सुनभन्दा पनि निकै महत्वपूर्ण ७० देशलाई चाहिने आँखाको लेन्स नेपालमै



काठमाण्डौ ।नुनदेखि सुनसम्मको लागि विदेशकै भर पर्नुपर्ने नेपालले नुन र सुनभन्दा पनि निकै महत्वपूर्ण आँखाको ज्योति फर्काउने लेन्स विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न पाएका छन् ।

मोतीबिन्दु रोग लागेपछि आँखाको दृष्टि नै गुम्न सक्छ । फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशमा गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र रातमा आँखा नदेख्ने हुन्छ ।

प्रायः बढ्दो उमेरसँगै देखिने मोतीबिन्दु दुर्घटना तथा जन्मजात पनि हुन सक्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल निर्देशक डाक्टर कमलबहादुर खड्का बताउनुहुन्छ । उहाँका अनुसार मोतीबिन्दु भएपछि शल्यक्रिया गरेरै उपचार गर्नुपर्ने हुन्छ । अरु औषधिले मोतीबिन्दु निको हुँदैन । शल्यक्रिया गरेर आँखामा कृत्रिम लेन्स राखेपछि ज्योति फर्किन्छ ।

मानिसको आँखामा प्राकृतिक लेन्स हुन्छ । त्यही प्राकृतिक लेन्स अपारदर्शी भएपछि नदेख्ने समस्या हुन्छ । प्राकृतिक लेन्सलाई झिकेर कृत्रिम लेन्स अर्थात् इक्ट्राअकुलर लेन्स राखिन्छ । नेपालमा कुल जनसंख्याको झण्डै शून्य दशमलव २ प्रतिशत नागरिक मोतीबिन्दुको समस्याबाट पीडित रहेको अनुमान छ ।

विश्वभर हुने अन्धोपनको झण्डै ३३ प्रतिशत आँखाको कमजोरी मोतीबिन्दुका कारणले हुने गरेको छ । तर मोतीबिन्दुबाट दृष्टि गुमाएका बिरामीका लागि चाहिने लेन्स भने नेपालमै उत्पादन हुन्छ । नेपालमा तिलगंगा आँखा प्रतिष्ठानले कृत्रिम लेन्स बनाउने गर्छ । नेपाल दक्षिण एसियामा आँखाको लेन्स उत्पादन गर्ने पहिलो देश पनि हो । लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ चाहिँ अमेरिका र बेलायतबाट आयात गर्ने गरिएको छ ।

सम्बन्धित समाचार