जलविद्युतको ‘हब’ बन्दै सङ्खुवासभा



खाँदबारी । हालै उद्योगपति विनोद चौधरीले सङ्खुवासभामा ४ दशमलव ७२ मेगावाटको मेन्छ्याम जलविद्युत परियोजनाको उद्घाटन गर्नुभएको छ । यो सँगै हाल सङ्खुवासभामा २२ मेगावाटको जलविद्युत उत्पादन भईरहेको छ ।

हाल जिल्लामा सानो क्षमताको मात्र विद्युत उत्पादन हुँदै आए पनि निकट भविश्यमा नै सङ्खुवासभा जल विद्युतको ‘हव’ बन्ने पक्का छ । पाँच हजार मेगावाट भन्दा बढि विद्युत उत्पादन क्षमता भएको सङ्खुवासभामा हाल एक हजार एक सय ६७ मेगावाट क्षमताको जलविद्युत परियोजनाको निर्माण कार्य भईरहेको छ । विद्युत विकाश विभागको तथ्याङ्क अनुसार हाल १५ वटा प्रवर्धक कम्पनीले विद्युत उत्पादनको ईजाजत लिएर निर्माणको काम गरिरहेको छ ।

त्यस्तै, १ हजार २ सय ५८ दशमलव १ मेगावाट बराबरको ५ वटा कम्पनीले विद्युत उत्पादनको अनुमति माग गर्न निवेदन पेश गरिसकेको विद्युत विकास विभागको तथ्याङ्कमा छ । सङ्खुवासभामा १८ वटा परियोजनाको अध्ययनको लागि सर्वे लाईसेन्स लिएर अध्ययन गरिरहेका छन् । उक्त परियोजनाहरु सञ्चालन भए २ हजार ८७ दशमलव ६५ मेगावाट विद्युत उत्पादन हुनेछ ।

यस बाहेक ६ सय मेगावाट क्षमता भएको लोवर अरुण जलविद्युत परियोजना अरुण तेश्रो प्रवद्र्धक सतलज जलविद्युत निगमलाई दिने सरकारले निर्णय गरिसकेको छ । हालसम्मको तथ्याङ्क अनुसार सङ्खुवासभामा ५ हजार १ सय २५ दशमलव ७५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण तथा अध्ययनको क्रममा छ ।

बढिमा ४ बर्ष भित्र राष्ट्रिय प्रसारण लाईन निर्माण भईसक्ने

सङ्खुवासभाको अधिकांश विद्युत उत्पान माथिल्लो क्षेत्रमा छ । जिल्लाको भोटखोला र मकालु गाउँपालिकामा उत्पादित विद्युत केन्द्रीय प्रसारण लाईनमा जोड्नको लागि मकालु गाउँपालिका ४ को हाईटारमा सव स्टेशन निर्माण गर्न लागिएको छ ।

सिलिचोङ र भोजपुरको उत्तरी क्षेत्रमा उत्पादित विद्युत सङ्कलनका लागि खाँदबारी १० को चाँपाबोटे (सित्तलपाटी) मा पनि सव स्टेशन निर्माण गर्न लागिएको छ । हाईटारबाट चाँपाबोटेसम्म ३५ किलोमिटरको प्रसारण लाईन निर्माण प्रकृया सुरु गरिएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो प्रसारण लाईन ४ बर्ष भित्र सम्पन्न गरिने बताईएको छ ।

चाँपाबोटेबाट तुम्लिङटार सव स्टेशनसम्मको प्रसारण लाईन निर्माणको काम समेत सुरु भईसकेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको प्रसारण लाईन निर्माण गर्न २ महिना अघि भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लिमिटेडलाई ठेक्का दिईएको छ । उक्त कम्पनीलाई ३० महिना भित्र सम्पन्न गर्ने गरि ठेक्का दिईएको प्राधिकरणको तर्फबाट प्रोजेक्ट मेनेजर रघबेन्द्र झाले जानकारी दिनुभयो ।

बसन्तपुर, पिलुवा, बानेश्वर हुँदै तुम्लिङटारसम्म आएको केन्द्रीय प्रसारण लाईन हाल सञ्चालनमा छ । हाईटार, चाँपाबोटे (सित्तलपाटी) हुँदै तुम्लिङटारमा प्रसारणलाईन जोडिएपछि जलविद्युत प्रसारण निर्माण कार्य (कोशी करिडोर) सम्पन्न हुनेछ । भारतीय निर्माण कम्पनीले निर्माण गर्ने अरुण तेश्रो, अरुण चांैथो र तल्लो अरुण बाहेकका सवै उत्पादन यहि प्रसारण लाईन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ ।

अप्पर अरुणमा ४० प्रतिशत जिल्लावासीले लगानी गर्न पाउनु पर्ने माग

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको १ हजार ६१ मेगावाट क्षमताको अप्पर अरुण जलविद्युत परियोजनामा जम्मा ईक्वीटीको ४० प्रतिशत शेयर पाउनु पर्ने माग जिल्लावासीले राख्दै आएका छन् ।

जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएको यो परियोजनाको लागत १९० अर्व अनुमान गरिएको छ । सो रकमको ७० प्रतिशत विश्व बैंकले ऋण उपलब्ध गराउने भएको छ । बाँकी ३० प्रतिशत ईक्वीटी वापतको हुन आउने अनुमानित रकम ५७ अर्बको ४० प्रतिशत जिल्लावासीले लगानी गर्न पाउनु पर्ने जिल्लावासीले माग राख्दै आएका हुन् ।

जसको लागि जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यको संयोजकत्वमा अपर अरुण लगानी प्रवर्धन तथा निर्माण सहजिकरण समिति समेत गठन गरिएको छ । यो समितिले जिल्लावासीको लगानी सुनिश्चितताका लागि उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा समेत माग पत्र पेश गरिसकेको छ ।

सङ्खुवासभाका प्रत्येक परिवारलाई शेयर हाल्ने प्रवन्ध मिलाउने, बैदेशिक रोजगारीमा रहेकाहरुले लगानी गर्ने र स्थानीय तहहरुले समेत लगानी गर्दा जम्मा ईक्वीटीको ४० प्रतिशत रकम सङ्कलन हुनेमा ढुक्क रहेको सहजिकरण समितिका सदस्य सचिव जलश्रोत विज्ञ डा. बलबहादुर पराजुलीको भनाई छ ।

गाेरखापत्र दैनिकबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार