हुण्डी कारोबारमा पुर्पक्षका लागि ६ जना कारागार चलान, मुख्य अभियुक्त फरार



पर्सा ।  अवैध हुण्डी कारोवारको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका आठजनामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। दुईजनालाई भने पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाडेको छ। पर्सा प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानपछि एक अर्ब २८ करोड ४३ लाख ३९ हजार ७२३ रुपैयाँको विगो दाबी गर्दै पर्सा जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो।

अवैध वित्तीय कारोबार (हुण्डी तथा संगठित अपराध) गरेको भनी पर्सा जिल्ला अदालतमा दर्ता भएको ०४६– सी २०००५ को मुद्दामा ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ।  न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासबाट आदेश भएअनुसार सूर्यबहादुर गदाल र राजकपुर साहलाई भने साधारण तारेकमा छोड्न भनिएको जिल्ला अदालत पर्साले जनाएको छ।

 भारत बिहार मोतीहारी जिल्ला पूर्वी चम्पारणका सुनिलकुमार प्रसाद, मोतीहारी, नैनपुरका गुलाव साहसहित नेपालका चन्दनकुमार सर्राफ, राकेशकुमार सिंह, सुजितकुमार साह र घनश्याम सर्राफलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको जिल्ला अदालत पर्साका सूचना अधिकारी भोलानाथ धमलाले बताए।  मुख्य अभियुक्त भनिएका वीरगन्ज–६ माईस्थानचोक छेउको केपी स्वर्ण कला केन्द्र (सुनचाँदी पलस) सञ्चालन गर्ने कन्हैयाप्रसाद सोनार भने फरार छन्। कन्हैयाकै पसलमा गत असार ९ मा पर्सा प्रहरीले अवैध वित्तीय कारोवार भएको आशंकामा छापामारी गरी त्यहाँ संलग्न भएको आशंकामा आठजनालाई त्यही दिन पक्राउ गरेको थियो। पसल सञ्चालक कन्हैयाप्रसाद भने फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। गत असार ९ मा प्रहरीले छापामार कन्हैयाका पसलबाट ४१ लाख ९२ हजार ९०० रुपैयाँ र २ किलो ९० ग्राम चाँदी पनि बरामद गरेको थियो।

सम्बन्धित समाचार