कोसी नदिमा अर्को जेटबोट थपियो, बराहक्षेत्रको चतराघाटबाट काबेली नदीसम्म चलाइने



कोसी नदीमा जेटबोट सञ्चालन गर्ने अर्को कम्पनी थपिएको छ । सुनसरीको बराहक्षेत्रस्थित चतराघाटबाट पश्चिममा दोलालघाट र पूर्वमा ताप्लेजुङ पाँचथरबीचको काबेली नदीसम्म सञ्चालन गर्न लागिएको हो ।

बराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रालिले नयाँ बोट सञ्चालनमा ल्याएको हो । हाल कोसीमा सुनकोशी रिभर कम्पनीको जेटबोट, वराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिको जेटबोटले सेवा दिइरहेको छ ।

बराक्षेत्र मरिनले २५ जना क्षमताको मध्यमस्तरको प्यासेन्जर बोट एचडी ८।६ जेटबोट परीक्षण गरिरहेको छ । मरिनसहित कोशीमा तीनवटा जेटबोटले जलयातायात सेवा दिइरहेका छ ।

करिब २५ किलोमिटरको दूरीमा रहेको जल मार्गबाट भोजपुर, धनकुटा र उदयपुरका विकट भेगका बासिन्दा लाभान्वित हुँदै आएका छन् । १० घण्टासम्म हिंड्नुपर्ने भौगोलिक अवस्थालाई जेटबबोटले २० मिनेटमै समेटिदिएको छ ।

डेढ दशकअघिसम्म शप्तकोसीमा जेटबोट मार्फत जलयातायातको कल्पना कसैले पनि गरेका थिएनन् । पछिल्लो समयमा एकपछि अर्को कम्पनीले जेटबोट सञ्चालनमा ल्याउन थालेपछि भोजपुर, उदयपुर, धनकुटा र सुनसरी क्षेत्रका बासिन्दका लागि जलयातायातले फड्को मारेको छ ।

पछिल्लो कम्पनीले जापानिज यामाहा इञ्जिनयुक्त २५ जना यात्रु क्षमता भएको १८ सिटको २३० एचपी प्यासेन्जर बोटको परीक्षण गरिरहको जनाएको छ । सञ्चालक नवीन पौडेलले भने, ‘पहिला हुँदै नहुँदा आवश्यकता महसुस भएन । अहिले कोसीमा जलयातायातको सम्भावना बढेकाले चासोको विषय बनेको छ । हामीले आन्तरिक रबाह्य पर्यटकलाई लक्षित गरेर यो सेवा भित्र्याएका हौं ।’

कम्पनीले परीक्षण क्रममा कम्तीमा आठजना क्याप्टेन उत्पादन गर्ने गरी चिनिया प्रशिक्षकबाट हाल तीन जनालाई बोट संचालनका लागि प्रशिक्षण दिइरहेको पौडेलले बताए । उनकाअनुसार पुस पहिलो सातादेखि व्यावसायिक सेवा सुरु हुने छ । कम्पनीले सप्तकोशी नदीमा ४ वटा प्यासेन्जर बोट सञ्चालन गर्न अनुमति लिएको छ ।

रातको समयमा समेत कोशीमा जलसफारी गर्न सकिने गरी फक्स लाइटयुक्तको मेघा फोन जडित जेटबोट परीक्षण भइरहेको पौडेलले बताए । वराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रालिले पर्यटन मन्त्रालयको स्वीकृति, स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा वराहक्षेत्रको पर्यटन विकासका लागि काम गर्ने
पौडेलले बताए ।

चक्रघट्टीमा एक रिसोर्ट र १० जना क्षमताको दुइबोट, २५ जना क्षमताको र सयजना क्षमताको चार जेटबोटसहित कुल ८ करोड १२ लाख रुपैयाँ बजेट लगानी रहेको बताइएको छ ।

चतरादेखि सिम्लेसम्मका लागि सयजना क्षमताको एयर कन्डिसन, डिजिटल सूचना पाटी, लाइट, ८६ सय एचपी क्षमताको जेटबोट पनि क्याप्टेन तयारी भएपछि चाँडै सञ्चालन गर्ने पौडेलले बताए । उक्त बोट चीनको साङ्घाइबाट नेपाल ल्याइपुर्‍याउँदा ३ करोड रुपैयाँ लागत पुगेको कम्पनीले जनाएको छ ।

पौडेलका अनुसार साना १० जना क्षमताको जेटबोट नदीको गहिराइ कम भएका ठाउँमा जान सकिने, आपतकालीन अवस्थामा उद्धार गर्न सकिने विशेषता भएकाले दोलालघाट र काबेलीसम्म पुर्‍याउने लक्ष्य रहेको छ ।

उनले ती बोटलाई प्राकृतिक विपत्तिमा मावनीय उद्धारको काममा पनि प्रयोग गर्न मिल्ने भएकाले तिनलाई पनि संचालन गर्ने तयारी गरेको बताए । प्राकृतिक विपतका अवस्थामा यसबाट निशुल्क सेवा दिन सक्ने पौडेलले बताए । कम्पनीले जेटबोटको पोर्ट निर्माणपनि तिव्रगतिमा गरिरहको छ ।

कम्पनीले वराहक्षेत्र नगरपालिकाको प्रवद्र्धनमा जेटबोट ल्याएको हो । बराहक्षेत्र नगरपालिकाले १ वर्षका लागि करमिनाहा गरेको नगरप्रमुख निलम खनालले बताए । नगरपालिकाले पर्यटन विकासका लागि वराहक्षेत्रका सरकारी पर्तीजग्गालाई भाडामा दिने निर्णय गरेको खनालले बताए ।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको वराहक्षेत्र नगरपालिकामा पर्ने सप्तकोशीको नयाँ पुलबाट भोजपुरको चुवारा र धनकुटाको सिम्लेसम्म तीन वटा कम्पनीका बोट सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई जलयातायातको सुविधा हुने र आन्तरिक र बाह्य पर्यटकले एडभेन्चर यात्रा पनि गर्न पाउने भएकाले नगरपालिकाले साथ दिएको खनालले बताए ।

सम्बन्धित समाचार