सङ्खुवासभा ः सङ्खुवासभामा एक बर्षको अवधि पुरा नहुँदै सरकारी स्वस्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन गराउँने महिलाको सङ्ख्या ९ सय ६२ जना पुगेको छ । जिल्लामा यही आषाढ ४ गते बुधवार समाज बिकास केन्द्र सोडेकको आयोजना र आइपास नेपालको सहयोगमा सञ्चालन गरिएको सुरक्षित गर्भपतन सेवासम्वन्धि पत्रकारहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यस आ.ब. ०७५÷७६ को हालसम्म खाँदवारी अस्पतालबाट सबैभन्दा बढी ४ सय ५६ जनाले गर्भपतन गराएका छन् । त्यसैगरी चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय ३९ जनाले गर्भपतन गराएका छन् । वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय ४ जनाले, बाह्रबिसे हेल्थपोष्टबाट ४६ जनाले, माम्लिङ हेल्थपोष्टबाट ४५ जनाले, आँखिभूइँबाट ३५ जनाले, गोलाबाट ३० जनाले, पाथिभरा हेल्थपोष्टबाट २८ जनाले, सितलपाटी हेल्थपोष्टबाट २७ जनाले, तुम्लिङ्टार हेल्थपोष्टबाट १९ जनाले, नुम प्राथमिक स्वास्थ्य केन्द्रबाट १७ जनाले, मत्स्यपोखरीबाट ९ जनाले, हटिया हेल्थपोष्टबाट ६ जनाले र भरखरै मात्र गर्भपतनको लागि आधिकारिकता पाएको मादी हेल्थपोष्टबाट १ जनाले गर्भपतन गराएका छन् ।
आइपास नेपालको बार्षिक प्रतिवेदन सन् २०१७ का अनुसार असुरक्षित गर्भपतनका कारण बर्षेनी ४४ हजार महिलाको मृत्यु हुने गरेको छ । त्यसैगरी डब्लुएचओले असुरक्षित गर्भपतनकै कारण ५ देखि १३ प्रतिशत मातृ मृत्युको कारण बनिरहेको सार्वजनिक गरेको छ । डब्लुएचओले ५० लाख महिलाहरू जटिलताको कारणले विभिन्न रोगहरूबाट ग्रसित हुन्छन् र २ लाख २० हजार बालबालिकाहरू टुहुरा हुन्छन् भन्ने तथ्याङ्क सन् २०१२ मै सार्वजनिक गरेको हो । नेपालमा सुरक्षित गर्भपतनको स्थितीमा सुधार गर्नकै लागि आइपास नेपाल र समाज बिकास केन्द्र सोडेक सङ्खुवासभाका विभिन्न पालिकाहरूमा पुगेर जनचतनाका कार्यक्रमहरू गरिरहेका छन् । यी संस्थाहरूकै अगुवाईमा जिल्लाका ५ वटा एफ.एम.बाट गर्भपतनसम्वन्धि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने, सडक नाटक लगायतका कार्यक्रमहरू हुँदै आएका छन् । सुरक्षित गर्भपतनको आँकडा बढ्नु भनेको असुरक्षित गर्भपतन घट्नु हो भन्ने आयोजकहरूले धारणा राखेका छन् ।
प्रतिक्रिया