गाउँबाट सरेर शहर पस्यो छाउपडी



धनगढी।  छाउपडी कुप्रथा हटाउने भन्दै बहस चल्दै आएको दशक हुन थालिसक्यो तर अझै यसको अन्त्य हुन सकेको छैन्। सरकारी तथा गैर सरकारी निकायले छाउपडी हटाउने भन्दै करोडौँ रकम खर्च गरे पनि अझैसम्म यो कुप्रथा कायमै रहेको पाइएको छ।  पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लासँगै सुगम र सहरमै पनि यो कुप्रथा अंगालेहरु भेटिएका छन्।  प्रदेशको अस्थायी राजधानी धनगढीमै पनि छाउपडी प्रथा अङ्गाल्नेको सङ्खयामा कमी नआएको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालयले जनाएको छ।  ‘हामीले अनुगमन गर्दा सहर बजारमै पनि यो प्रथा मान्नेहरू पाइयो’ राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक झङ्कर रावलले भने, ‘अब छाउपडी पहाडमा मात्रै छ भन्ने अवस्था रहेन,  सरहमा पनि भेटियो।’ अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा छाउपडी गोठमा रहेको  महिला तथा बालबालिका गरी १६ जनाको विभिन्न कारणबाट ज्यान गइसकेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। कैलालीको धनगढीसँगै लम्की, टीकापुर, सुखड, अत्तरिया लगायतका सुगम क्षेत्रमा पनि छाउपडी गोठ देखिएको उनले बताए।  प्रदेशको अस्थायी राजधानी धनगढीमै पनि अहिले छाउपडी मान्नेहरूको सङ्ख्या बढ्दै गएको छ। छाउपडी मान्ने शैली फेरिए पनि छाउपडीको अन्त्य नभएको धनगढीका डम्मरा सुवेदीले बताइन्। ‘अझै पनि छाउपडी कुप्रथा भयावह छ’, उनले भनिन्, –‘शैली फेरिएको छ, तर, छाउपडी रोकिएको छैन्।’ छाउपडी प्रथा अन्त्यका लागि सरकारी  तथा गैह्र सरकारी संस्थाले करोडौँ रकम खर्च गरे पनि त्यसको उपलब्धि देखिएको छैन्। थारु समुदायका कतिपय व्यक्तिले समेत यो प्रथा अँगाल्न थालेको धनगढीका सोनी चौधरीको भनाइ छ। ‘हुन त हाम्रो समुदायमा छाउपडी प्रथा छैन्’, उनले भनिन्–‘तर, धनगढीमा डेरा गरी बस्ने कतिपय अरूका कारण छाउपडी प्रथा मान्न बाध्य छौँ।’ ग्रामीण क्षेत्रमा जस्तो कठोर अवस्था नभए पनि सहरी क्षेत्रमा पनि छाउपडी अझै व्याप्त रहेको छ। शहरमै पनि महिनावारी भएको बेला बस्नको लागि फरक स्थान बनाइएको पाइएको छ। एक महिलाले भनिन्, ‘चार दिन सम्म घर भित्र पस्न पाइँदैन, देउता रिसाउँछन् भन्छन्। हामीलाई सुत्न र बस्नको लागि सानो अर्काे गोठ जस्तो घर बनाइएको छ।’  अझै समय स्थानीय तहले पनि यसको पूर्ण रूपमा अन्त्य गर्न सकेका छैनन्। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘हामी यो कुप्रथा अन्त्यको लागि लागि परेका छौँ। केही कमी त आएको छ।  तर, पूर्ण रूपमा अन्त्य भएको छैन।’ छाउपडी अन्त्यका लागि जनचेतना मूलक कार्यक्रमहरू गरिरहेको बड बताउँछन्। पछिल्लो समय सहरमै पनि छाउपडी देखिन थालेपछि यसको अन्त्यको लागि प्रदेश सभामा पनि कुरा उठेको छ।  ‘हामीले यस विषयमा प्रदेश सभामा पनि कुरा उठाएका छौँ’ प्रदेश सभा सदस्य दुर्गा विकले भनिन्, ‘छाउपडी प्रथा अन्त्य भयो भन्दै गर्दा सहरमै यो प्रथा देखिनु विडम्बना हो।’ छाउपडी अन्त्यका नाममा अनेकौँ सरकारी तथा गैरसरकारी सङ्घ सस्थाहरुले छाउगोठ भत्काएका थिए। तर पनि यो कुप्रथाको भने अन्त्य हुन सकेको छैन्। यसलाई नीति बनाएर अन्त्य गर्नु गर्नुपर्ने अधिकारकर्मीहरू बताउँछन्।
Read more at: http://thahakhabar.com/news/75351?fbclid=IwAR0oaixg2dvGylnTjvarUCqK9Mb6ImlWQdd_U6ODCixy8fIRUkHgnK-wIgY

सम्बन्धित समाचार