनासो सुन्ने अधिकारी तथा कार्यालयबाट सम्पादन गर्ने कामलाई जनमुखी र उत्तरदायी बनाउन प्रवक्ता तोकी व्यवस्थित गरिनेछ । नगरपालिकाकोे Website लाई व्यवस्थित गरी सवै प्रकारका सुचनाहरु Website मा राख्ने व्यवश्था मिलाइनेछ साथै नगर बजेट एवं पुस्तिकाको रुपमा “खाँदवारी विकास दर्पण” पुस्तिका छपाई सार्वजनिक गरिने योजना मध्ये वेभसाईडलाई ब्यवस्थित गरिएको छ । सुचना आई. टी ईन्जिनियर र सुचना अधिकारीको ब्यवस्था गरिएको छ ।

स्थानीय तहबीचको समन्वय सम्बन्धी नीति

– सिमाना जोडिएका स्थानीय तहहरुसँग एकिकृत विकासको अवधारणा अभिवृद्धि गर्नका लागि विविध विषयहरु आथिर्क, सामाजिक, पर्यटन र पूर्वाधार विकासका विषयमा साझेदारी गर्ने नीति अवलम्बन गरिने योजना अन्तर्गत पाँचखपन र चैनपुर नगरपालीका संग समन्वय गरि प्राकृतिक श्रोतहरुको उपयोगका लागि वातावरणिय प्रभाव अध्ययन गरि प्रतिवेदन तयारीको क्रममा छ ।

सम्बन्धित समाचार