मरेको चौपायामा एन्थ्रेक्सको जीवाणु,मानिसमा रोग सर्न नदिन चिकित्सकको सतर्कता



सुनसरी । केही दिनअघि एकै पटक ४० भन्दा बढी चौपायाहरु कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको चरण क्षेत्रमा मृत्यु भएको भेटिएको थियो । उक्त घटनाबारे चौतर्फी चासो र चिन्ता छाइरहेको बेला ती चौपायाहरुमा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेको छ ।

गएको बिहिबार बराहक्षेत्र नगरपालिका ९ मा ४४ वटा चौपाया मृत भेटिएको थियो । ती मृत चौपायाहरुको रगतको नमुना परीक्षणबाट एन्थ्रेक्सको जीवाणु फेला परेको हो । रगतको नमुना पशुपंछी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा परीक्षण गरिएको थियो । परीक्षणबाट एन्थ्रेक्सको जीवाणु भेटिएपछि अहिले त्यसक्षेत्रमा सतर्कता अपनाइएको छ ।

मानिससँगै अन्य चौपायामा पनि यो रोग सर्न सक्ने भएकोले संक्रमण देखिएको क्षेत्रमा चिकित्सक टोली, जिल्ला प्रशासन, जनस्वास्थ्य, प्रहरी र जनप्रतिनिधिको टोली खटिएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले जानकारी दिए । उनका अनुसार बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बरको सिमाना क्षेत्रमा यो रोग फैलिएको भेटिएको छ । यो श्रीलंका टप्पु क्षेत्रमा पर्ने उनले बताए । ‘अहिले त्यस क्षेत्रमा जनप्रतिनिधि, प्रदेशको स्वास्थ्य टोली, वडाअध्यक्ष, प्रहरी र प्रशासनको टोली पुगिसकेको छ,’मेयर खनालले कपुरीन्यूजसँग भने ।

मानिसमा संक्रमण हुन नदिन रोकथामको उपाय पनि अपनाइसकेको मेयर खनालले जानकारी दिए । उनका अनुसार ३ किलोमिटर वरपर चुन छर्कने काम भइरहेको छ । यो रोगको लागि उत्तम उपाय चुन भएको उनले बताए । यस्तै, संक्रमण भएको जस्तो देखिने चौपायाहरुलाई छुट्याएर राम्रा एवं स्वास्थ्यलाई अन्यत्र सार्ने काम पनि भइरहेको मेयर खनालले बताए । ‘५० वटा जति पशु झोक्राएको भेटिएको छ, यी पशुहरु छाडा हुन्, अहिलेसम्म कसैले पनि दाबी गरेको छैन,’मेयर खनालले बताए ।

मानिसमा सर्न सक्ने जोखिम

प्रयोगशालाका डा. सञ्जयकुमार यादवले स्वाइल वर्न डिजिज एन्थ्रेक्सको जीवाणुु फेला परेको जानकारी दिए । डा. यादवले एन्थ्रेक्सको जीवाणु भेटिएको बारेमा केन्द्रीय र क्षेत्रीय निर्देशनालयसहित प्रदेश सरकारलाई समेत जानकारी गराएको बताए । एन्थ्रेक्स जेनेटिक डिजिज भएकोले पशुबाट पशु र मानिसमा समेत सर्न सक्ने चिकित्सकहरु बताउँछन् । समयमा उपचार नभए ज्यान पनि जानसक्छ । संममण तथा प्रभावित क्षेत्रमा रोकथामको लागि तत्काल आवश्यक पहल गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । यो रोग माटो, हावा र पानीबाट सहजै सर्न सक्ने भएकोले मानिसले सावधानी अपनाउन आवश्यक छ । साथै, त्यसक्षेत्रमा सबै पशुहरुमा भ्याक्सिन तत्कालन लगाउन पनि चिकित्सकहरुले सुझाएका छन् ।

सम्बन्धित समाचार