विषालु च्याउ कसरी चिन्ने ?



वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ । च्याउ अति नै पौष्टिक तत्व पाइने स्वादिस्ट तरकारी हो । तर, जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय प्रजातिका च्याउ खाँदा ज्यानै जान सक्छ । विषालु च्याउको सेवनबाट विश्वभरी नै मानिसको मृत्यु हुनेगर्छ । नेपालमा पनि पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउको सेवन गरेर धेरैले ज्यान गुमाएका छन् ।

नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्, जसमध्ये १ सय १० प्रजातिका च्याउ मात्र खानयोग्य मानिन्छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन गाह्रो हुन्छ । सामान्यतया खानयोग्य च्याउको माथि रहेको छाता चिप्लो हुने गर्छ । यदि खस्रो भएमा उक्त च्याउ विषालु हुन्छ । वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानुअघि विचार पुर्याउनुपर्छ । तितो स्वाद, नमिठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुन सक्छन् । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् । विषालु च्याउ धेरै समयसम्म रहन्छ ।

जबकि खानयोग्य च्याउ केहीदिनपछि कुहिएर जाने गर्छ । विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ । यो हेर्दा सफा र आकर्षक देखिन्छ । कहिलेकाँही खानयोग्य च्याउ पनि भण्डारण गर्ने तरिका नमिल्दा विषाक्त हुनसक्छ ।

विषालु च्याउ खाँदा देखिने लक्षण

च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । कतिपय च्याउ सेवन गर्दा व्यक्तिको तुरुन्तै मृत्यु हुने गर्छ भने कतिपयमा विस्तारै स्वास्थ्य समस्या देखिन्छ । विषालु चयाउ खाँदा सुरुमा वान्ता, पखाला, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखापर्छ । यसपछि विरामीलाई केही सन्चो नभएको जस्तो महसुस हुन्छ । विषालु च्याउ खाइसकेपछि यसको विष शरीरको कलेजोसम्म पुग्छ । पित्तसँग मिलेर नयाँ तत्वको निर्माण गर्छ, जसले विस्तारै मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास ल्याउँछ । अन्त्यमा कलेजो र मिर्गौला फेल भई मृत्यु हुने सम्भावना अधिक रहन्छ । यसको असर हरेक उमेर समूहमा फरक हुनसक्छ । जस्तै, बालक तथा वृद्धवृद्धा छिटो प्रभावित हुने गर्छन् ।

कसरी बच्ने ?

हाम्रो समाजमा विषालु च्याउको सेवनबाट हुन सक्ने हानिको बारेमा खासै चर्चा गरिदैन । यसका लागि समाजमा जनचेतना जगाउनु जरुरी हुन्छ । विशेषगरी बालबालिकालाई यसबारे जानकारी गराउनुपर्छ । आफुले राम्ररी चिनेको च्याउ मात्र प्रयोगमा ल्याउनुपर्छ । सकेसम्म विभिन्न प्रजातिका च्याउ मिसाएर पकाउनुहुँदैन । त्यस्तै, संकलन तथा भण्डारण गर्दा सजग रहन आवश्यक रहन आवश्यक हुन्छ । च्याउको विष लागिहालेमा बान्ता गराउने र पखाला लगाउने कुनै विधि अपनाउन सकिन्छ । सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । जसले गर्दा विरामीलाई विषले गर्नसक्ने हानीबाट बचाउन सकिन्छ । तर, चयाउको विषको उपचार निकै कठिन हुने र धेरैजसोको मृत्यु हुने भएकाले यसको प्रयोगर्म सजगता अपनाउन जरुरी छ ।

सम्बन्धित समाचार