रुद्राक्षको सुरक्षा गर्न बगानमै सिसि क्यामेरा



याफु गाउँमा बगान तिर फर्काएर जडान गरिएको सिसि क्यामरा । 

सङ्खुवासभा । पछिल्लो समय रुद्राक्षको बोटमै चोरी हुने र क्षति पुराउन थालेपछि बगानमै सिसि क्यामरा जडान गरिएको छ । सिलिचोङ गाउँपालिका ५ याफुको एक बगानमा हालै सिसि क्यामरा जडान गरिएको हो ।

गुणस्तरिय फल दिने रुद्राक्षको बोटमा क्षति पुराउने घटना बढेपछि किसानले रुद्राक्षको बगानमै क्यामरा जडान गरेको हो । हालै मात्र एक बगानमा ८० हजार रुपैयाँ खर्चेर याफुका किसान डम्बर बहादुर राईले क्यामरा जडान गर्नुभएको हो । उहाँले ५ वटा क्यामरा जडान गरेका हुन् । रुद्राक्षको कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस बर्ष क्यामरा जडान गर्नुपरेको राईले जानकारी दिनुभयो । यस बर्ष कुरुवासँगै सिसि क्यामरा राख्नुभएको हो । २६ बोट रुद्राक्ष भएको बगानमा यस बर्ष तीन जना कुरुवासँगै सिसि क्यामरा राखेको उहाँले जानकारी दिनुभयो । कुरुवाले रुद्राक्ष र सिसि क्यामरा दुवैको सुरक्षा दिने उहाँले बताउनुभयो ।

गत बर्ष याफु गाउँमा नै बहुमुल्य रुद्राक्ष फल्ने एक बोटमा आराले काटेर नष्ट पारिएको थियो । बार्षिक झण्डै करोड मुल्य बराबरको रुद्राक्ष फल्ने बोटमा अज्ञात समुहले क्षती पुराएपछि गाउँका अरु कृषकहरु पनि त्रसित बनेका छन् । त्यस्तै, पाँचखपन नगरपालिकाको स्याबुन गाउँमा पनि हालै रुद्राक्षको जरामा विसादी हालेर क्षति पुराईएको छ । गुणस्तरिय रुद्राक्ष फल्ने यहाँका बगानहरुमा सुरक्षाका लागि प्राय सवैले राम्रो पारिश्रमिक दिएर कुरुवा राख्ने गरेका छन् । निश्चित समयको लागि ठेक्का लिएका ठेकेदारहरुले पनि कुरुवा राख्ने गरेका छन् ।

जिल्लाको अन्य क्षेत्रहरुमा पनि रुद्राक्षको सुरक्षाकै लागि सिसि क्यामरा जोडिएको छ । खाँदबारी, चेवावेशी, स्याबुन, धुपु लगायतका स्थानहरुमा पनि सिसि क्यामरा जडान गरिएको हो । गोप्य ठाउँमा क्यामरा जडान गरिएपछि कोहि कसैले क्षति पुराए पनि कारबाहि गर्न सहज हुने कृषक र ब्यवसायीहरुको भनाई छ । क्यामरा राखेको हल्लाले नै आधा प्रतिशत चोरि हुने सम्भावना टर्ने उनीहरुको बुझाई छ । सिसि क्यामरा राखेपछि रुद्राक्ष कुरुवाले रुद्राक्ष भन्दा पनि क्यामराको हेरचाह बढि गर्न लगाईएको पाँचखपन ७ का कृषक विजय याक्खाले बताउनुभयो ।

रुद्राक्ष चिन र भारत दुवै देशमा निर्यात हुदै आएको छ । मुखदार रुद्राक्ष भारत तर्फ र थोरै मुख भएको तर आकारमा ठुलो रुद्राक्ष चिन निर्यात हुदै आएको छ । मुखदार मध्ये २१ मुखे सवैभन्दा धेरै मुल्यमा विक्रि हुदै आएको छ । रुद्राक्ष ब्यवसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विसुङ्खेका अनुसार २१ मुखे रुद्राक्ष प्रतिगोटा ३० देखि ६० लाख रुपैयाँसम्ममा विक्रि हुदै आएको छ । त्यस्तै थोरै मुख भएको तर आकारमा ठुलो (२० एम्एम् भन्दा माथी) रुद्राक्ष प्रतिकेजी २० हजारदेखि डेढ लाख रुपैयाँसम्ममा विक्रि हुदै आएको छ ।

सम्बन्धित समाचार